२५ फागुन १ चैत २०७० | 9-15 March 2014

एपेन्डिसाइटिससँग सतर्क बनौं

Share:
  
- डा. सुमनराज ताम्राकार
एपेन्डिसाइटिसको संकेत देखिनासाथ छिटो जँचाएर उपचार र शल्यक्रिया गरिहाल्नुपर्छ।

परापूर्वकालमा हाम्रा पुर्खा जंगली अवस्थामा थिए। भेटिएको खानुपर्ने बाध्यता थियो। त्यो वेला धेरैजसो वनस्पतिजन्य खानेकुरा हुन्थ्यो। तर, अहिले खानेकुरा पकाएर खाइने भएकाले वनस्पतिजन्य खानेकुरा पचाउने हाम्रो शरीरको एपेन्डिक्स बेकामे भएको छ। मासु नखाने भालु जस्ता शाकाहारी जनावरहरूलाई भने एपेन्डिक्सको उपयोगिता अझै छ।

भित्री पेटमा सानो आन्द्रा अन्त्य भई ठूलो आन्द्रा शुरू हुनासाथ गोलो जुका जस्तै र जत्रै झुन्डिएको हुन्छ एपेन्डिक्स। यसको एकातिर खुला हुन्छ भने अर्कोतर्फ टालिएको हुन्छ। करीब साढे तीन इन्च लामो अहिलेको मानवलाई काम नलाग्ने यो अङ्ग कहिलेकाहीं सुन्निन्छ, एपेन्डिक्सको भित्र कुनै कारणले अवरोध भयो वा थुनियो भने। जसलाई मेडिकल भाषामा एपेन्डिसाइटिस भनिन्छ। सामान्य भाषामा भने यसलाई एपेन्डिक्स भयो भनिन्छ।

खानामा ध्यान दिऊँ

एपेन्डिक्समा चोट लाग्यो, पेटमा जुका पर्‍यो, लिम्फ ग्लेन्ड सुन्नियो वा साह्रो दिसाको टुक्रा एपेन्डिक्सको प्वालमा अड्कियो भने एपेन्डिसाइटिसको समस्या आउँछ। दिनदिनै दिसा नगर्ने तथा रेसादार खानेकुरा नखाने मानिसहरूमा एपेन्डिसाइटिस हुने सम्भावना प्रबल हुन्छ। त्यसैले चाउचाउ, बिस्कुट र पाउरोटी भन्दा सुन्तला, स्याउ, सागपात, मूला, गाजर जस्ता रेसादार खानेकुरा धेरै खानु स्वस्थकर हुन्छ।

प्रायशः १० देखि ३० वर्षकालाई हुने यो समस्या दुई वर्ष मुनिकामा विरलै देखिएको छ। एपेन्डिसाइटिस एक प्रकारको मेडिकल इमर्जेन्सी हो। तत्कालै शल्य उपचार गराएन भने एपेन्डिक्स फुटेर पेटमा फैलिने र बेहोश भएर (रक्तचाप कम, नाडी छिटो, चिटचिट पसिना आउने, हातखुट्टा चिसो हुने, ओठमुख सुक्ने) प्राणपखेरु नै उड्न सक्छ। तर, एपेन्डिसाइटिसको शल्यक्रियामा सबैभन्दा सजिलो हुने भएकाले यसमा सघाउने सिकारु सर्जनले पछि ठूला शल्यक्रिया पनि गर्न सक्ने बन्न सक्छन्।

नाइटो वरिपरिबाट शुरू भएको पेटदुखाइ तल्लो पेटको दायाँ भाग तिर सर्न थाल्यो भने एपेन्डिसाइटिस भएको शंका गर्नुपर्छ। यो हुँदा हल्का ज्वरो आउने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने लक्षण पनि देखिन्छ। रगत जाँच्दा श्वेत रक्तकण र त्यसमा हुने 'न्यूट्रोफिल' र 'सीआरपी' भन्ने पदार्थ बढेको हुन्छ।

जाँच आवश्यक

पिसाबको संक्रमण हुँदा पनि त्यस्तै लक्षण देखिने हुनाले नझुक्कियोस् भनेर लक्षण देखिनासाथ जँचाइहाल्नुपर्छ। भिडियो एक्सरे (अल्ट्रासाउण्ड) बाट पनि एपेन्डिसाइटिसको समस्याको निदान हुन्छ। तर, करीब १५ प्रतिशतको एपेन्डिक्स ठूलो आन्द्रा पछाडि हुने भएकाले वा आन्द्रामा अचाक्ली दिसा वा ग्याँस भरिंदा एपेन्डिसाइटिसको शुरूको अवस्था फेला नपर्न सक्छ।

आन्द्रा सम्बन्धी संक्रमण, डाईभर्टिकुलाइटिस, क्रोन्स डिजिज, अल्सरेटिभ कोलाइटिस, प्यान्त्रि्कयाटाइटिस, तल्लो निमोनिया, बाह्य पेटको मासुमा रगत जम्दा, आमाशय वा भित्री पेटको कुनै पनि अङ्ग च्यातिंदा तथा महिलाहरूको अण्डाशय बटारिंदा, डिम्बवाहिनी नलीमा गर्भ रहँदा, इन्डोमेटि्रओसिसको समस्या हुँदा र स्त्री जननेन्द्रियमा संक्रमण हुँदा पनि एपेन्डिसाइटिसको जस्तै समस्या आउन सक्छ।

यो समस्याबाट ज्यान जान सक्ने भएकाले रोग निदान नभएसम्म पीडा कम हुने औषधि खानुहुँदैन। बरु भिडियो एक्सरे र इमर्जेन्सी शल्यक्रियाको सुविधा भएको अस्पताल वा स्वास्थ्य संस्थामा तुरुन्तै जानु पर्दछ। एपेन्डिसाइटिसको शल्यक्रिया रोगीको अवस्था हेरेर घाउ बनाएर वा प्वाल पारेर (ल्याप्रोस्कोपी विधिबाट) गर्न सकिन्छ। र, केही दिनको आरामपछि घर जान मिल्ने गरी निको भइन्छ।

छिटो उपचार भएन भने एपेन्डिक्सको वरिपरि मासु तथा आन्द्रा गाँजिएर डल्लो बन्न सक्छ। त्यस्तो परिस्थितिमा औषधि मात्र खाएर निको पार्नुपर्ने बाध्यता पर्न सक्छ। त्यस्तो वेला निको हुन समय लाग्ने तथा एपेन्डिक्स फुट्ने खतरा हुन्छ। एपेन्डिक्स फुटेमा झ्नै जटिलता निम्तिन्छ। तर औषधि खाएर एपेन्डिसाइटिसको समस्या कम भए पनि करीब तीन महीनापछि भने शल्यक्रिया नै गराउनुपर्दछ। किनभने अपरेशन गराएन भने फेरि एपेन्डिक्स सुन्निने समस्या आउन सक्छ।

comments powered by Disqus

रमझम