यो अवस्थाबाट चिन्तित भएरै हो, संखुवासभा धुपुका कमलीकान्त भेटवाल कमाउने कर्ममा नलागी असली लोकगीतको संरक्षणमा लागेका छन्। उनी पूर्वी पहाडका गाउँ–गाउँ डुलेर लोकभाकाहरू टिपी राजधानीमा गाइरहेका छन्। पछिल्ला वर्षमा नेपाली लोकगीतको मौलिकता छपक्कै मर्न थालेकाले थोरै नै किन नहोस्, वास्तविक लोकभाका/लोकसंस्कृतिको संरक्षणमा लागेको उनी बताउँछन्। “२०६२ सालको प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी प्रतियोगितामा पाएको उत्कृष्ट लोकगीत संकलकको पुरस्कारले मलाई यो क्षेत्रमा लाग्न हौस्यायो”, कमलीकान्त भन्छन्।
त्यही बीचमा 'भ्वाइस टेष्ट' पनि पास गरेका उनका गीतहरूलाई रेडियो नेपालले धमाधम रेकर्ड पनि गरिदियो। उनले संकलन गरेका संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटाका लोकभाकाहरू हिमाल टाकुरी र झम्के गुलेली भाग–१ र २ मार्फत श्रोतामाझ्ा आएको छ। झम्के गुलेली भाग–३ ल्याउने तयारीमा रहेका उनी लोकभाकाको खानी देशमा नयाँ पुस्ताले त्यस्तो गीत सुन्न नपाउनुलाई दुर्भाग्य भन्छन्। “त्यसमाथि, कोठामा बसेर 'भाँचकुच' पारेको गीतलाई लोकगीत भन्दै बनाउन थालिएको छ” अंग्रेजी साहित्यमा एमए गरेर जागीरतिर नलागी लोकगीतमा लागेका कमलीकान्त भन्छन्।
झम्के गुलेली भाग–१ मा संग्रहित उनको सर्वाधिक लोकप्रिय सबै र बाख्रा उकाली लागे घोर्ली बाख्रो खै भन... संखुवासभा जिल्लाको उत्तरी भेगको भाका हो। यो गीतले २०६७ को हिट्स एफएम म्युजिक अवार्ड र पूजा लोकदोहोरी अवार्ड जित्यो। त्यसैगरी, झम्के गुलेली भाग–२ को झिमझिम परेली ले गत असोजको हिट्स एफएम अवार्ड हात पार्यो। कमलीकान्तले झम्के गुलेली भाग–२ मा दाइँ, देउसी–भैलो, हाक्पारे, ख्याली, मेलापात गर्दा गाइने गीत आदिका भाका सँगालेका छन्।
शब्द/तस्वीरः ऋषिराम कट्टेल