२-८ चैत २०७० | 16-22 March 2014

पक्राउ नपर्ने 'गुन्डा'

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
एक महीनामा ७२ 'गुन्डा' समातेर सार्वजनिक मुद्दा चलाएका काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलको नजर सिडियो कुटेर 'फरार' रहेका र राजनीतिक संरक्षण पाएकाहरूतिर भने परेकै छैन।

उद्दण्डताको नमूनाः १३ साउन २०६४ मा दोलखाका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई कुटपिट गरेर कार्यालयबाट बाहिरिंदै 'गुन्डा दस्ता'।
१३ साउन २०६४ मा काठमाडौंबाट समूह लगेर दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उद्धवबहादुर थापालाई कार्यकक्षमै कुटेर 'फरार' भएका मणिराज गुरुङ (मनराज) राजधानीमा बीएमडब्लु कारमा गुडिरहेका छन्। र पनि, उनी 'गुन्डा' नसहने महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी रमेश खरेलको नजरमा पर्दैनन्। किनकि उनी सुरक्षाका सबै निकायमा दह्रो पहुँच बनाएका काजी शेर्पाका सहयोगी हुन्।

काजी चार वर्षअघिसम्म राजधानीको कुख्यात 'गुन्डा' को प्रहरी सूचीमा थिए। प्रहरीले उनलाई पटक–पटक थुनेको पनि थियो। तर, पछिल्लो समय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जवानको छाक टार्ने राशन ठेकेदार समेत बन्ने हैसियत बनाएका उनको 'पहुँच' यति माथिसम्म छ कि प्रहरीका डीआईजी तहका अधिकृतहरू समेत उनी विरुद्ध खुलेर बोल्दैनन्। २०६४ सालदेखि नै सशस्त्र प्रहरी र नेपाली सेनाको राशन ठेकेदार रहेका काजीको चाँगेस्तान कन्स्ट्रक्सन कम्पनीले २०६७/६८ सालमा तीन वटै सुरक्षा अङ्गका सिपाहीलाई राशन खुवाउने पौने ३१ करोड रुपैयाँको ठेक्का पायो।

'पहुँच' कै कारण हनुमानढोकास्थित महानगरीय परिसर र अपराध महाशाखाको 'गुन्डा' सूचीबाट काजी र उनका दाहिने हात मनराजको नाम–तस्वीर हटिसकेको छ। प्रहरीका एक उच्च अधिकृत मुद्दा चलेका केसका मिसिल र प्रमाणहरू रेकर्डबाट हटाउन नमिल्ने भए पनि काजी र मनराजको सबै रेकर्ड 'गुन्डा–प्रहरी सेटिङ' ले हटाएको बताउँछन्। अहिले भोजपुरमा सिडिओ रहेका उद्धवबहादुर थापा भने राज्यले आफूलाई न्याय दिनेमा विश्वस्त छन्। “कुनै आपराधिक घटनाका पीडितले राज्यबाट जे अपेक्षा गर्छ मेरो अपेक्षा पनि त्यही छ”, थापाले हिमाल सँग भने, “ममाथि आक्रमण गर्नेहरू किन पक्राउ परेनन् भन्ने सम्बन्धित निकायलाई थाहा होला।”

मनराज गुरुङले १३ साउन २०६४ मा माओवादीका जिल्ला नेता विशाल खड्का विरुद्ध सार्वजनिक मुद्दा चलाएको निहुँमा दोलखाका सिडिओ थापामाथि आक्रमण गरेका थिए। मनराज विरुद्ध १६ साउन २०६५ मा दोलखा जिल्ला अदालतले जारी गरेको म्याद तामेलसम्म भए पनि, उनी हाजिर भएका छैनन्। सिडिओ कुट्नेहरू विरुद्ध प्रहरीले उतिवेलै मुद्दा दायर गरे पनि अदालतले फरार तीन जना पेश नभएको भन्दै पक्राउ परेका ११ जनालाई सामान्य तारेखमा छाडेर मुद्दा मुल्तबीमा राखेको थियो।

