२-८ चैत २०७० | 16-22 March 2014

तेजपत्ताको सुगन्ध

Share:
  

पाल्पा दोभान गाविसका किसानले आर्थिक वर्ष २०६९/७० मा तेजपत्ताको पात र बोक्रा (दालचिनी) बेचेर रु.१ करोडभन्दा बढी आम्दानी लिएका छन्। जिल्ला वन कार्यालयका अनुसार त्यहाँका किसानले गत वर्ष एक लाख १० किलो तेजपत्ताको पात र बोक्रा बेचेका थिए। दोभान २ र ५ का ज्यामिरे, हुलबारी, झयाङ्गडाँडामा किसानले आठ वर्षदेखि तेजपत्ता खेती गर्दै आएका छन्।

राम्रो जमीन नचाहिने

दोभान २ का जीतबहादुर क्षेत्रीका अनुसार तेजपत्ताको बोक्रा प्रति किलो रु.६० देखि रु.८० सम्म र पात रु.४० देखि रु.५० सम्ममा बिक्री हुन्छ। उनले गत वर्ष रु.६० हजारको तेजपत्ताको पात र बोक्रा बेचेको बताए। तेजपत्तालाई राम्रो जमीन नचाहिने भएकाले भिरालो, खोल्सा, चिस्यान जहाँ पनि रोप्न सकिने उनको अनुभव छ।

जिल्ला वन कार्यालय पाल्पाका अनुसार गत वर्ष पाल्पाबाट रु.३ करोडभन्दा बढीको तेजपत्ता र बोक्रा बिक्री भएको थियो। कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद शर्मा पाल्पाका दोभान, गोठाडी, कोलडाँडा, सत्यवती, झ्डेवा, वल्ढेङ्गगढी, भुवन पोखरी र जुठापौवामा तेजपत्ताको खेती हुने गरेको बताउँछन्।

देव पचभैया

तेजपत्तालाई सुगन्धित तेल बनाउन र हर्बल साबुनमा मिसाउन तथा बोक्रालाई धूलो मसला र आयुर्वेदिक औषधिमा मिसाउन भारत लगिन्छ। अन्यत्रको भन्दा पाल्पाको तेजपत्ता सुगन्धित भएकाले ग्राहकहरू घरमै किन्न आउने गरेको कोलडाँडाका सुनवीर गाहा बताउँछन्। तेजपत्ता खेतीमा अरूमा जस्तो धेरै दुःख नहुने पनि उनको भनाइ छ। उद्योग वाणिज्य संघ पाल्पाका महासचिव भीमसेन कार्की चाहिं गाउँमा केही हुँदैन भन्नेहरूलाई तेजपत्ताले जवाफ दिएको बताउँछन्।

देव पचभैया, पाल्पा


अतिक्रमित घरटहरा भत्काइयो

जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालय ललितपुरले सैंबु गाविसस्थित नख्खु खोला मिचेर बनाइएका घरटहरा भत्काउन शुरू गरेका छन्। सरकारी जग्गा अतिक्रमण गरिएको बारे 'धनाढ्यहरूको ढलीमली' समाचार (हे. हिमाल २५ फागुन–१ चैत) मा प्रकाशित भएपछि यो कारबाही शुरू भएको हो।

हिमाल को समाचारमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको लगानी रहेको अश्विन्स हस्पिटलदेखि मनकामना केबुलकारका संचालक राजेशबाबु श्रेष्ठको चितवन कोई लिमिटेडले खोलाको दुवैतर्फ १२/१२ मिटर छाड्नुपर्ने कानूनी प्रावधान मिचेर भवन बनाएको उल्लेख थियो। प्रधानमन्त्री कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनले पनि चितवन कोई, बुल्स जीम क्लब, आदर्श निर्माण कम्पनी र निर्माणाधीन अश्विन्स अस्पतालले खोलाको जग्गा मिचेर भवन बनाइएको देखाएको थियो। जिविस ललितपुरले सार्वजनिक सूचना मार्फत पटक–पटक आग्रह गर्दा पनि अटेर गरेकाले डोजर लगाएर गैरकानूनी भवन भत्काइएको जनाएको छ। स्थानीय विकास अधिकारी पशुपति पोखरेलले ती निकायले सरकारी आग्रहको बेवास्ता गरेकाले बाध्य भएर भवन भत्काएको बताएका छन्।


