२-८ चैत २०७० | 16-22 March 2014

स्वास्थ्यप्रति सचेत होऔं

Share:
  

साप्ताहिक खबरपत्रिका हिमाल (२५ फागुन―१ चैत) मा प्रकाशित एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बारेको समाचार सामग्री 'के भएको हो ओलीलाई' पढेपछि मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले स्वास्थ्यमा के कस्तो ध्यान पुर्‍याउनुपर्दछ भन्ने प्रष्ट हुन्छ। मिर्गौला प्रत्यारोपणपछि नेता ओलीले स्वास्थ्यप्रति गरेको लापर्बाहीको परिणाम हो अहिलेको अवस्था। त्यसकारण अव्यवस्थित जीवनयापन कसैका लागि पनि राम्रो होइन भन्ने कुरामा सबैको ध्यान जानु जरूरी छ। खानपान र जीवनशैलीमा वेलैमा ध्यान नपुर्‍याउने हो भने अस्वस्थ हुने मात्र होइन रोगले मृत्युको मुखमा पुर्‍याउन पनि बेर लाग्दैन। बदलिंदो जीवनशैलीका कारण पछिल्लो समय मधुमेह, मिर्गौला, उच्च रक्तचाप, क्यान्सर लगायतका समस्या बढ्दो रूपमा देखिएको छ। सन्तुलित आहार, दैनिक कसरत र सकारात्मक सोचको विकास गरी स्वस्थ रहनेतर्फ सबैले ध्यान पुर्‍याउन आवश्यक छ। अन्यथा पछुताउनुको विकल्प छैन।

सूर्यविक्रम थापा, इमेलबाट

स्वास्थ्यमा ध्यान नदिंदा हरेक दिनजसो मानिसले विभिन्न खालका समस्या भोग्दै आएका छन्। आफूलाई जानकारी भएका कतिपय कुरामा हेलचेक्र्याईं गर्दा कतिपयले अकालमा ज्यान गुमाउनु परेका घटना हामीले वेलावेलामा सुन्दै आएका छौं। त्यसकारण जीवनशैली परिवर्तन गरी आफ्नो स्वास्थ्यमा ध्यान दिन सकियो भने अकालमा ज्यान गुमाउनबाट बच्न सकिन्छ।

सुलोचना चौधरी, इमेलबाट

कार्बाही खै

साप्ताहिक खबरपत्रिका हिमाल (२५ फागुन―१ चैत) मा प्रकाशित नख्खु करिडरको जमीन अतिक्रमण भएको सम्बन्धी 'धनाढ्यहरूको ढलीमली' समाचार यथार्थपरक लाग्यो। समाचारमा उल्लेख गरिए जस्तै पछिल्लो समयमा राष्ट्रिय/ अन्तर्राष्ट्रियस्तरमा नाम चलेका व्यक्तिहरूमा नै सरकारी जग्गा हडप्ने प्रवृत्ति बढ्दो छ। नाम चलेका व्यक्ति हुन् या अरू जो सुकै भए पनि सरकारी जग्गा अतिक्रमण गर्नेहरूलाई सरकारले तत्कालै कानूनी दायरामा ल्याएर कार्बाही गर्नुपर्छ। होइन भने यसैगरी सरकारी जग्गा विस्तारै व्यक्तिको सम्पत्तिमा परिणत हुँदै जानेछ। यसतर्फ सरोकारवाला निकायको ध्यान जाओस्।

गोपाल पौडेल, इमेलबाट

ढिलाइ नगरौं

साप्ताहिक खबरपत्रिका हिमाल (२५ फागुन―१ चैत) मा प्रकाशित विराटनगर क्षेत्र 'हतियारको हब' बनेको समाचारले झ्स्काएको छ। खुला सिमानाका कारण नेपालमा बढ्दो यस्ता क्रियाकलापले समुदायमा डर―त्रास बढाएको छ। खुला सिमानाको फाइदा उठाउँदै नेपालमा अपराध गरेर भारत लुक्न जाने गरेका घटना पनि पछिल्लो समय बढ्दो छ। त्यसैले यस्ता गैरकानूनी गतिविधि नियन्त्रण गर्न ढिलाइ गर्नुहुँदैन।

