'आ फ्ना विचारको ख्याल गर, किनभने ती शब्द बन्छन्। शब्दको ख्याल गर, किनभने ती कार्य बन्छन्। कार्यको ख्याल गर, किनभने ती बानी बन्छन्। बानीको ख्याल गर, किनभने ती चरित्र बन्छन्। चरित्रको ख्याल गर, किनभने ती भाग्य बन्छन्। र, भाग्य नै तिम्रो जीवन हुनेछ।' जर्मन दार्शनिक लियोनार्दो वोफका भनाइ हुन् यी। नेपाली प्राध्यापक तथा कूटनीतिज्ञ डा. लोकराज बरालले यिनै ६ वाक्यलाई जीवन बाँच्ने मूलमन्त्र बनाएको उनको आत्मकथा 'रोमाञ्चित जीवन' पढ्दा थाहा हुन्छ। यसले उनलाई लोकतन्त्रप्रति निष्ठावान, चरित्रवान, कर्मशील र सुधारवादी चिन्तक बनाएको देखिन्छ।
पुस्तकका १० खण्ड जतिमा लेखकले निजी जीवन र सङ्घर्षबारे लेखेका छन्। गंगा श्रेष्ठसँगको अन्तरजातीय विवाह, पत्नी वियोग, छोरी नीता, पिता र दाजुको निधनबारे पनि धेरथोर वर्णन यसमा छ। करीब साढे पाँच दशकअघिको झापा–इलामका एउटा ब्राह्मण युवकले नेवार परिवारकी केटीलाई विवाह गर्दा कस्ता–कस्ता झामेलाहरू आइपरे भनी उत्पन्न हुने स्वाभाविक पाठकीय खुल्दुली पुस्तकमा उल्लेख गरिएका सन्दर्भ मात्रैले मेटिंदैनन्। त्यसैले गंगासँगका प्रसङ्ग कम भएको पाठकले महसूस गर्न सक्छन्। यसमा केही यात्रा संस्मरण पनि समावेश छन्। केही खण्ड यस्ता पनि छन् जुन आत्मकथा नभई अखबारी आलेख जस्ता लाग्छन्। केही ठाउँमा महत्वपूर्ण घटनाहरूको रोचक बयान छ, तर तिथिमिति नहुनाले खल्लो लाग्छ। चितवनको दियालो बङ्गलामा भएको राजा महेन्द्रको निधनको प्रसंगमा माओवादी नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराई जोडिन आइपुग्दा पाठक अलमलिन्छन्।
आत्मकथामा लेखकको जीवनका उतार–चढाव, सफलता–असफलता, दुःख–सुख नै लेखिन्छ। त्यसक्रममा पुस्तक निजी मात्र नबनोस् भनेर लेखक सचेत बन्दछ र अन्य असरदार तथा महत्वपूर्ण वा ऐतिहासिक घटनाहरूलाई पनि जोड्दछ। प्रा. बरालले पनि आफ्नो निजी जिन्दगीको टेको दिंदै नेपालमा किन लोकतन्त्रको स्थायित्व भएन, कस्तो परराष्ट्र नीतिबाट वैदेशिक हस्तक्षेप नियन्त्रण हुन्छ जस्ता सन्दर्भहरू मिहिन ढंगले प्रस्तुत गरेका छन्। यसरी पुस्तक कुनै एक कालखण्डको नेपाली राजनीति तथा कूटनीतिको दस्तावेज बन्न पुगेको छ।
यतिखेर मुलुकको राजनीति अलमलिनुमा सङ्घीयता र कति प्रान्त? भन्ने विषयमा उत्पन्न मतान्तर नै प्रमुख कारण रहेको छ। यस विषयमा प्रा. बराल लेख्छन्, 'आज नेपाल जस्तो अति विविधतापूर्ण देशको सङ्घीयतामा प्रान्त बनाउँदा उपयुक्त हुन्छ भन्ने तर्क पनि बलियो रुपमा आएको छ। यस्ता साना प्रान्तले एक्लिने हिम्मत गर्दैनन् किनभने उनीहरूका आकाङ्क्षा आफ्ना हितमा सीमित हुन्छ। यसले एकतालाई बल दिन्छ– एकातिर विविधतामा रमाउन पाउने र अर्कातिर आफ्नो क्षेत्रको विकासमा सुगमता आउने। साना प्रान्त बनाइँदा सरकार चलाउन र सहकार्य गर्न मद्दत मिल्छ। प्रान्त–प्रान्तबीच समस्या आए, अन्तरप्रान्तीय संरचनाले मिलाउन सक्छ। तर सबैभन्दा मुख्य कुरा समझदारी र सहकार्य नै हो।'
तथापि, साना र धेरै प्रान्त बनाउँदा मुलुकले तिनको आर्थिक भार बेहोर्न सक्दैन भन्ने आवाज पनि बलियो रुपमा उठिरहेको छ। यसबारे बहस तथा छलफल जारी रहला। यसक्रममा बरालको कतिपय सुझाबुझापूर्ण तर्कहरूको कहीं न कहीं सदुपयोग हुनसके मुलुकले केही हदसम्म निकास पाउने अपेक्षा गर्न सकिन्छ।
राजेन्द्र पराजुली