२५ फागुन १ चैत २०७० | 9-15 March 2014

लापर्बाही नगरौं

Share:
  
- मित्रसेन दाहाल
प्रत्यारोपण अघि र पछिको अवस्था मान्छेपिच्छेको फरक हुन्छ।

मिर्गौला प्रत्यारोपण अघि म त मान्छे हैन; मान्छेको स्वरूपमा मात्र थिएँ। प्रत्यारोपणपछि अहिले एकप्रकारको ज्ञान पाएँ, जीवन र जगत बुझें। चिकित्सा विज्ञानमा यस्तो विकास नभएको भए म बाँच्दिनथें। मैले पाएको 'बोनस' जीवनमा आमूल परिवर्तन भएको छ। प्रत्यारोपण पछि मान्छे भएर बाँचिरहेको छु।

पहिला परिवार भन्दा बाहिर हेर्दिनथें, अहिले समाजलाई पनि नजिकबाट नियालिरहेको छु। जीवन शिक्षाको रूपमा लियो भने राम्रो हुन्छ। अंग प्रत्यारोपणपछिको जीवन सुखद् हुन्छ भन्छु म। किनकि त्यसमा लोभ–मोह केही बाँकी हुँदैन।

प्रत्यारोपणपछिको जीवनमा शारीरिक रूपमा केही फरक हुन्छ नै। औषधिका कारण शरीर केही हदसम्म कमजोर हुन्छ। शरीर जस्तो सोच्यो त्यस्तै हुने हो। यसलाई रोगको रूपमा लियो भने पीडा, ऐया, आत्थाको रूपमा बित्छ।

काम, आराम र भोजन

आम रूपमा आफूले खाएको औषधिले दीर्घकालमा के असर गर्छ भनेर सोचिंदैन। डाक्टरहरूले पनि बताउन सकेका छैनन्। सुगरको औषधिले ठीक भयो, तर त्यसको 'रियाक्सन' के भन्ने कसैले बुझदैन। फलतः शरीर अन्य रोगहरूको घर बनिरहेको हुन्छ। कुनै रोग 'जेनेटिक' पनि हुन्छन्, तर धेरैजसो लापर्बाहीले निम्तिरहेको हुन्छ। धेरैजसो मानिस लापर्बाहीबाट नै रोगी बनिरहेका हुन्छन्। आम रूपमा रोग नलागी अस्पताल गइँदैन।

मान्छेले सर्वप्रथम रोग कसरी लाग्छ, त्यो थाहा पाउनुपर्छ। शरीरको भित्री अंगहरूले राम्ररी काम गरिरहेको छ कि छैन, त्यो हेर्नुपर्छ। स्वस्थ छु भनेर जे पायो त्यही, जति पायो त्यति खानुहुँदैन रहेछ। शरीर स्वस्थ वा अस्वस्थ राख्नमा सबभन्दा बढी भूमिका खानेकुराको भएको कुरा बिर्सनुहुँदैन। खानेकुरा जहिल्यै तातो–ताजा खानुपर्छ। सामान्यतयाः चार घण्टा भन्दा बासी खानेकुरा खानुहुँदैन। हिजोआज म खाना खाएको दुई घण्टा नभई सुत्दिनँ, पानी पिएको एक घण्टा नभई खाना खान्न, खाना खाएको एक घण्टा नभई पानी पिउन्न। खानेकुरामा पूर्ण अनुशासन छ। नियमित व्यायाम गर्छु। स्वस्थ शरीरको लागि काम, आराम र भोजनको सन्तुलन अनिवार्य छ।

रोगी भएपछि काम, आराम र खानपानमा औषधिको सन्तुलन मिलाउनुपर्ने हुन्छ। यो कुरा व्यक्तिपिच्छे फरक हुन्छ र आफूमा भर पर्छ। मैले चाहिं राम्रैसँग मिलाएको छु भन्छु। कतिपय साथीहरू मैले मिर्गौला प्रत्यारोपण गरेको भनेर पत्याउँदैनन्। मैले खानेकुरा, व्यायाम र कामको सन्तुलनमा बसेर यस्तो भएको हुन सक्छ। मेरो अनुभव भन्छ– खाना बिर्सिनुस्, तर औषधि समयमै खानुस्। लापर्वाही नगर्नुस्। ज्ञानेन्द्रिय र कर्मेन्द्रियलाई नियन्त्रणमा राख्न सिक्नै पर्छ।

६ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका दाहालले मिर्गौला रोग र समाधानका उपाय समेटेर पुस्तकै लेखेका छन्।

comments powered by Disqus

रमझम