कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय परम्पराबाट हेर्दा स्वाभाविक देखिए पनि कम्युनिष्ट क्रान्तिपछि देखिएको प्रतिक्रान्तिको दृष्टिबाट हेर्दा लामो समय नेतृत्वमा रहनु बहसको विषय बन्छ। म पार्टीको नेतृत्वमा आएको २५ वर्ष भयो। तर माओ ४५ र स्टालिन त्योभन्दा अरू १०, २० वर्ष बढी नेतृत्वमा बसेकाले यो धेरै होइन। तर, एउटै मानिस नमरुन्जेल नेतृत्वमा बसिरहनु वैज्ञानिक भने होइन।
अहिले विश्वमा नयाँ 'मेकानिज्म', नयाँ दर्शन, नयाँ मान्यता विकास भइरहेकाले हाम्रो पार्टीमा पनि त्यसरी नै विकास गर्ने कोशिश भइरहेको छ। '२१औं शताब्दीको जनवाद' दस्तावेजको लेखनपछि मैले नै नेतृत्वबारे नयाँ ढंगले सोच्नुपर्छ भनेको हुँ।
२०४६ को जनआन्दोलन भन्दा पहिले मैले चाहेर भन्दा परिस्थितिले मलाई प्रमुख नेतृत्वमा पुर्यायो। सेक्टर काण्डको नकारात्मक परिघटनापछि म महामन्त्री बने। त्यसलगत्तै विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न मेरो ध्यान गयो। माओवाद, जनवादी क्रान्ति, सशस्त्र संघर्षको भूमिकालाई स्वीकार्ने समूहसँग एकता गर्नुपर्छ भन्ने लाग्यो। २०४६ को आन्दोलनले एकताको निम्ति वातावरण बनाएको थियो। एकाध वर्षको मिहिनेतपछि नेकपा (एकता केन्द्र) बन्यो।
मोहनविक्रम सिंहले तपाईं, बाबुराम भट्टराई जस्ता क्षमतावानहरूलाई राजनीतिक संगतमा राख्न नचाहे जस्तै अहिले तपाईं र बाबुरामले पनि त्यही प्रवृत्ति पुनरावृत्ति गरे जस्तै लाग्दैन?
अहिले नै मलाई त्यस्तो लागिसकेको छैन। सामाजिक रूपान्तरणको यति ठूलो ऐतिहासिक जिम्मेवारी अज्ञानताले होइन, ज्ञानले मात्र नेतृत्व गर्न सक्छ भन्ने मार्क्सवादको चुरो हो। त्यसको अन्तरवस्तु बुझेर नै मैले बुद्धिजीवी टाइपका प्रतिभाशाली व्यक्तित्वहरू केन्द्रीकृत गरें।
मोहनविक्रम, निर्मल लामा, रूपलाल, रोहितहरूले रोकेर राखेका प्रतिभाशाली पात्रहरूमा मेरो ध्यान केन्द्रित थियो। जस्तै, मोहनविक्रमले बाबुरामलाई जिल्ला कमिटीमा मात्र राखेका थिए। ज्ञानको आवश्यकता र महत्वलाई कम आँक्ने यान्त्रिक सोच विरुद्ध मैले नै एकता र विद्रोहको पहल गरें।
पछि नेकपा (एकता केन्द्र) माओवादीमा रूपान्तरण भयो। माओवादी बनिसकेपछि जनयुद्धको प्रारम्भिक चरण जटिल थियो र त्यसलाई हल गर्न युवा प्रतिभाहरूलाई नेतृत्वमा ल्याउनुपर्ने भयो। सामान्य सुधारको तरिकाले होइन, फड्कोको रूपमा गाउँको वर्गसंघर्ष र विभिन्न आन्दोलनबाट खारिएका युवाहरूलाई केन्द्रमा ल्याइयो। उत्तराधिकारीको तयारी र युवा पिंढीलाई समयमै नेतृत्व छोडिदिनुपर्छ भन्ने बहस हाम्रो पार्टीमा छ।
तर, पछिल्लो समयमा आफ्नो नजिक निष्ठावान व्यक्ति मात्रै राख्ने गरेको देखिन्छ नि! जस्तै तपाईंको नजिक कृष्ण महरा र बाबुरामजीको नजिक टोपबहादुर। तर संसदीय प्रतिस्पर्धामा उहाँहरूको प्रस्तुति साह्रै कमजोर रहेको महसूस हुँदैन?