दोलखाका तत्कालीन प्रजिअ थापामाथि कार्यालयभित्रै सांघातिक आक्रमण गर्ने मणिराज गुरुङ (बायाँ) र उनलाई संरक्षण गर्ने काजी शेर्पा (दायाँ)।

'फरार' भनिएका मनराज वेलावेला सार्वजनिक समारोहमा अतिथि भएर दोलखा पुगिरहन्छन् र प्रशासन प्रमुखहरूसँग कुम जोडेर बस्छन्। दोलखाका अधिकारकर्मीहरू यो सिलसिलालाई गुन्डाराज र दण्डहीनताको पराकाष्ठा मान्छन्। सिडियो कुटिएको घटनापछि दोलखाका मानवअधिकारकर्मी तथा कानून व्यवसायीहरू समेत त्रासमा छन्। नेपाल बार एसोसिएसन दोलखाका एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने “सिडियो कुट्ने गुन्डाले राज्यबाट संरक्षण पाइरहनुले राज्यकै उपहास भइरहेको छ। सिडियो नै सुरक्षित नभएपछि अरूको के सुरक्षा होला र!”

दोलखाका प्रजिअ प्रह्लाद पोख्रेल भने अदालतमा पुगिसकेको केस भएकाले कार्बाहीको 'फलोअप' प्रहरीले गर्ने बताउँछन्। सात महीनाअघि दोलखा प्रहरी प्रमुख बनेका डीएसपी सुरेश काफ्लेले मुद्दा अदालतबाटै नटुङ्गिएकोले प्रहरीसम्म आइनपुगेको बताए। ज्यान मार्ने उद्योगमा दर्ता भएको यो केसलाई एक वर्षअघि जिल्ला अदालत दोलखाका न्यायाधीश प्रभा बस्नेतको एकल इजलासले कुटपिटमा परिणत गरिदिएपछि सरकारी वकीलको कार्यालयले एक महीना अगाडि पुनरावेदन अदालत पाटनमा पुनरावेदन गरेको छ।

पक्राउ पछि 'क्लिन चिट'

काठमाडौंका प्रहरी प्रमुखमा एसएसपी रमेश खरेल आउनासाथ पक्राउ परेका 'गुन्डा' हरू प्रमाण नपुगेकोले धमाधम छुट्न थालेका छन्। खरेललाई कार्यालयमै भेट्न जाँदा समातिएका क्यासिनोका ऋण लगानीकर्ता बलराम सापकोटा (बले) र चक्रे मिलनका भाइ तेजेन्द्र गुरुङ रु.३–३ हजार धरौटीमा १९ फागुनमा छुटे। समातिएका सबैमाथि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएकाले एसएसपी खरेल उनीहरूलाई २४ दिनभन्दा बढी हिरासतमा राख्न सक्ने अवस्थामा छैनन्। दीपक मनाङे, शुक्रबहादुर तामाङ (बाघे), समीरमानसिंह बस्नेत लगायतका सबैले यसरी नै 'क्लिन चिट' पाउने छन्।
अपराधशास्त्री डा. रजितभक्त प्रधानाङ्ग नयाँ प्रहरी हाकीम आउँदा 'काम देखाउन' यसरी 'गुन्डाहरू' समातिने कुरा नयाँ नभएको बताउँछन्। तर, कुनै प्रमाण विना समातेर 'बनिबनाउ आरोप' लगाउँदै सार्वजनिक मुद्दा दायर गर्नुलाई ऐनको दुरुपयोग भन्छन्, उनी। शान्ति सुरक्षाका नाममा जम्माजम्मी २४ दिन थुन्नका लागि जबरजस्ती कानून प्रयोग गर्नुलाई राम्रो अभ्यास नमान्ने डा. प्रधानाङ्ग भन्छन्, “गुन्डा नियन्त्रणका लागि सरकारले छुट्टै कानून ल्याउनुपर्छ।”

