२५ फागुन १ चैत २०७० | 9-15 March 2014

अनुभवले सिनेम्याटोग्राफर

Share:
  

चारघरे–८ नुवाकोटका हरि घले लामा (३२) लाई सानैमा फिल्म हेर्ने बानी पर्‍यो। उनलाई फिल्मका कथाले भन्दा फाइट र मोटरसाइकल उडाएको लगायतका स्टन्टले बढी मोहित बनाउँथ्यो र त्यो कसरी सम्भव हुन्छ होला भनेर अचम्म मान्थे। यस्तै कौतुहलले उनलाई २०५२ सालमा चलचित्र

'गोठालो' को स्पट ब्वाई बनाउन ल्याइपुर्‍यायो। “त्यसपछिको डेढ वर्षसम्म फिल्मकर्मीहरूलाई चिया खुवाउँदै पर्दा पछाडिको गतिविधि र प्रविधि बुझ्ों”, अहिलेका क्यामेराम्यान हरि भन्छन्, “त्यसपछिको सात वर्ष लाइट म्यान भएँ।”

त्यो अवधिमा ५० वटा फिल्ममा काम गरेका हरिले त्यसपछिको चार वर्षमा 'मेरो के गल्ती भो?', 'कसले चोर्‍यो मेरो मन', 'बाटो मुनिको फूल' लगायतका एक दर्जन फिल्ममा सहायक क्यामेराम्यान भएर काम गरे। उनको अनुभव र क्षमताको मूल्यांकन गर्दै सिनेम्याट्रोग्राफरको जिम्मेवारी सुम्पने काम भने निर्देशक सुरज सुब्बा नाल्मोले गरे, चलचित्र 'वितेका पल' मार्फत। नभन्दै, हरिले गुनासोको कुनै सानो ठाउँ छाडेनन्। “यो फिल्ममा मैले नेपालमै पहिलो पटक डोप (डाइरेक्सन अफ फोटोग्राफी) सिनेमा 'वान वे' मा प्रयोग गरें”, हरि भन्छन्, “एकै सिनमा तीन वटा क्यामेरा प्रयोग गर्ने पहिलो नेपाली सिनेम्याटोग्राफर पनि म नै हुँ।”

देबकी बिष्ट


सरल भाषामा गहन कुरा

पहिले सरकारी जागीर त्यसपछि राष्ट्रसंघीय सेवामा कार्यरत सरु जोशी श्रेष्ठले विभिन्न समयमा लेखेका ३२ लेखहरुको सँगालो 'एउटा सिन्को भाँची हेर्दा' बजारमा आएको छ। १८ फागुनमा पाटन म्युजियममा आयोजित समारोहमा जोशीका बुबा कैलाशप्रकाश जोशी, आमा शान्ति जोशी र संयुक्त राष्ट्रसंघीय महिला कोषकी पूर्वक्षेत्रीय निर्देशक चाँदनी जोशीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।

जीवन आरोह–अवरोहका क्रममा देखे–भोगेका विषयलाई रोचक ढंगले प्रस्तुत गर्ने खुबी भएकी जोशीका लेखहरु विगत ९ वर्षदेखि कान्तिपुर दैनिक लगायतका पत्रपत्रिकामा प्रकाशन हुँदै आएका छन्। म्याग लाइब्रेरीद्वारा प्रकाशित पुस्तकमा वैदेशिक रोजगारी, आप्रवासन, राजनीति, राष्ट्रियता, महिला अधिकार र विभिन्न सामाजिक विषयमा केन्द्रित लेखहरू छन्। विमोचन समारोहमा समाजशास्त्री डा. गणेश गुरुङले पुस्तकमा राष्ट्रियता, महिला समानता र रोजगारीका मुद्दा मिहीन ढंगले उठाइएको बताए। पत्रकार कनकमणि दीक्षितले जोशी विश्व परिवेश बुझ्ोर नेपाली पाठकका लागि नेपालीमा लेख्ने थोरै लेखकहरुमा पर्ने बताए। कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माले क्लिष्ट भाषा प्रयोग गर्दा ठूलो लेखक भइने मानसिकताबाट टाढा रहेर गहन कुरालाई सरल र सरल कुरालाई पनि गहन ढंगले लेख्न सक्ने क्षमता सरुमा पाएको बताए। सरुका कतिपय लेखमा देशका नीतिनिर्मातालाई घचघच्याउने सामर्थ्य रहेको शर्माले बताए।

सरुको अनुभवमा 'देख्नु एउटा कुरा, भोग्नु अर्कै कुरा र लेख्नु अर्कै कुरा' रहेछ। उनको पुस्तकमा खाडीमा पसिना बगाइरहेका नेपालीहरुदेखि देशभित्रैका सप्तरङ्गी जीवन र परिवेशहरुका कथा, व्यथा र गाथा समेटिएका छन्। प्रकाशक मिडिया एड्भोकेसी ग्रुप (म्याग) की अध्यक्ष बबिता बस्नेतका अनुसार पुस्तक बिक्रीबाट भएको सम्पूर्ण आम्दानी महिलाको सूचनाको हक प्रवर्द्धनमा खर्च गरिनेछ।


गोठाले नाटकघरमा कोमा

गोविन्दबहादुर मल्ल गोठालेको नाममा शिल्पी थिएटरले शुरु गरेको गोठाले नाटकघरको उद्घाटनसँगै १७ फागुनबाट कोमाः अ पोलिटिकल सेक्स मञ्चन भइरहेको छ। घिमिरे युवराज निर्देशित यो नाटकका लेखक कुमार नगरकोटी हुन्। नाटकले चलनचल्तीमा असान्दर्भिक लाग्ने विसंगत पात्र र संवाद प्रस्तुत गर्छ। आफूले लेखिरहेको नाटकलाई अन्तिम रुप दिन तल्लीन लेखक संविधानसभा भंग भएको समाचार सुन्ने वित्तिकै २०६९ जेठ १५ मा कोमामा गएपछि अलपत्र परेका आठ पात्रलाई मञ्चमा देखिन्छ। १७ चैतसम्म प्रदर्शन हुने यो नाटकमा कुमार नगरकोटी, प्रकृति कार्की, रोशन मेहता, बादल भट्ट, गोविन्द पराजुली, टंक टाइगर, जीवन बराल, सरिता साह, पवित्रा खड्का र किरण चाम्लिङ कलाकार छन् ।

comments powered by Disqus

रमझम