हाम्रो समाजमा रहेको बहस र प्रवृत्तिहरू नै पार्टीभित्र आउने हुन्। हामी भौतिकवादी द्वन्द्ववादलाई मान्नेले मान्नु पर्छ, समाजमा चलिराखेका विचार, संस्कार र संस्कृतिको प्रतिबिम्ब हरेक पार्टीमा हुन्छ। पार्टीभित्र विभिन्न विचार समूह, गुट भन्ने कुरा नचाहँदा नचाहँदै पनि हुने कुरा हो। लिडर र विचारले मात्रै हल गर्न सक्दैन। मार्क्सलाई अहिलेसम्मकै सबैभन्दा बढी प्रतिभासम्पन्न बुद्धिजीवी र दार्शनिक मानिन्छ। तर, मार्क्सले पनि संगठनभित्र गुटहरू रोक्न सकेनन्। किन मार्क्सले आफैंले बनाएको कम्युनिष्ट लिग विघटन गर्नुपर्छ भने? किनभने त्यो त्यतिवेलाको वर्गसंघर्षको परिणाम थियो। त्यसैले आदर्शवादी तरिकाले बुझ्नु धेरै अर्थपूर्ण हुँदैन। बरु, के कारणले भएको हो र त्यसमा कसरी संघर्ष गर्ने भन्ने सोच्नु उपयुक्त हुन्छ।
तर, तपाईंले भन्नुभएको विषयमा हामी सबैभन्दा बढी चिन्तित छौं। दोस्रो पुस्ता जसरी आउनुपर्ने हो, हामीले जसरी 'एडुकेट' गर्नुपर्ने हो, त्यसमा कहीं न कहीं कमजोरी भएको छ। त्यसैले अहिले हामी कसरी सक्षम मान्छे तयार पार्ने भन्ने बहस गरिरहेका छौं। तर, यो बहस समूह वा गुटले भन्दा सिंगो राष्ट्रले गर्नुपर्छ।
तपाईंका नजिकका यानप्रसाद गौतम, रवीन्द्र श्रेष्ठ र मातृका यादव नै तपाईंको विरोधी हुनुको कारण के हो नि?
समर्थन गर्ने मान्छेहरूबाटै विरोधी जन्मिने हो। संसारमा को नेता छ, जसले नजिक हुनेबाट विरोधको सामना गर्नु नपरेको होस्। नजिक भएको मान्छे विरोधी हुने नै विज्ञान हो। बाबुरामको नजिक भएका मणि थापा र मुमाराम पनि विरोधी भए। त्यसकारण यसलाई आग्रह पूर्वाग्रह भन्दा वस्तुगत यथार्थबाट हेर्नुपर्ने हुन्छ। शान्ति प्रक्रियापछि गिरिजाप्रसाद कोइरालाले सबैभन्दा बढी माया गर्ने मान्छे महन्थ ठाकुर, विजय गच्छदार, जयप्रकाश गुप्ता पनि विरोधी भएका थिए।
यो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको समीक्षा र मार्क्सवादको गहन अध्ययन, बहससँग जोडिएको विषय हो। यसलाई एकाध व्यक्तिसँग जोडेर हेर्नुहुँदैन र सकिंदैन। मेरो कुरा गर्नुहुन्छ भने अलिकति बढी आलोचना गर्नेलाई आफूतिर ल्याउनुपर्छ भन्ने मेरो मान्यता छ। समर्थन गर्नेलाई मैले वास्ता गरिनँ भनेर मेरो आलोचना हुने गर्छ। आलोचना गर्नेलाई मात्र नजिक ल्याउन खोज्ने गरेको भन्छन्। २०४६ देखि शान्ति प्रक्रियासम्म आइपुग्दा मेरो ध्यान सबैलाई समेट्ने तिर नै गयो। अहिलेसम्म पनि मेरो ध्यान त्यतै छ।
कम्युनिष्ट पार्टीमा सामान्य आलोचना गर्दा पनि शत्रुकै रूपमा व्यवहार गर्ने प्रवृत्तिलाई के भन्नुहुन्छ?
यो पनि वर्गसँग सम्बन्धित विषय नै हो। डेमोक्र्याट भनिने पार्टीमा त आफ्नो वर्गीय हितमा थोरै असर पर्ने वित्तिकै अझ्ा निर्मम, क्रूर र फासिष्ट हुने गरेका छन्। बरु, उनीहरूको तुलनामा कम्युनिष्टहरू उदार देखिन्छन्। त्यसैले, स्टालिनलाई ज्यादै गाली गर्नु भनेको वर्ग दृष्टिकोण छोडेको भन्ने नै हुन्छ।
पार्टीभित्रको संघर्षमा नि?
भित्री संघर्ष पनि वर्ग संघर्षकै प्रतिबिम्ब हो भन्ने बिर्सनुहुँदैन। कांग्रेस, एमाले, माओवादी जहाँ पनि त्यो देखिन्छ। तर, पार्टीभित्रको संघर्ष र बाहिरको वर्ग संघर्ष एकै ढंगले चलाउनुपर्छ भन्ने होइन। एउटा सीमासम्म पार्टीभित्र चल्ने संघर्ष मित्रतापूर्ण, आलोचनात्मक हुन्छ। बहस, छलफल र रूपान्तरणद्वारा त्यसलाई हल गर्ने प्रयत्न गरिन्छ। तर, कम्युनिष्ट आन्दोलनमा अलिकति भिन्न विचार हुने वित्तिकै दुश्मन, गद्दार, दलाल भन्ने परम्परा छ। खासगरी स्टालिनको वेलामा त्यो बढी भएको हो।
हाम्रो सन्दर्भमा पनि भिन्न मत र विचारलाई ठीक ढंगले समाहित गर्न सकिएन। संवादद्वारा त्यसलाई मिलाउन सकिएन भने पार्टी रहँदैन। विचारको द्वन्द्वले नै पार्टीको अस्तित्व राख्छ। २०४६ पछि मैले सबैभन्दा बहस चलाएको विषय यही हो। त्यही भएर वैद्यजीहरू जाँदा पनि म उहाँहरूको कार्यक्रममा गएको हुँ।
पार्टी विभाजन हुँदा ठूला सैद्धान्तिक कारणहरू भनिए पनि अहिले फेरि एकताको कुरा आएको छ। यसलाई कसरी हेर्ने?