गुन्डागर्दी नियन्त्रण ऐन नभएकैले सार्वजनिक अपराध ऐनको प्रयोग गर्नु परेको बताउने एसएसपी खरेल ठेक्का–पट्टा, वैदेशिक रोजगार, सहकारी, हुन्डी लगायतकालाई समेत समेट्ने कानून आउनुपर्ने बताउँछन्। तर, मिडिया प्रचार हुने भएकोले एसएसपी खरेलले छाड्नकै लागि गुन्डा पक्रने गरेको आरोप पनि लाग्न थालेको छ। “प्रहरीको अनुसन्धान प्रमाणमा आधारित हुनुपर्छ”, एक प्रहरी अधिकृत भन्छन्, “गुन्डाको ट्याग लगाएर सार्वजनिक अपराधमा मुद्दा चलाउँदा हुने प्रचारबाजी मात्र हो।”

नेपाल प्रहरीको प्रशासन विभाग प्रमुख रहेका डीआईजी राजेन्द्रसिंह भण्डारी पनि गुन्डाहरूलाई पक्रेर थुन्नु तत्कालको उपाय मात्र भएको बताउँछन्। उनका भनाइमा, गुन्डा समाजकै उपज भएकाले पहिले पर्दापछाडिका गुन्डाहरू पहिचान गरेर यसको सञ्जाल तोड्नुपर्छ। तर, राजनीतिक संस्कारले गुन्डाहरूलाई समाजमा हावी बनाएको बताउँदै डीआईजी भण्डारी भन्छन्, “भन्नलाई कसैले भनेको नमान्नुस्, ठोक्नुस् भनेर आदेश दिने र भाषण गर्नेहरूकै साँठगाँठ गुन्डासँग हुनु दुःखको कुरा हो।”

गुन्डाका मित्र र शत्रुः ढकबहादुर कार्की (बायाँ) जसले काठमाडौं प्रहरी प्रमुख हुँदा शुरु गरेको गुन्डा संरक्षणको सञ्जाल अझै कायम छ। रमेश खरेल (दायाँ) जसले नियन्त्रणका लागि 'गुन्डा अपरेशन' नै चलाइरहेका छन्।

पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना व्यवसायी, ठेकेदार र नेताहरूबाट गुन्डा ग्याङ परिचालन हुने भएकाले उनीहरूमाथि अनुसन्धान गर्ने र सम्पत्तिको स्रोत छानबिन गर्ने अधिकार प्रहरीलाई हुनुपर्ने बताउँछन्। काठमाडौंमा रमेश खरेलको आगमनपछि भएको गुन्डाहरूको पक्राउ अभियानलाई सकारात्मक रूपमा लिने पूर्व आईजीपी राना सबै प्रहरीले त्यसै गरे गुन्डागर्दी निर्मूल हुने बताउँछन्। तर, भर्खरै जेलबाट छुटेका दीपक मनाङेलाई समेत फूटबल हेरिरहेको ठाउँबाटै उठाएर प्रशंसित भएका एसएसपी खरेल सिडिओ कुट्ने मनराज, हत्या अभियोगमा अदालतबाट सजाय पाएका बालकृष्ण ढुङ्गेल, दह्रो राजनीतिक संरक्षण पाएका गणेश लामा र काजी शेर्पा जस्ता अभियुक्तहरूलाई नदेखेकोमा आलोचित पनि हुन थालेका छन्।