सुलीबाट बायोमल

पोल्ट्रीको राजधानी मानिएको चितवनमा कुखुराको सुलीबाट जैविक मल बनाउने उद्योग खुलेको छ। 'पञ्चरत्न ग्रुप अफ पोल्ट्री इन्डष्ट्रिज' ले 'एग्रो हेल्थ बायोटेक प्रालि' मार्फत चितवनको शारदानगरमा उद्योग स्थापना गरेको हो। सुलीबाट गन्धरहित बायोमल बनाउन अस्टे्रलियन प्रविधि प्रयोग गरेर ९ फागुनबाट उत्पादन शुरू गरेको उद्योगका सञ्चालक डा. तिलचन्द्र भट्टराईले बताए।

सविता श्रेष्ठ

यसअघि २०२७ सालमा ललितपुरका उद्यमी सिद्धिबहादुर खड्गीले कलकत्ताबाट ठूलो क्रसर ल्याएर कुम्भेश्वरमा बालाजुस्थित पोल्ट्री फर्मका सुली, खरानी र उपत्यकाका राँगा बधशालाहरूबाट निस्कने लादी, छाला र अरू फोहोरबाट 'किसान मल' उत्पादन गरेर बजारमा ल्याएका थिए। विश्वव्यापी रूपमा जैविकमलको माग बढिरहेकोले 'एग्रो हेल्थ बायोटेक प्रालि' ले कुखुराको सुलीको उपयोग गरेको डा. भट्टराई बताउँछन्।

उनका अनुसार, सुलीबाट मल उत्पादन गर्दा १२० डिग्री सेन्ट्रीग्रेड तापक्रममा प्रशोधन गरिन्छ। जैविक मलमा बिरुवाका लागि पोषक तत्व बढाउन ९० प्रतिशत सुलीमा अरू १० प्रतिशत खरानी, पिना, अण्डाको खोस्टाको धूलो आदि थपिन्छ। यसरी तयार हुने मलमा बिरुवालाई आवश्यक पर्ने १६ प्रकारका पोषक तत्व हुने डा. भट्टराई बताउँछन्। “मलमा रहने खनिज तत्वहरू घुलनशील भएकाले बिरुवाले सहजै लिन सक्छ”, डा. भट्टराई भन्छन्। कालो र खैरो रङमा धूलो तथा दानाका रूपमा बजारमा ल्याइएको मलको मूल्य प्रतिकेजी रु.३५ राखिएको छ।

सविता श्रेष्ठ, चितवन


हतियारविनाका दस्ता

वन संरक्षण र वन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्न बनाइएको हतियारविहीन दस्ता सफल देखिएको छ।

कैलाली―कञ्चनपुरको लालझाडी मोहना संरक्षित वन क्षेत्रमा चोरी शिकारी नियन्त्रण गर्न गत वैशाखमा सुरक्षा दस्ता गठन गर्दा त्यसले सफलता पाउला भन्ने अनुमान गर्नेहरू कमै थिए। तर, त्यहाँ चोरी शिकारीमा संलग्न पाँच जनालाई पक्राउ गरी कानूनी कारबाहीको प्रक्रियामा पुर्‍याएपछि दस्तालाई उपभोक्ता लगायत सरकारी निकायले पनि विश्वास गर्न थालेका छन्।