केही समयदेखि कम्युनिष्टहरूमा डबल स्ट्यान्डर्ड बढेर गएकै हो। स्टालिनको समयमा हावी भएको अधिभूतवाद माओसम्म आउँदा पनि घटेन। जस्तो मलाई कुनै पद चाहिएको छ वा कुनै स्वार्थ पूरा गर्नुछ भने सिद्धान्तको भारीभरकम कुरा गरेर बुझ्िानसक्नुको बनाउने। स्वार्थ पूरा भएपछि सिद्धान्त पनि एकैछिनमा मिल्ने। लेनिनले सबैभन्दा बढी बहस यसैमा चलाउनुभएको थियो। सरल ढंगले मिल्ने कुरालाई सिद्धान्त बनाउँदा एकैठाउँमा बस्नै नसक्ने हुन जान्छ।
हेटौंडामा महाधिवेशनमा भनेको कुरा शान्ति प्रक्रियामा आउनासाथ भनेको भए पार्टी विभाजन नहुने र तपाईको परिचय ढुलमुल कुरा गर्ने नेता बन्दैनथ्यो भन्ने लाग्दैन?
त्यो 'हाइपोथेसिस' को कुरा भयो। त्यति वेला त्यस्तो गर्न सकिंदैनथ्यो। उत्तारचढाव र ठक्करको अनुभवले हेटौंडा महाधिवेशन भएको हो। पहिल्यै त्यो भनेको भए हेटौंडा महाधिवेशन नै हुँदैनथ्यो। पार्टी यहाँसम्म आइपुग्दैनथ्यो। शान्ति प्रक्रिया नै शुरू हुँदैनथ्यो।
बाबुरामले अहिले बोल्नुभएको र हेटौंडा महाधिवेशनले पारित गरेका कुरा मेल खान्छन्?
ती कुरा किन बोल्नुभएको हो भन्ने उहाँलाई नै सोध्नु ठीक होला। तर, हेटौंडा महाधिवेशनको लाइन एकमतले पारित गरेको हो। प्रधानमन्त्री भएकाले विभिन्न निर्णयमा उहाँकै हात बलियो थियो। किनभने उहाँले अडान लिंदा हुन्थ्यो। प्रधानमन्त्रीले भने अनुसार नै सरकार बनाउने, नियुक्ति गर्ने काम भए। उहाँले अहिले बोलेका कुरा महाधिवेशनको लाइन र अस्ति भर्खर केन्द्रीय समितिले पारित गरे अनुसार पनि छैन। नयाँ शक्ति भनेर उहाँले आफ्नो पार्टी भन्दा अर्कै नयाँ केही जस्तो भन्नुभएको छ। त्यो महाधिवेशन, पार्टी र क्रमिक विकाससँग संगति राख्दैन।
बाबुरामले अहिलेसम्म आफूलाई तपाईको सहयोगी भन्दै आउनुभएको छ। अहिले पनि सहयोगीकै सम्बन्ध छ कि फेरियो?
अहिले यसबारे म धेरै भन्न चाहन्न। बाबुरामजी धेरै विशिष्ट पृष्ठभूमिको बुद्धिजीवी हुनुहुन्छ। उहाँलाई पार्टीमा समुचित स्थान हुनुपर्छ भनेर लड्ने व्यक्ति हुँ म। एकता केन्द्र बन्दा मैले नै जोड गरेर उहाँलाई पोलिटब्यूरोमा ल्याएँ। हाम्रो पृष्ठभूमि र सोच्ने तरिकामा केही अन्तर छ भन्ने हामीले मानेकै हौं। त्यो कहिलेकाहीं टकरावमा पनि आउँछ। जनवादी क्रान्ति गर्ने र समाजवादतिर जानेमा हामी एकठाउँमै छौं। म अध्यक्ष भए उहाँ उपाध्यक्ष, म महामन्त्री हुँदा उहाँ पोलिटब्यूरो सदस्य, यस अर्थमा उहाँ सहयोगी नै हो।
यो बहसकै विषय छ। अहिले धेरै खुलेर भन्नु उपयुक्त लाग्दैन। बाबुरामले अध्यक्षले र आफूले पनि छाडेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भनेको जस्तो लाग्छ। तर, त्यसले समस्या हल गर्दैन। हामीले छाड्दा अर्को पुस्ताले सरर्र लैजान्छ भन्ने मलाई लाग्दैन। उहाँको नियतमा म शंका गर्दिनँ। तर, उहाँले भने अनुसार हुने हो भने पार्टी झन् छिटो विघटन हुन्छ। उहाँले भने अनुसार टोपबहादुर र महराजीलाई दुई वर्ष तयारी नगरी छाड्दा झन् छिटो समस्या आउँछ। उहाँले अर्कै चिज खोजेको हो भने त म भन्न सक्दिनँ।
तपाईंको जस्तो डायनामिज्म तपाईं जसरी बोल्ने बाहेक दोस्रो पुस्तामा किन हस्तान्तरण नभएको होला?
(हाँसो) भइराखेको छ र हुन्छ। तर, बाबुरामजी र म शान्ति प्रक्रिया निष्कर्षमा नपुगेसम्म र संविधान नबनेसम्म जिम्मेवारीबाट हट्न नैतिक रूपमा पनि मिल्दैन।
त्यसो भए तपाईंले नै उहाँलाई छोड्दा हुँदैन र?
