दैनिक सरदर ८ शिशु जन्मने धुलिखेल अस्पतालमा एक वर्षदेखि 'क्लोरहेक्सिडाइन' अर्थात् 'कवच मल्हम' प्रयोग गर्न थालिएको डा. अञ्जना डङ्गोलले बताइन्। उनको भनाइमा यो मल्हम प्रयोगमा आएदेखि नवजात शिशुलाई संक्रमण भएको छैन। २०४५ सालदेखि उग्रतारा गाविस ४ काभ्रेमा महिला स्वास्थ्य स्वयम् सेविकाको रूपमा कार्यरत रुक्मिणी बिष्ट (५५) पहिले घरमा काटेको नाभीमा तेल–बेसार दल्दा धेरै बच्चामा संक्रमण हुने गरेको अनुभव सुनाउँछिन्। “नवजात शिशुको नाभी काटेको दुई घण्टाभित्रमा एकपटक 'क्लोरहेक्सिडाइन' मल्हम लगाउनुपर्छ”, डा. डङ्गोल भन्छिन्, “त्यसपछि अन्य किसिमका तेल नलगाई नाभीलाई सुक्खा राख्नुपर्छ।”
अमेरिकी सहयोग नियोग (युएसएड) को सहयोगमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जोन्सन रिसर्च एन्ड ट्रेडिङ (जेसीआई) र नेपाल सरकारको पहलमा लोमस फर्मास्युटिकल्सले 'कवच' नाम राखेर उत्पादन गरेको 'क्लोरहेक्सिडाइन' देशभरका ४१ जिल्लाका शहरदेखि गाउँको वडासम्म पुगेको छ। नवजात शिशुहरूको नाभीमा हुने संक्रमण रोक्ने विधिको खोजी स्वरुप १० वर्षअघि सर्लाहीमा क्लोरहेक्सिडाइनको प्रयोग गरिएको थियो। पछि २००८ र २००९ मा बाँके र प्रसूति गृह काठमाडौंमा यसको परीक्षण अध्ययन गरिएको थियो। प्रसूति गृहमा क्लोरहेक्सिडाइनको प्रयोग भएका र नभएका शिशुहरूको तुलनात्मक अध्ययनपछि 'क्लोरहेक्सिडाइन नाल हेरचाह' कार्यक्रमलाई व्यापक बनाइएको जेसीआई नेपालकी कार्यक्रम अधिकृत लिना खनाल बताउँछिन्। रु.१८ पर्ने यो मल्हम हाल ४१ जिल्लाका सबै स्वास्थ्य केन्द्रमा निःशुल्क उपलब्ध गराइएको र आगामी वर्षभित्र ६५ जिल्लामा यो कार्यक्रम पुग्ने खनालले बताइन्।
नेपालमा घरमै हुने करीब दुईतिहाइ प्रसूतिलाई संक्रमण र शिशु मृत्युको प्रमुख कारण मानिंदै आएकोमा यो मल्हमले त्यो जोखिमलाई २३ प्रतिशत घटाएको युएसएडले जनाएको छ। नेपाली कम्पनी लोमसले उत्पादन र आपूर्ति गरिरहेको 'क्लोरहेक्सिडाइन जेल' अहिले अफ्रिका महादेशको मदागास्कर, घाना र नाइजेरियामा पनि परीक्षण प्रयोग भइरहेको छ। युएसएडकी निर्देशक शाण्डा एल. स्टाइमर भन्छिन्, “नेपालमा उत्पादित यो 'जेल' धेरै देशका शिशुको जीवन रक्षा कवच बन्न थालिसकेको छ।”
लोमसका मार्केटिङ प्रमुख प्रज्ज्वल पाण्डेले सामाजिक दायित्वको रूपमा विना मुनाफा 'क्लोरहेक्सिडाइन जेल' उत्पादन गरिरहेको बताए।
डम्बरकृष्ण श्रेष्ठ