हतियार बोकेका चोरी शिकारीमा संलग्नहरूलाई नियन्त्रण गर्न गाह्रो पर्ने चिन्ता आफूमा पनि रहेको दस्ताका सदस्य लालबहादुर चौधरी बताउँछन्। विचार पुर्‍याएर हिम्मत गर्दा सकिने रहेछ भन्ने अनुभव उनलाई यो १० महीनामा भएको छ।

चोरी शिकारी नियन्त्रण गर्न गठित सुरक्षा दस्ता ।
कैलालीको मोहना सामुदायिक वन समन्वय समितिको दस्ताले माघ दोस्रो साता जरायो मारेर मासु बिक्री गरिरहेका गेटाका दीपक रानालाई पक्राउ गरेर वनकर्मीलाई जिम्मा लगायो। तर, जरायो बचाउन नसकेको र अरू ११ शिकारी भागेकोमा मोहना सामुदायिक समन्वय समितिका संयोजक राजबहादुर ऐरलाई पछुतो लागेको छ। दीपकको बयान अनुसार उनीहरू सबैलाई मुद्दा चलाइएको कैलाली जिल्ला वन कार्यालयका वन अधिकृत रविनिधि कर्ण बताउँछन्।

२७ माघमा रात्रि गस्तीमा गएको दस्ताले लालझाडी क्षेत्रमा रूख काटिरहेका तीन जनालाई गोरुगाडा र काठसहित पक्राउ गर्‍यो। सूचना पाएर जाँदा गोरुगाडा गुडेको चिन्हले रूख काटेको ठाउँ पुर्‍याएको दस्ताका सहसंयोजक पुनाराम चौधरी बताउँछन्। तीन गोरुगाडा र ४४ क्यूफिट काठ सहित पक्राउ परेका खेलुरा चौधरी, आशिष चौधरी र राजबहादुर चौधरीमाथि अहिले कानूनी कारबाही चलाइएको छ। त्यही दस्ताले खोर बनाएर राखिएका चार वटा बँदेलका बच्चालाई फेला पारेर जंगलमा छाड्यो भने अलपत्र अवस्थामा भेटिएको नीलगाईको बच्चालाई राति १२ बजे जंगलमा नीलगाईको बथानमा मिसाइदियो।

संयुक्त रात्रि गस्ती, सुराकी परिचालन र उपभोक्ताहरूलाई सचेत गराउँदै आएको यो दस्ताले वनजंगल संरक्षणमा उल्लेखनीय काम गरेको पिपरैया इलाका वन कार्यालयका सहायक वन अधिकृत प्रेमकुमार महतो बताउँछन्। इलाका वन कार्यालयमा कर्मचारी नभएकाले समस्या परेको वेला दस्ताको सहयोग महत्वपूर्ण रहेको उनको भनाइ छ।

सुरक्षा दस्ताले बरामद गरेका घरेलु हतियार। र कैलालीको गेटामा भागबण्डा गरिरहेको अवस्थामा समातिएको जरायोको मासु(तल)।

बच्चु बिक

मोहना सामुदायिक वन समन्वय समिति अन्तर्गत २९ सदस्यीय मूल चोरी शिकारी नियन्त्रण कार्यदल छ भने त्यस अन्तर्गत १५ वटा दस्ता सक्रिय छन्। उनीहरूलाई वन उपभोक्ता समितिका पदाधिकारी र वन हेरालुले सहयोग गर्दै आएका छन्। पारिश्रमिक नलिने गरी खटेका यी दस्तालाई प्राविधिक सहयोग गर्दै आएको पश्चिम तराई भूपरिधि आयोजनाको 'हरियो वन' कार्यक्रमका सह–व्यवस्थापक तिलक ढकाल सचेतना अभियान चलाउन तयार पारिएको दस्ताले वनकर्मीलाई सहयोग पुगेको बताउँछन्।