मैले हेटौंडा महाधिवेशनमै अब तयारी गरौं भनेको हुँ। तर, सबैको मन जित्न त खोज्नुपर्छ नि! पार्टीभित्र सबै एकनाशको हुँदैनन्, मेशीनबाट निकालेको बोइलर जस्तो पनि मान्छे होइन। सबैलाई समेट्ने गरी उहाँले तयारी गर्ने हो भने म छोड्छु। बाबुरामजीलाई पनि तपाईं अध्यक्ष हुने हो भनेर मैले भनिसकेको छु, यो कुरा पार्टीका अरू साथीसँग पनि भनेको छु। तर, उहाँले अर्थाेक गर्दै हिंड्नुभयो भने त समस्या खडा हुन्छ नि!
बाबुराम र तपाईंले पार्टीका सबै नैतिक मापदण्डहरू आफूमा केन्द्रित गरेकाले समस्या आएको भन्ने लाग्दैन?
हामीले दुई जना मात्रै हुनुपर्छ भनेर भनेका पनि होइनौं। तर, गर्दा गर्दै यस्तो हुन गयो। जनता, कार्यकर्ताले पनि हामी दुई जनालाई सँगै हेर्न खोजे। दुई जनाले भनेपछि कार्यकर्ताले पनि चित्त बुझाए। त्यही कारण छलफल दुई जनामा बढी केन्द्रित भयो। 'कलेक्टिभ' छलफल भएन। त्यसले गर्दा अरू साथीहरू अलि टाढा हुने भए भन्ने अहिले महसूस हुन्छ। अरू नेता/कार्यकर्ताको भूमिकालाई अलि कम गरियो कि भन्ने लागेको छ।
व्यक्तिगत रूपमा आफैंलाई हेर्दा पनि के महसूस भएको छ भने म महामन्त्री भएँ एउटा समूहको। त्यो समूहलाई विघटन गराएर एकता केन्द्र बनाएँ र त्यसको पनि महामन्त्री भएँ। एकता केन्द्रमा संघर्ष भएर माओवादी बन्यो। माओवादीको पनि म नै महामन्त्री भएँ। जनयुद्ध शुरू भयो र २०५७ मा प्रचण्डपथ संश्लेषण भयो। त्यसको प्रवर्तकको रूपमा म देशभरि स्थापित भएँ। शान्ति प्रक्रियामा पछि संविधानसभाको पहिलो निर्वाचनमा भारी जित, गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएपछि मैले जे सोच्छु गलत हुँदैन भन्ने मलाई पर्यो, लगातार विजय मात्रै भएकोले। जनताले पनि हाईहाई मात्रै गरे। मलाई के लाग्यो भने आर्मी, ब्यूरोक्रेसी पनि मेरै हो। हारिन्छ जस्तो लाग्दै लागेन। सामान्य किसानको छोरो मिहिनेत गरेर सबैलाई मिलाएर लैजाने मान्छे थिएँ, म। सफलताले मलाई मनोगत र 'ओभर कन्पि्कडेन्ट' बनायो। जसले अरूप्रति अविश्वास गर्ने र अरूसँग छलफल गर्ने कुरालाई नजरअन्दाज गर्ने पनि बनायो भन्ने अहिले मलाई गहिरो 'फिल' भएको छ।
सबैलाई मिलाएर लैजाने क्रममा परिवार चाहिं छुटेको हो?
निर्वाचनको समीक्षा गर्दा संश्लेषण राख्ने क्रममा मैले भनेको छु, नजिककोलाई ध्यान नदिने मेरो कल्चर बन्यो। मेरो श्रीमतीले मलाई आलोचना गर्दै छोराछोरी पढाउनुपर्छ भन्ने मतलब नराखेको भन्ने गरेकी छिन्। राम्रो स्कूलमा राखौं भनेको भए सकिन्थ्यो। तर, मलाई मतलब भएन। त्यतिवेलाको लिडरसीपमा सबैभन्दा बेहाल मेरै परिवारको थियो। आफू जहाँ गएको छ उतै लगेको छ। पढाइको ठेगान छैन। पार्टी, आन्दोलन, क्रान्ति भन्दा बढी मेरो दिमागमा केही गएन।
तर, (भावुक हुँदै) मलाई परिवारले ठूलो सहयोग गर्यो। मेरो श्रीमती, छोराछोरी सबैले रुकुम, रोल्पा, भारतको कुनाकुनामा गएर साथ दिए। तर उनीहरूका लागि मैले गर्नुपर्ने जति गरिनँ। छोराछोरीका लागि गर्छु भनेको भए आन्दोलनमा अहिले गरे जति गर्न सक्दिनथें होला। तर, पश्चात्ताप भने छैन।
चुकें भन्ने त लाग्दैन। शिवनगरमा डेढ विघा जग्गा थियो। जनयुद्ध शुरू गर्ने वेलामा पार्टीको प्रमुख लिडरले बेचेर दिनुपर्छ भनेर दिएँ। केन्द्रीय समितिका साथीहरूले पनि दिनुभयो। जनयुद्धको वेलामा पार्टीले छोराछोरीको जिम्मा लिने कुरा पनि भएन। मलाई चुकें जस्तो त लाग्दैन तर सके जति गरिनँ भन्ने चाहिं लाग्छ। उनीहरूको पढाइमा ध्यान दिनुपर्थ्यो।
आफ्नो परिवार सम्हाल्न नसक्नेले देश कसरी सम्हाल्छ भन्दा परिवारको बेवास्ता गरेर गरिने राजनीतिले कहीं पनि पुर्याउँदो रहेनछ भन्ने लाग्दैन?