काजीको कथा

म्यानपावर कम्पनीको चौकीदारदेखि डान्सवार वाउन्सरसम्म बनेका काजी शेर्पाले दीपक मनाङेको विश्वासपात्र बनेपछि राजधानीको भूमिगत संसारमा आश्चर्यजनक प्रगति गरेको प्रहरी अधिकृतहरू बताउँछन्। हुन पनि, २०५० सालतिर सोलुको सल्लेरीबाट राजधानी छिरेका काजीको आर्थिक उन्नति पत्याइनसक्नु छ। सुडान घोटाला काण्डमा निलम्बित डीआईजी रमेशविक्रम शाह प्रबन्ध प्रमुख भएको समयमा मंसीर २०६७ मा नेपाल प्रहरीको पनि राशन टेन्डर हात पारेपछि उनको प्रगतिले गति लिएको हो। धादिङको आँखुखोला–१ विद्युत् परियोजनाका लगानीकर्ता रहेका काजीका स्काभेटर, टि्रपर व्यापारदेखि ठूलो क्रसर कम्पनी र बालुवा खानीसम्मका दर्जनौं कारोबार छन्।

राजधानीको रात्रि व्यवसायमा स्थापित भएपछि मनाङेका परम शत्रु चक्रे मिलनसँग पनि नजिकिएका काजी मनाङेका एक सहयोगीलाई खुकुरी हानेर जेल समेत परेका थिए। जेलबाट निस्केर काजीले गणेश लामा र चक्रेका सहयोगी कुमार घैंटेसँग पनि समूह बनाए। तर, प्लाटेनियम डिस्कोका सञ्चालक अमित लामालाई गोली हानेका घैंटेलाई शङ्कर होटलमा बोलाएर उनैले प्रहरीको फन्दामा पारेका थिए। त्यसपछि मनराज गुरुङ र समिर बस्नेतलाई सहयोगी बनाएर अर्को समूह खडा गरेका उनले टेन्डर, कन्स्ट्रक्सन, बालुवा आदिको धन्दामा आफ्नो 'साम्राज्य' खडा गरे।

कुनै आपराधिक घटनाका पीडितले राज्यबाट जे अपेक्षा गर्छ मेरो अपेक्षा पनि त्यही छ। ममाथि आक्रमण गर्नेहरु किन पक्राउ परेनन् भन्ने सम्बन्धित निकायलाई नै थाहा होला।

उद्धवबहादुर थापा

प्रजिअ, भोजपुर

आधा दर्जन आपराधिक घटनामा संलग्न काजीलाई योविघ्न मजबूत बनाउनेमा भ्रष्ट प्रहरी अधिकृतहरूको ठूलो भूमिका छ। त्यसमा पनि काठमाडौंका तत्कालीन प्रहरी प्रमुख ढकबहादुर कार्कीको सबभन्दा ठूलो हात भएको प्रहरीका अनुसन्धान अधिकृतहरू बताउँछन्। त्यो वेला प्रहरीले गुन्डा समातेर ल्याउनासाथ एसपी कार्की लेनदेन मिलाउन सक्रिय हुने गरेको उनीहरूको भनाइ छ। “कार्की हनुमानढोकामा प्रमुख रहँदा खुकुरीदेखि गोलीकाण्डसम्मका अपराधीले छुट पाए”, नाम उल्लेख गर्न नचाहने एक अधिकृत भन्छन्, “काजी शेर्पाको आजको अवतारमा पनि उनकै प्रमुख योगदान छ।”

एसपी कार्की हनुमानढोकामा छउञ्जेल काजी, मनराज गुरुङ लगायतका आधा दर्जन आपराधिक घटनाका फाइलहरू अगाडि बढ्दैनथे, बढाउनै परे पनि मुद्दालाई कमजोर बनाएर लगिन्थ्यो। त्यसवेला मनराजलाई पक्रने सोह्रखुट्टेका इन्स्पेक्टर वेद विष्टलाई जागीर खाइदिने धम्की दिनेदेखि गुन्डा विरुद्ध उभिएका दरबारमार्गका इन्स्पेक्टर आभूषण तिम्सिनालाई हेडक्वाटरमा थन्क्याउनेसम्मका काम गरेका थिए, एसपी कार्कीले। ज्याठामा दुई प्रहरीलाई मरणासन्न बनाउने मनराजलाई सार्वजनिक मुद्दा लगाएर उम्काएको घटनाले एसपी कार्कीप्रति प्रहरीभित्रै ठूलो रोष उत्पन्न भएको थियो।


