२५ फागुन १ चैत २०७० | 9-15 March 2014

बदलिएछ गाउँ

Share:
  
- फुर्पा तामाङ
रसुवाका दुर्गम गाउँका मलिन अनुहारमा चिराइतोले लाली भर्न थालेको छ।

विपिन लामा
गत्लाङकी सार्की तामाङ आफ्नो चिराइतो बारीमा।
हिमाली जिल्ला रसुवा भनेपछि सबैले दुर्गम भनेर बुझ्छन्। चिलिमे गाविसको टेदाङच्ये, सिम्पुगु, ब्राप्च्ये लगायतका गाउँ रसुवाकै लागि पनि दुर्गम हुन्। गणेश र साङजेन हिमालमुनिका यी गाउँ पुग्न सदरमुकाम धुन्चेबाट दुई दिन पूरै हिंड्नुपर्छ। ६–७ वर्षअघिसम्म यी तामाङ गाउँमा पर्वते नेपाली बुझ्ने/बोल्ने मानिस विरलै भेटिन्थे। तर, गत संविधानसभा निर्वाचनको मेसोमा यी गाउँमा पुग्दा नसोचेको परिवर्तन देख्न पाइयो।

यस भेगको जनजीवन पशुपालन तथा आलु, मकै, जौ–गहुँ आदिको खेतीपातीमा सीमित थियो। लत्ताकपडा र नुनतेललाई चाहिने नगदको लागि उनीहरू निगालोको नाङ्लो, डालो, मान्द्रो आदि बुनेर सदरमुकामसम्म पुग्थे। निर्देशक केसाङ छेतेनको चर्चित डकुमेन्ट्री 'हामी कुनाका मान्छे' यही भेगको सिम्पुगु गाउँको जनजीवनमा आधारित थियो। तामाङ भाषामा 'सिम्पुगु' भनेको 'राक्षस लुक्ने कुना' हो। गुरु रिम्बोर्क्षे (पद्म सम्भव) ले सिम्पुगुको फेदीमा रहेको चट्टानमा राक्षसलाई थुनिदिएको रे!

सिम्पुगुमा प्राथमिक विद्यालय र स्वास्थ्य चौकी मात्र हैन, बिजुली र कच्ची सडक समेत पुगेछ। युवकहरू मोटरसाइकलमा हुइँकिंदा रहेछन्। हातहातमा आइपुगेको मोबाइल फोनले सिम्पुगुवासीको दिनचर्यामा नसोचेको परिवर्तन ल्याइदिएछ। यो परिवर्तनको श्रेय केही मात्रामा वैदेशिक रोजगारी र धेरैजसो चिलिमे जलविद्युत् आयोजना तथा चिराइतो खेतीलाई जान्छ। चिलिमे आयोजनाले थाङ्माचेसम्म सडक बनाइदियो, अहिले साङजेन आयोजनाले सिम्पुगुसम्मको सडक खनिरहेको छ। आयोजनाभित्र परेका जग्गाको राम्रो मुआब्जा पाउँदा कतिपय जग्गाधनी लखपति बनेछन्। नत्र त्यो जौबारीको कुनै मूल्य थिएन।

वैदेशिक रोजगारमा जानेहरूले नगदसँगै सरसफाईको ज्ञान ल्याएछन्। नत्र त नेपालभित्र एउटा छुट्टै संसार जस्तो लाग्ने यो क्षेत्रमा चूलो लिप्ने चलन समेत थिएन। तर, विदेशको जागीरले गाउँमा दम्पतीहरूको सम्बन्धविच्छेद बढाएछ। कतिको पैसा हैन, बाकसमा लाश आएको गाउँलेहरूले नरमाइलो मान्दै बताए।

चिराइतोको कमाल

यो भेगका किसानले चिराइतो खेतीबाट प्रति परिवार वार्षिक रु.३०–३५ हजारदेखि रु.५–६ लाखसम्म आम्दानी गर्न थालेछन्। चिलिमे–४ का सम्बा दिन्डुप तामाङ, नाङकाङ छिरिङ तामाङ, सेल्कर तामाङ, म्लाङतुङ तामाङ, सोनाम तामाङ, उरलामा तामाङ, मिङमार तामाङ, पेम्बा सिंगी तामाङ लगायतका ५० किसानले 'हिमाली जडीबुटी उत्पादक सहकारी' दर्ता गरेर चिराइतो खेती प्रवर्द्धन गरिरहेका रहेछन्। ग्रामीण पर्यटन तथा शिक्षा समाज (आरटीज) का कार्यक्रम संयोजक विपिन लामाले गाउँ–गाउँ पुगेर चिराइतो खेती गर्ने तालिम दिने जाँगर चलाएका रहेछन्।

समुन्द्री सतहबाट १६०० मिटरदेखि २७०० मिटरसम्मको उचाइमा हुने चिराइतोबाट औलो ज्वरो, खोकी, उच्च रक्तचाप आदि रोगको औषधि बन्छ। गाउँघरमा लामा र झाँक्रीहरूले पहिल्यैदेखि दिने गरेका जडीबुटी चिराइतोको लागि रसुवा त्यसै पनि उपयुक्त ठाउँ हो। यो बुझ्ोका गाउँलेले यसको व्यावसायिक खेतीलाई जोडतोडले अगाडि बढाएका रहेछन्। व्यापारीहरू चिराइतो लिन गाउँमै पुग्दारहेछन्। प्रतिकेजी रु.५०० सम्म मूल्य पाएको किसानले बताए।

गत्लाङका मनबहादुर बिक, कोङकोङ तामाङ, लोप्साङ तामाङ, वाङजेन तामाङ, पासाङ दिन्डुप तामाङ, सार्की तामाङ, ज्याङसिङ तामाङ र सुजे तामाङले यो साल चिराइतोबाट रु.३५ हजारदेखि रु.६० हजारसम्म आम्दानी गरेछन्। यो भेगको थुमन र राम्चे गाउँका किसानले पनि धमाधम चिराइतो लगाइरहेका रहेछन्। र, सबभन्दा महत्वपूर्ण कुरा, गाउँलेहरूले दलाललाई लाखौं बुझ्ााएर वैदेशिक रोजगारीमा जानुभन्दा घरमै परिवारसँग बसेर चिराइतो खेतीमा लाग्नु बढी उपयुक्त हुनेमा जोड दिन थालेको पाइयो।

comments powered by Disqus

रमझम