त्यस्तो त म मान्दिनँ। मेरो परिवारमा मेरो विरोधी कोही पनि छैन। जनयुद्धमा परिवारका सबैको समर्पण रह्यो। अहिले पनि साथ छ। पढाइ, आर्थिक व्यवस्थापन नभए पनि राजनीतिक व्यवस्थापन गर्न सकिनँ भन्ने लाग्दैन।
तपाईंका छोराछोरीले भोलि हाम्रा बुबाले आफ्नै लागि मात्रै गर्नुभयो भन्लान् भन्ने लाग्दैन?
भन्न त सकिंदैन। तर त्यो स्थितिसम्म मेरो परिवार पुग्दैन भन्ने विश्वास छ।
वैद्य समूहसँग पार्टी एकताको लागि तपाईंले अलिकति 'लेफ्ट–सिफ्ट' गरेको र बाबुरामले हेटौंडा महाधिवेशनबाट 'राइट–सिफ्ट' गरेकाले बढी अन्तरविरोध आए जस्तो लाग्दैन?
यो प्रश्न धेरै महत्वपूर्ण र अर्थपूर्ण छ साथै साँचो पनि हो। हेटौंडा महाधिवेशनको 'जनरल लाइन' बाट नभए पनि निर्वाचनको परिणाम आकलन गरेजस्तो नआएपछि त्यसको समीक्षा गर्ने सन्दर्भमा लेफ्टतिर जानुपर्छ भनेर मैले दस्तावेजमा पनि भनेको छु। हामीले आफ्नो क्लासलाई ध्यान दिएर उनीहरूको इन्ट्रेस्टलाई सम्बोधन गर्नुपर्नेमा क्लाससँगको सम्बन्ध कमजोर भयो। ठूला पूँजीपतिसँगको सहकार्य, खानपिन, उठबस धेरै भयो। त्यसैले हामी विचलनमा गयौं भन्ने मेरो समीक्षा छ।
राष्ट्रियतामा पनि संवेदनशीलता अनुसार जनपरिचालन गर्नुपर्नेमा हामीले कूटनीतिलाई बढी महत्व दियौं। तर, मेरो लेफ्ट टिल्ट मात्रै हो। जनयुद्ध, जनविद्रोहमा जाने संभावना छैन। शान्ति प्रक्रियालाई टुङ्ग्याएर निर्वाचनमा जानुपर्छ। शान्ति प्रक्रियामा आएपछि आफ्नो वर्गसँगको सम्बन्धलाई टुटाउनुपर्छ भन्ने पनि त छैन।
बाबुरामजीको चाहिं तपाईंले भने जस्तो हो कि होइन भन्ने हेर्नुपर्छ। अहिले नै म त्यस्तो आरोप पनि लगाउन चाहन्न।
२०६२/६३ को क्रान्तिपछि तपाईं लगायत नेताहरूको जीवनमा ठूलो परिवर्तन आए पनि जनताको जीवनमा आएन। नेताको लागि यही क्रान्तिले परिवर्तन ल्याउने तर जनताका लागि चाहिं अर्को क्रान्ति हुनुपर्छ भन्नु पाखण्ड भएन र?
नेतृत्व पंक्तिको जीवनमा रूप र सारमा परिवर्तन आउँदा जनताको जीवनमा परिवर्तन नआउने भएपछि अविश्वास बढ्नु अस्वाभाविक होइन। त्यसैले नेताहरूलाई कसरी तल फर्काउने भन्ने विषयमा केन्द्रीय समितिमा छलफल पनि भएको छ। जिल्लाका कार्यकर्ता र जनताले नेतालाई अनुमोदन गर्नुपर्छ। तर निरपेक्ष ढंगले नेता र कार्यकर्ता हिजो जस्तै भएर बस्न सक्दैनन्। पार्टीकै नीति अनुसार प्रधानमन्त्री भइसकेको मान्छेले बस्ने र सुरक्षाको न्यूनतम क्राइटेरिया मान्नै पर्छ।
निर्वाचनमा पराजय भोग्नु र वैचारिक हिसाबले झन्डै एमालेको बाटोमा पुग्नुले तपाईंलाई आफू असफल भएको लाग्दैन?
हारेको सेनाले युद्धको नियम बुझ्छ भनिन्छ। त्यस हिसाबले निर्वाचनको यो परिणाम पार्टी निर्माणका लागि सकारात्मक हुन सक्छ। अब हामीले निर्मम ढंगले आत्मसमीक्षा गर्दै आफ्नो कमजोरी हटाएर जनतासँग जोडिन लाग्नुपर्छ। ठीक शिक्षा लिएर अघि बढे यहींबाट अर्को विजय अभियान शुरू हुन सक्छ। र, त्यसो गर्न हामीले शुरू पनि गरेका छौं।
तर, हामी एमालेको बाटोमा जाँदैनौं। त्यता जाने हो भने एमालेसँग एकता हुन्छ। दुई वटा उस्तै वाम पार्टीको आवश्यकता छैन।
पार्टी भनेको विचार हो। विचारले समाजको निश्चित वर्गको हितलाई प्रतिबिम्बित गर्छ। एमालेको वर्ग समन्वयवाद कहिलेकाहीं कांग्रेस भन्दा पनि दक्षिणमा पुग्ने गरेको छ। भर्खर हामीबाट बाहिरिनुभएको वैद्यजीहरू भने असाध्यै जडतामा हुनुहुन्छ। ती दुई बीचमै हो, हाम्रो राजनीतिक स्पेस। हाम्रा केही कमजोरीले पराजित भए पनि त्यो स्पेस अहिले पनि कायम छ।
यो कुरासँग म सहमत छु। विस्तारै किरणजीहरू पनि त्यो रिलाइज गर्ने ठाउँमा आउनुपर्छ। घनश्यामजीहरू जस्ता मार्क्सवादको अध्ययन गर्नेहरू पनि त्यसमा आउनुपर्छ। एमालेदेखि वैद्यजीहरूसम्मको एउटै केन्द्र बन्नुपर्छ।
शान्ति प्रक्रियामा आइसकेपछि एमालेसँग दुई चार राउण्ड कुरा पनि भयो। सानो समूह बनाउँदा पनि राइट र लेफ्ट सेन्टर हुने भएपछि एकै ठाउँमा किन नबस्ने भने। केही डकुमेन्ट पनि तयार भए।
हेटौडा महाधिवेशनका निर्णय र माओवादबीच के समानता छ र माओवाद नछाड्नुभएको?