'गुण्डा'को रजाइँ

सुनसरी, मोरङ र झापाका शहरमा 'गुन्डा' आतंक बढ्दो छ

कमल रिमाल, विराटनगर, सीता मादेम्बा, धरान, गोपाल गडतौला, दमक

नेकपा एमाले सुनसरी– १ का उम्मेदवार कृष्णकुमार राईको विजय र्‍यालीमा आविष्कार लिम्बू (बायाँ)।
जिल्ला विकास समिति मोरङले ७ पुसमा खोलेको टेन्डरका क्रममा ठेकेदार धीरेन्द्र दाहाललाई धम्काउँदै रु.२० लाख मागेको आरोपमा ९ पुसमा विराटनगरका पुराना 'दादा' अशोक हुमागाई पक्राउ परेर २१ दिनमा छुटे। उनीसँगै धम्कीको आरोप लागेका अभिषेक गिरी भने काठमाडौंमा रहेकाले पक्राउ पर्न सकेनन्। विराटनगरमा गुन्डागर्दी शुरू गर्ने उमेश गिरीपछिका हुमागाई उमेरले ५० नाघे पनि धन्दामा टिक्न खोजिरहेका छन् र उनलाई 'गुरु' मान्ने नयाँ पुस्ताका 'दादा' हरूले आक्रान्त बनाउन लागेका छन्, पूर्वाञ्चललाई।

मोरङ उर्लाबारीका राम राई समूहका मात्र ८ जनालाई पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको छ। गत ६ महीनामा मोरङ प्रहरीले विराटनगरका ३९ जना 'गुन्डा' लाई सार्वजनिक अपराध ऐन अन्तर्गत २५ दिन थुनेर छाडेको छ। राजनीतिक संरक्षण पाएका 'गुन्डा' हरूले व्यवसायीहरूलाई त्रसित पारेको बताउँदै प्रहरी उपरीक्षक (एसपी) विश्वराज पोखरेल भन्छन्, “कसैले उजुरी गरे जोबाट दबाब आए पनि कारबाही गर्छु।”

कट्टीबाट बन्दूक

दश वर्षअघिसम्म ग्याङ फाइट र कट्टी आतंक हुने धरान अहिले अपहरण, अवैध असुलीदेखि दिनदहाडै गोली हान्नेसम्मका 'दादा' हरूबाट आक्रान्त छ। गएको १४ कात्तिकमा एमाले युवा संघको धरान नगर इन्चार्ज रहेका दिवस राईले संघीय समाजवादी पार्टीका सुनसरी उपाध्यक्ष पारस काङमाङ र क्षेत्र नं १ का उपसचिव मनकुमार तामाङलाई 'तर्साउन' गोली चलाए। उनी विरुद्ध उजुरी पनि पर्‍यो, तर संविधानसभाको चुनावी अभियानमा एमाले उम्मेदवार कृष्णकुमार राईसँग हिंडिरहेका उनलाई प्रहरीले समात्ने आँट गरेन। धेरै दबाबपछि २२ मंसीरमा समातिएका उनलाई अदालतले प्रमाण नपुगेको भन्दै विना धरौटी छाड्न आदेश दियो।

त्यसअघि १४ भदौमा जिरो प्वाइन्टको रेस्टुरेन्टमा सशस्त्र प्रहरी निरीक्षक विजय हमालको पेस्तोल खोस्ने आविष्कार लिम्बूलाई प्रहरीले पक्रेको विरोधमा एमालेको युवा संघले दुई घन्टा चक्काजाम गरेको थियो। राजनीतिक दबाबका कारण चार दिनमै उनलाई छाड्न बाध्य भयो, प्रहरी। दिवस राई र आविष्कार लिम्बू लामो समय लागूऔषध पुनर्स्थापना केन्द्रमा बसेर कुलतबाट मुक्त भएपछि समूह बनाएर ठेक्कापट्टामा कमिसन असुल्ने धन्दामा संलग्न भएका हुन्।

