२५ फागुन १ चैत २०७० | 9-15 March 2014

आफ्नै सर्कस

Share:
  
तीन वर्षअघि २५ जनालाई तालिम दिएर व्यावसायिक बनेको काठमाडौं सर्कस अन्तर्राष्ट्रिय बन्दैछ।

राजधानीका तारे होटलदेखि विवाह समारोह र विभिन्न उत्सवसम्म सांगीतिक कार्यक्रमसँगै 'सर्कस' को आकर्षण थपिएको छ। रु.२५ हजारदेखि रु.१ लाखसम्म खर्च गर्ने हो भने १३ जनाको 'काठमाडौं सर्कस' को टोली रोमाञ्चक कार्यक्रम लिएर आइपुग्छ।

तीन वर्ष अगाडि नेपाल घुम्न आएका बेलायती नागरिक रविन सिमसन र स्काई निलले विभिन्न जोखिमपूर्ण कामबाट उद्धार गरिएका २५ जना बालबालिकालाई तालिम दिएर यो सर्कस शुरू गरेका हुन्। तीमध्ये १३ जना व्यावसायिक बनेका छन्। सर्कस काठमाडौंका कम्पनी म्यानेजर शिशिर शर्मा भारतका विभिन्न सर्कसमा बेचिएका र नेपालका विभिन्न जोखिमपूर्ण काममा सहभागी भएका बालबालिकालाई नयाँ जीवन दिन यो सर्कस शुरू भएको बताउँछन्। शर्मा भन्छन्, “सर्कसमा चार पुरुष र नौ महिला व्यावसायिक कलाकार बनेका छन्।”

अन्तर्राष्ट्रियस्तरमा पाइला

काठमाडौं सर्कसले गएको पुसमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शोका रूपमा दुबईमा कार्यक्रम देखायो। विभिन्न देशका कलाकार सहभागी उक्त आर्ट फेस्टिबलमा सहभागी भएर आएपछि टोलीको आत्मविश्वास बढेको अञ्जली क्षेत्री (२३) ले बताइन्। “जन्मदिन, विवाह र गैर–सरकारी संस्थाका कार्यक्रमहरूमा बढीमा पोखरासम्म पुगेका हाम्रा लागि दुबईको अन्तर्राष्ट्रिय कार्यक्रम ठूलै एक्स्पोजर हुन पुगेको छ”, अञ्जली भन्छिन्, “आउँदो असारमा बेलायत र नर्वे जाँदैछौं।”

आयोजकको माग अनुसार दुईदेखि ४५ मिनेटसम्मको सर्कस देखाउँदै आएको यो टीमको प्रस्तुतिमा धेरै विविधता छ। टोलीले गत २५ माघमा भृकुटीमण्डपमा भएको ११औं मोमो मेनियामा धेरै प्रशंसा बटुलेको आयोजक नैनतारा गुरुङ कक्षपति बताउँछिन्। तीन वर्षअघि ललितपुरमा टोलीको प्रस्तुति हेर्दा नै आफू प्रभावित भएको बताउँदै कक्षपति भन्छिन्, “अब हरेक मोमो मेनियामा काठमाडौं सर्कस अनिवार्य आइटम बन्नेछ।”

गत ६ फागुनमा याक यन्ड यती होटलमा भएको भारतीय अर्बपति मुकेश अम्बानीको परिवार सहभागी भएको राधेश्याम सर्राफकी नातिनी तनिसाको बिहे समारोहमा पनि यो टोलीले सर्कस देखाएको थियो।

तस्वीरः ऋषिराम कट्टेल

शब्दः मीना शर्मा

comments powered by Disqus

रमझम