त्यो म मान्दिनँ। किनभने माओवाद भनेको मार्क्सवादको सार्वभौम सिद्धान्तलाई चीनको विशेषतामा ढालिएको हो। त्यसैले माओले मार्क्सवादको चिनियाँकरण भन्नुभयो। त्यसैले, हेटौंडा महाधिवेशनलाई मार्क्सवादको नेपालीकरण किन नभन्ने! नेपालको सामाजिक अवस्था, वर्ग संघर्ष र विश्व अवस्थामा यसरी मात्रै क्रान्ति अगाडि लैजान सकिन्छ भनेर किन नबुझ्ने!
तपाईंले प्रष्ट नबोल्नु र दोहोरो कुरा गर्नुलाई एउटा प्रमुख समस्या भनिन्छ नि?
मैले दोहोरो कुरा गरेको छैन। ममाथि समयमै 'ड्याङ' बोलेन भन्ने आरोप लाग्ने गरेको चाहिं स्वीकार्छु।
भारतसँग तपाईंहरूले राजनीतिक तहमा भन्दा एजेन्सीको तहमा मात्र संगत गर्नाले माओवादीलाई ड्यामेज गर्यो भनिन्छ नि?
कूटनीतिक ढंगले हल गर्न खोजियो भन्नुको अर्थ राजनीतिक सम्बन्धतिर गइएन भन्ने होइन। राजनीतिलाई प्रष्ट गरेर कूटनीति गर्नुपर्नेमा कूटनीति अन्तर्गत राजनीति भयो भन्ने मात्र हो। त्यसले धेरै 'सर्भ' गर्दो रहेनछ भन्ने शिक्षा पनि भयो।
अहिलेसम्म आफूले गरेको सबैभन्दा ठूलो राजनीतिक कमजोरी के हो भन्ने लाग्छ तपाईंलाई?
जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा सिद्धान्त र व्यवहारको हिसाबले पार्टीलाई तयार पारेर ल्याउने क्रममा नजरअन्दाज गर्नु ठूलै कमजोरी हुन गयो भन्ने मलाई लागेको छ। सैद्धान्तिक कुरालाई व्यावहारिक ढंगले समाधान गरेको भए मैले त्यो वेला सक्थें।
संघीय लोकतान्त्रिक गणतन्त्रपछि प्रधानमन्त्री बन्ने अवस्थामा शान्ति प्रक्रियाका सहयात्री दलहरूसँगको सहकार्यलाई 'मेन्टेन' गरेर संविधान बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्न सक्नुपर्थ्यो। तर, म छिटछिटो ठूल्ठूला परिवर्तन गर्नतिर बढी केन्द्रित भएँ। गिरिजाबाबुलाई राष्ट्रपति बनाउन भन्दा किन दिने राष्ट्रपति आफैंले लिन्छु भन्नेतिर लागें। सेनाका आठ जना हटाउने र प्रहरीमा पनि परिवर्तन गर्नेतिर लागें। त्यसले गर्दा १२ बुँदेका सहयात्रीसँग चाहिए स्तरको सम्बन्ध राख्न सकिएन। सबैभन्दा बढी गिरिजाबाबुलाई हर्ट भयो। त्यहींबाट चिजहरू ढलपलायो जस्तो लाग्छ।
कटवाल प्रकरण पनि अर्को तरिकाबाट हल गरेको भए संविधान बनाउन सहज हुन्थ्यो जस्तो लाग्छ। उनी तीन महीनापछि जानेवाला नै थिए। स्पष्टीकरण मागिसकेकोले आइन्दा नगर्नु भनेको मात्र भए हुनेथियो। कारबाही गर्नेतिर मात्रै गयौं। पार्टीकै निर्णय भए पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष भएको नाताले म नै बढी जिम्मेवार थिएँ।
दोस्रो संविधानसभाको निर्वाचनको क्रममा गरिएको निर्णयमा पनि थुप्रै कमजोरी भए। अलि बढी सब्जेक्टिभ भइयो। तर यी निर्णय गर्दा बाबुरामजी र म सँगै थियौं। बरु, अरू साथीहरूको आलोचना थियो। प्रधानमन्त्री, निर्वाचन आयुक्तबारे उहाँहरूको मतभेद थिए।
ओभर कन्पि्कडेन्स भइयो भन्ने भए पनि पश्चात्ताप चाहिं छैन। तर, पहिलो पार्टी हुन्छौं भन्ने विश्वास वस्तुगत हुन सकेन। संविधानसभाको चुनावको विकल्प पनि त हामीसँग थिएन। ठूलो पार्टीको अध्यक्षको हिसाबले संविधानसभा ल्याउन पहल गर्र्नै पर्थ्यो। अहिले संविधानसभा छ र कमसेकम देश एउटा ट्रयाकमा त छ।
तपाईंले सोच्नुभएको कुरालाई तुरुन्तै कार्यान्वयनमा लैजान उकास्ने कोही थिए कि, जस्तो कटवाल काण्ड वा तयारी नगरी शान्ति प्रक्रियामा आउने जस्ता कुरामा। फस्दै फस्दै त्यहाँ पुगियो भन्ने त लागेको छैन?