लागूऔषधका पूर्व प्रयोगकर्ताहरूको रिकभरिङ समूहबाट एमालेको संरक्षणमा पुगेका यी दुई युवक अहिले मिटर व्याज (सयकडा २५ प्रतिशतसम्म) असुल्ने र जुवा खेलाउनेदेखि ठेकेदार र जग्गा व्यवसायीबाट दादा भत्ता लिनेसम्ममा संलग्न रहेको प्रहरी बताउँछ। उनीहरू धरानमा छोटो समयमै फेरी–फेरी विलासी गाडी चढ्ने हैसियत बनाउनेमा पर्छन्। एक युवकले उनीहरूबाट गत वर्ष लिएको रुपैयाँ मिटर व्याजका कारण डेढ करोड नाघेको छ। काठमाडौंको घर र तीन बिघा खेत बेचेर रु.७० लाख तिरी सक्दा पनि एक करोड तिर्न बाँकी भएको बताउँदै नाम नबताउने शर्तमा ती युवककी आमाले भनिन्, “मेरो छोराको ज्यान खतरामा छ।”

मिटर व्याजबाट पैसा कमाउनेमा 'कैंची' भनेर चिनिने पूर्व लागूऔषध प्रयोगकर्ता सुरज शाह पनि हुन्। दिवस राई र आविष्कार लिम्बूको समूहलाई हरेक पटक १० प्रतिशत पीसी (पर्सनल कमिसन) बुझ्ाउनुपरेको एक जना ठेकेदारले बताए। पैसा नदिए रात–दिन मानसिक तनाव बेहोनुपर्ने उनी बताउँछन्। “प्लटिङ गर्न डोजर आएको थाहा पाउने वित्तिकै यो कसको अनुमतिले गरेको हो भन्दै गुन्डा पठाउँछन्”, नाम उल्लेख नगर्ने शर्तमा एक जना जग्गा व्यवसायी भन्छन्, “एउटालाई मनाएर पठायो अर्को आउँछ।”

धरानको गुन्डागर्दीमा पूर्व भलिबल खेलाडी थमन गुरुङले पनि आफ्नो सिक्का जमाएका छन्। पहिले दीपक मनाङेको समूहमा रहेका उनी अहिले नेपाली कांग्रेसको संरक्षणमा छन्। हाइलेक्स गाडीमा हुँइकिने उनले एक करोडभन्दा बढीको घर बनाएका छन्।

अभिषेक गिरी, विराटनगर।

राजनीतिक संरक्षण

धरानमा कमिसनको खेल तत्कालीन माओवादीको वाईसीएलले शुरू गरेकोमा अलिपछि त्यही नै 'दादा भत्ता' को रूपमा 'विकास' भएको थियो। २०६२/६३ को आन्दोलनपछि लिम्बुवान र खम्बुवान लगायतका समूहहरू कमिसनमा पल्किए। अहिले 'दादा भत्ता' मा एमालेको भ्रातृ संगठन युथफोर्सको हालीमुहाली छ।