विनोद पोखरेल, इमेलबाट

युद्धको त्रास

साप्ताहिक खबरपत्रिका हिमाल (२५ फागुन―१ चैत) मा प्रकाशित 'आरनमा पड्केको युद्ध' समाचारले झ्स्कायो। एमाओवादी शान्ति प्रक्रियामा आएको लामो समय बितिसक्दा पनि त्यसको असर समाजमा अहिलेसम्म बाँकी नै भएको प्रमाण हो जाजरकोटको दसेरा गाउँमा पड्किएको बम। घरको वरिपरि खेलिरहेका बालबालिका हुन् वा कामको लागि जंगल पसेका यो समस्याबाट कोही पनि सुरक्षित छैनन्। सबैखाले विस्फोटक पदार्थलाई वेलैमा हटाउन नसक्ने हो भने समाजले पछिसम्म पनि ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। त्यसैले यस्ता संवेदनशील विषयमा वेलैमा ध्यान पुर्‍याऔं।

रिसब शर्मा, इमेलबाट

सकारात्मक समाचार

साप्ताहिक खबरपत्रिका हिमाल (२५ फागुन―१ चैत) मा प्रकाशित 'नवजातको रक्षाकवच' समाचार सान्दर्भिक लाग्यो। धेरै औषधिमा विदेशीसँग निर्भर भएका हामी नेपालीका लागि नेपालमै उत्पादित औषधिले अन्तर्राष्ट्रिय बजार पाउनु पक्कै पनि खुशीको कुरा हो। आयात मात्र होइन काम गर्न सकियो भने निर्यात गर्ने वस्तुको सूची पनि लामो हुन सक्छ भन्ने कुराको उदाहरण हो यो।

पूजा तिवारी, इमेलबाट

वास्तविकता यस्तो हो

हिमाल (११–१७ फागुन) मा प्रकाशित लप्सी सम्बन्धी सामग्रीमा केही तथ्यगत र वस्तुगत फरक पर्न गएकोले ध्यानाकर्षण गराउन चाहन्छु।

पहिलो कुरा त लेखक जीवनप्रसाद राईले समाचारमा उल्लेख गरे जस्तो २८ जिल्लामा लप्सी फैलिएको नभई २८ जिल्लामा प्राकृतिक रूपमै लप्सी पाइन्छ। यसैगरी राईले रामेश्वर फुयालबाट प्रभावित भएर मैले लप्सी खेती शुरू गरेको उल्लेख गर्नुभएको छ। रामेश्वरजीबाट प्रभावित भएर मैले लप्सी खेती गरेको होइन। पर्वतका बेरोजगार युवालाई रोजगार दिने उपाय खोज्ने क्रममा 'तीन ज' को सूत्र– हामी जहाँ छौं, त्यहीं बसेर काम गरौं। हामीसँग जे छ, त्यसलाई प्रयोग गरेर काम गरौं र जति छ, त्यसैबाट काम थालौं भन्ने सिलसिलामा मैले पहिलो लिस्टमा लप्सीलाई प्रयोग गर्ने निर्णय गरेको हुँ।

पर्वतको मुडिकुवा गाविसमा म ऋषिकेश तिवारी, थानेश्वर भुषाल, जीतबहादुर नेपाली, विष्णुदेवी भुषालसहित केही युवाद्वारा स्थापित पर्वत सामुदायिक विकास संस्था मार्फत २०५६ सालमा १५ जना युवालाई लप्सीको परिकार बनाउने तालिम दिने व्यवस्था मिलाएका थियौं। २०६० सालमा पर्वतलाई लप्सीको राजधानी बनाउने घोषणा समेत गर्‍यौं।

लप्सीमा विद्यावारिधि गर्ने डा. कृष्णचन्द्र पौडेलको सहयोगमा मुडिकुवा गाविसमा दुइटा लप्सी नर्सरी छन्। एक लाख लप्सीका (कलमी र बीजु) बिरुवाको नर्सरी स्थापना गरी ५० हजार बिरुवा पर्वतका विभिन्न गाविसमा रोपिसकिएको छ। चार वर्षभित्र पर्वतलाई लप्सी जिल्ला बनाउने हाम्रो लक्ष्य पूरा हुनेछ। त्यसपछि यो अभियान अन्य जिल्लामा लैजाने छौं। सबै मिलेर नेपाललाई लप्सी फल्ने एक मात्र देश भनेर विश्वमा किन नचिनाउने?

ऋषिकेश तिवारी, अध्यक्ष

पर्वत सामुदायिक विकास संस्था, पूर्व सभासद

comments powered by Disqus

रमझम