मलाई त्यस्तो चाहिं धेरै लाग्दैन, तपाईंले सोधेको स्तरमा। किनभने यो प्रक्रियामा आउने कुरा ठूलो ऐतिहासिक र चुनौतीपूर्ण हो भन्ने थाहा थियो। पेरु, टर्की, बर्मा जस्ता देशमा कम्युनिष्टहरू धरासायी भएका थिए। त्यसरी नजाने हो भने ध्वस्त हुन्छ भन्ने जानेरै आएको हो। शान्ति प्रक्रियालाई 'रिस्क' लिएरै टुंगो लगाइयो।
जस्तो गिरिजाबाबुलाई राष्ट्रपति बनाउन पाए हुन्थ्यो भन्ने भित्री मनमा आए पनि वरिपरिका साथीहरूले बनाउनुहुँदैन भनेपछि ठीकै छ भन्थे। तर, म अलि उदार भएको र प्रभोक गर्दा प्रभोक हुने गरेको भने साँचो हो।
कटवाल प्रकरणको वेला पार्टीभित्रको संघर्ष पनि चर्कियो। त्योभन्दा पहिला खरिपाटीमा ठूलो बहस पनि भएको थियो।
कटवाललाई कारबाही गर्नुभन्दा पहिला गिरिजाप्रसाद कोइरालाले तपाईंलाई यो मामलामा हात नहाल्नु भनेको सही हो?
सही हो।
खरिपाटीमा पार्टीको प्लेनम हुँदा तपाईंले आर्मीसँग सहयोग मागेको पनि सही हो?
त्यो चाहिं सही होइन।
देशको प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दा आर्मीलाई के गर्छ भनेर सोध्नुभएको थियो?
त्यही केही हुन्छ कि भन्ने चर्चा चाहिं चलेको थियो। प्रधानमन्त्री भइराखेको मान्छेलाई सेक्युरिटीले ध्यान त दिनै नै भयो। तर आर्मीको सहयोग चाहिन्छ भन्ने ठाउँमा म पुगेको थिइनँ। र त्यो कल्पना पनि गरेको थिइनँ।
चर्चा चाहिं चलेको हो?
चर्चा भन्दा पनि त्यहाँ कस्तो बहस चलेको छ, बहसमा के हुन्छ भन्ने कुरामा चाहिं ध्यान दिइएको थियो।
भृकुटीमण्डपमा भएको प्लेनममा पार्टीभित्र फजुल खर्च, अपारदर्शी, भ्रष्टाचार व्याप्त भयो भन्ने विषय उठेपछि आयोग बने पनि आयोगले एउटा पनि भ्रष्टाचारी फेला पारेन? यसलाई के भन्ने?
(हाँसो) आयोगले गम्भीर प्रकृतिको भ्रष्टाचार भनेकालाई स्पष्टीकरण सोधिएको छ। कारबाही पनि भएको छ। केही पार्टी छोडेरै गइसक्नुभएको छ।
पार्टीका महत्वपूर्ण नेताहरूले कैयौं ठाउँमा लगानी गरेका छैनन् भन्न सक्नुहुन्छ?
(गम्भीर हुँदै) ढुक्कसँग त भन्न सक्दिनँ। मेरो जानकारीमा चाहिं त्यो छैन।
त्यसलाई रोक्ने उपाय के हुन सक्छ? मुख्य नेतृत्वले नै संरक्षण दिन नसकेकाले यी समस्या आएको त होइन?
एकहदसम्म तपाईंको यो भनाइमा सत्यता छ। तर हामी सुधार्न बल गर्दैछौं।
आर्थिक समाज परिवर्तनका लागि बन्दूक चाहिंदैन भन्ने निष्कर्षमा पुग्नुभएको हो?
जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने र समाजवादी क्रान्तिको निम्ति रणनीति तयार गर्ने निष्कर्ष निकालेको छ, हेटौंडा महाधिवेशनले। त्यसका निम्ति आर्थिक उत्पादन र समृद्धिमा जोड दिनुपर्छ र समाजवादतिर जान सकिन्छ भन्ने पनि निर्णय गरेको छ। जनवादी क्रान्तिका बाँकी कार्यभार शान्तिपूर्ण ढंगले पूरा हुन्छ। तर समाजवादी क्रान्ति पनि शान्तिपूर्ण ढंगले हुनुपर्छ भन्ने निष्कर्षमा हाम्रो पार्टी छैन। त्यहाँ जनताको बल प्रयोगको आवश्यकता पनि पर्न सक्ने कुरालाई इन्कार गरिएको छैन।
हिंसात्मक बल प्रयोग?