रौतहट, चितवन, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरका निकुञ्ज र आरक्षको मध्यवर्ती क्षेत्र तथा संरक्षित वनमा चोरी शिकारी नियन्त्रण गर्न बनेका यस्ता ७९ वटा दस्तामा अहिले ८२८ युवायुवती संलग्न छन्। यसबाट प्रभावित भएर दाङ वन कार्यालयले पनि भर्खरै यस्तै दस्ता बनाएको छ।

बच्चु बिक, धनगढी


शौचालय नहुँदा बिजोग

१२ फागुन दिउँसो जिल्ला प्रशासन कार्यालय, राजविराज पुगेका सप्तरीको रामपुर जमुवाका हरि सरदार (३५) पिसाबले च्यापेर आपत् परेपछि शाकेतचन्द्र पार्कको पूर्वपट्टिको गल्ली छिर्न बाध्य भए। तर, दिसापिसाबले आपत् पर्दा हरिलाई जस्तो महिलाहरूलाई गल्ली छिर्न सम्भव हुँदैन।

जिल्ला प्रशासन कार्यालयमा एउटा शौचालय भए पनि फोहोर बढी भएर प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ। ढोकामा चुकुल नभएकाले महिलाका लागि त्यो यसै प्रयोजनविहीन छ।

श्रवणकुमार देव

सार्वजनिक शौचालय छैन

राजविराजका अधिकांश सरकारी कार्यालयमा शौचालय नहुँदा सेवाग्राही समस्यामा पर्ने गरेका छन्। दिउँसो बजारमा चहलपहल हुने हुँदा शौचका लागि गल्लीतिर जानुपर्ने बाध्यता छ। जसले गर्दा नगरक्षेत्र दुर्गन्धित हुँदैछ। केही सरकारी कार्यालयमा शौचालय भए पनि प्रयोग गर्न नसकिने छन्। त्यसैले, दिसापिसाब नगर्न सूचना टाँसिएका ठाउँमै बढी फोहोर देखिन्छ।

अरू त अरू शौचालय बनाउन प्रेरित गर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा समेत शौचालय छैन। अर्को वर्षसम्म खुला दिसापिसाबमुक्त नगरपालिका बनाउने लक्ष्य राखेको राजविराज नगरपालिका परिसर समेत दुर्गन्धित छ। गैरसरकारी संस्था सबल नेपालका निर्देशक दीपक झा यो अवस्थाले नगरपालिकाको लक्ष्य पूरा नहुने बताउँछन्।

प्रमुख जिल्ला अधिकारी रामाधीन यादवचाहिं भर्खरै जिल्लामा आएकाले धेरै कुरा थाहा नभएको बताउँछन्। अघिल्ला प्रजिअ हरिकृष्ण पौडेलले महिला र पुरुषका लागि छुट्टै शौचालय निर्माण गर्ने प्रतिबद्धता पूरा नगरी जिल्ला छाडे। जिल्ला विकास समिति र मालपोत कार्यालयको शौचालयमा दुर्गन्ध सही नसक्नु छ। गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका शौचालयको दुर्दशा पनि त्यस्तै छ।

२०१६ सालमा मुलुकमै पहिलो 'टाउन प्लानिङ' गरिएको राजविराज नगरपालिकाको दक्षिणतिरको सार्वजनिक शौचालय मलमूत्र भरिएर प्रयोगविहीन भएपछि तोडफोड गरिएको छ। रुपनी बस स्ट्यान्डमा रहेको दुई कोठे सार्वजनिक शौचालयमा दुई वर्षदेखि ताल्चा लागेको छ। जसको छतमा प्रहरीले ड्युटी पोष्ट बनाएको छ।

राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ दुई महीनाभित्रै नगरका दुईठाउँमा सार्वजनिक शौचालय निर्माण गरिने दाबी गर्छन्। शौचालय बनाएपछि त्यहाँ दिसा, पिसाब गर्ने बानी बसाल्न चेतनामूलक कार्यक्रम समेत गर्ने योजना रहेको उनी सुनाउँछन्।

श्रवणकुमार देव, राजविराज

comments powered by Disqus

रमझम