२०६७ सालको भ्यालेन्टाइन डेमा केटीलाई फूल दिएको निहुँमा तारा राई र गोकुल राईको समूह बीच झ्डप भयो। त्यसमा गोकुल राई समातिने बित्तिकै रिकभरिङ नेपालका युवाहरूले इलाका प्रहरी कार्यालय घेरेर ढुंगामुढा गरे। त्यसक्रममा प्रहरीले एक दर्जनभन्दा बढीलाई समातेर मुद्दा चलायो। त्यसपछि रिकभरिङको चलखेल कम भए पनि विभिन्न राजनीतिक दलमा प्रवेश गरेका त्यसका सदस्यहरूले धरानमा अवैध राजको बागडोर सम्हालेका छन्।
आगामी स्थानीय निकायको निर्वाचनको चर्चाले उनीहरूमाथिको राजनीतिक संरक्षणलाई अझ् मजबूत बनाएको छ। धरान नगरपालिकाको मेयरमा उठ्ने तयारीमा रहेका एमालेका धरान नगर अध्यक्ष तारा सुब्बा भने दिवस र आविष्कार आफ्ना कार्यकर्ता भए पनि गलत काममा संरक्षण नगरेको दाबी गर्छन्।

२०६८ सालमा संखुवासभाका ठेकेदार किशोर शेर्पालाई अपहरण गरेको आरोपमा समातिएका दिवस, आविष्कार र रतन लिम्बूलाई युवासंघले राजनीतिक दबाबमा छुटाएर अविरजात्राका साथ नगरपरिक्रमा गराएको थियो। धरानका 'दादा' हरूको सूचीमा शाही शासनकालका मेयर मीन सुब्बाको नाम पनि छ। अहिलेका जल्दाबल्दा पार्टीहरूको संरक्षणमा रहेका धेरै 'दादा' हरूसँग मीन सुब्बाको जुवा खेलाउने धन्दामा सहकार्य हुने गरेको प्रहरी बताउँछ।

दिवस राई, धरान।

इटहरीको गुन्डागर्दीमा सक्रिय सूर्य काँडे (सूर्य राई) भने अहिले अपहरणको मुद्दामा जेलमा छन्। स्थानीय दुर्गा अधिकारीलाई अपहरण गरेका काँडेले २०६४ सालमा नागेश लिम्बूमाथि खुकुरी प्रहार गरेका थिए भने २०६५ मा बीपी चोकमा गोली चलाएका थिए। नेविसंघका केन्द्रीय सदस्य रहेका उनले गत दशकमा रु.१५ करोड भन्दा बढीको सम्पत्ति जोडेको अनुमान छ। सूर्य काँडेको अनुपस्थितिमा 'काले विकास' भनिने विकास आचार्यले इटहरीका व्यापारीहरूबाट हप्ता असुलिरहेको तर, कसैले उजुरी नगरेको प्रहरी बताउँछ। १७ फागुनमा सिजन गुरुङ सहित तरहराका सात 'गुन्डा' समातिंदा उनीहरूलाई छुटाउन सुनसरी कांग्रेसका सभापति राजीव कोइराला दलबल लिएर इलाका प्रहरी कार्यालय धरान आएका थिए। तर, चार दिनपछि जिल्ला अदालतले धरौटीमा छाडेको छ।

उता, झापाका काँकडभिट्टा, बिर्तामोड र दमकमा गुन्डागर्दीलाई पेशा बनाउने समूहहरूबारे आफूलाई थाहा भएको राप्रपा नेपालका नेता राजेन्द्र लिङ्देन बताउँछन्। उनी आफैं २०४६ चैतमा मेची बहुमुखी क्याम्पसमा बहुदल समर्थक विद्यार्थी राम थापाको हत्या भएपछि पाँच महीना जेल परेका थिए। आफूले चाहे झ्ापामा अझै पनि केही सय केटा जुनसुकै वेला निकाल्न सक्ने बताउँदै लिङ्देन भन्छन्, “तर, मैले राजनीतिक काममा बाहेक तिनलाई प्रयोग गरेको छैन।”

इलाका प्रहरी कार्यालय दमकमा गत ७ महीनामा ४५ वटा सार्वजनिक अपराधका मुद्दा चलाइएको रेकर्ड छ। अरू ठाउँको भन्दा झ्ापाको फरक के छ भने, यहाँका धेरैजसो गुन्डा सुपारी तस्करीमा संलग्न व्यापारीहरूको संरक्षणमा छन्।

comments powered by Disqus

रमझम