बल प्रयोग भनेपछि हिंसात्मक र अहिंसात्मक भन्ने हुँदैन। जनताले बल प्रयोग गर्छन्, बस। शान्तिपूर्ण भनेको पनि त बल प्रयोग नै हो नि। शान्तिपूर्णमा पनि ढुंगामुढा र पुलिसको लाठीचार्ज हुन्छ। त्यसको अर्थ जनताको विद्रोह विना समाजवाद आउँदैन भन्ने हो।
बहुदलीयता, बहुलवादलाई दार्शनिक, सैद्धान्तिक रूपमै स्वीकार्नुभएको हो?
बहुलता भन्ने दार्शनिक मान्यतालाई हामीले स्वीकार गरेका छैनौं। राजनीतिक शक्ति सन्तुलन अनुसारको बहुदलीय प्रतिस्पर्धालाई भने हामीले स्वीकारेका छौं।
बहुलवादलाई अस्वीकार गर्नुपर्ने कारण के हो?
बहुलवाद भन्ने दार्शनिक मान्यता हो। यसले संसार, ब्रह्माण्ड युनिफाइड छ भन्छ। तर, हामी विपरीतहरूको एकत्वको रूपमा मान्छौं। हामी बहुलता मान्दैनौं।
एक वर्षभित्र संविधान बन्ला?
चुनावयताको चार महीनाको क्रियाकलाप हेर्दा एक वर्षभित्र संविधान बन्छ भनेर ढुक्क हुने स्थिति छैन।
तपाईंसँग कत्तिको परामर्श भइराखेको छ?
केही समयदेखि त परामर्श पनि भएको छैन। कांग्रेस र एमालेका साथीहरूको तरीकाले एक वर्षभित्र संविधान बन्ला भन्ने लाग्दैन।
तर, पार्टीहरू एकठाउँमा बसेर मिहिनेतपूर्वक छलफल गर्ने हो भने असम्भव भइसक्यो भन्ने पनि लाग्दैन।
स्थानीय चुनावको आवश्यकता रहेको साँचो हो। तर, ६ महीनामा संविधान बनाएर चुनाव गर्दा सहज हुन्छ भन्ने हाम्रो भनाइ छ। स्थानीय चुनावका क्रममा पार्टीहरूमा देखिने तिक्तता संविधान निर्माणमा प्रतिबिम्बित हुन सक्छ। तसर्थ अहिले संविधान निर्माण महत्वपूर्ण हो। समयको हिसाबले पनि अहिले निर्वाचन उपयुक्त छैन, दुई तीन महीनाअघि चुनाव घोषणा गर्नुपर्छ। त्यतिवेलासम्म प्रतिस्पर्धामा समय बित्छ।
फेरि, स्थानीय चुनाव गर्ने विषय अन्तरिम संविधानले परिकल्पना गरेको छैन। चुनाव गर्न शान्ति सम्झौता भन्दा पहिलाको ऐन प्रयोग गर्नुपर्छ। त्यो शान्ति सम्झौता र अन्तरिम संविधानको भावना र मर्म अनुसार हुँदैन।
११ बुँदे सहमतिमा यो तर्क किन नआएको?
(झोक्किंदै) ११ बुँदेको खण्डन चार बुँदेले गर्यो भनेर बुझनुपर्यो नि! त्यही भएर त उच्चस्तरीय राजनीतिक समितिले चारबुँदे गर्यो।
स्थानीय निर्वाचन एमाओवादीका लागि संगठन सुधार्ने मौका हो भन्ने लाग्दैन?
लाग्छ। सबैभन्दा बढी फाइदा हामीलाई नै हुन्छ। हाम्रा हजारौं होलटाइमर कार्यकर्तालाई व्यवस्थापन गर्न सक्छौं। तर संविधान निर्माण गरेर परिवर्तनलाई संस्थागत गर्ने हिसाबबाट हेर्दा चुनाव प्राथमिकतामा पर्दैन।
संविधानसभाकै हार दोहोरिन्छ भनेर त होइन नि?
त्यो तर्क पनि मान्छेले गर्न सक्छन्। त्यसलाई इन्कार गर्दिनँ। तर अघि भनेको तर्क महत्वपूर्ण हुन्।
एमाले महाधिवेशनको संघारमा छ। त्यहाँको विकासक्रम तपाईंका लागि कत्ति महत्वपूर्ण छ?
माथि भने जस्तो लेफ्ट र राइटको बीचमा हाम्रो स्पेस भएको हुनाले लेफ्ट र राइटमा हुने छलफल, महाधिवेशन हामीलाई महत्वपूर्ण हुन्छ। यो मैले एमालेको आठौं महाधिवेशनका वेला म प्रधानमन्त्री हुँदा नै बुझ्ोको थिएँ। आफूले चाहे जस्तो होस् पनि भनें। कम्युनिष्टहरूलाई ध्रुवीकृत गर्ने किसिमको महाधिवेशन होस् भन्ने मेरो र मेरो पार्टीको स्वार्थ हो। बुटवल महाधिवेशनमा चाहिं हामीले चाहे जस्तै भएको थियो।
तपाईंमाथि आक्रमण गर्ने एमाले पंक्तिमा अहिले विभाजन आएको छ। तपाईंको निम्ति रमाइलै भएको होला होइन?
लामो हाँसो।
तपाईंलाई पछिल्लो समय मिडियामा कम आए जस्तो लाग्दैन?
(हाँसो) कम आउने प्रतिबद्धता गरेको छु। पार्टीको काममा बढी समय दिने कोशिश गरेर हो। हिमाल हाम्रो र मेरो आलोचक भए पनि तपाईंहरूसँग कुरा गर्न मज्जा आउने भएकाले कुरा गरेको हुँ।