सुस्त-भयो

Share:
  

राजवाडी, दार्जीलिङका मणिकमल क्षेत्रीले नौ कक्षामा पढ्दा कलकत्ता झ्रेर हिन्दुस्तान रेकर्डिङ कम्पनीमा अरुणा लामासँग पाँच वटा युगल गीत रेकर्ड गरेको ५२ वर्ष भयो। त्यसयता निरन्तर संगीत र सांस्कृतिक फाँटमा क्रियाशील क्षेत्री अहिले झ्ापाको दमकस्थित नागरिक संगीत विद्यालयमा निर्देशक छन्। जेठापाकामा अरुणा लामा, कुमार सुब्बा, शान्ति ठटाल आदिदेखि पछिल्लामा उदय–मनिला सोताङ, रामकृष्ण ढकाल, जगदिश समालसम्मका गायक–गायिकाको संगीतकार बनेका क्षेत्रीलाई समयले दुई पुस्ताबीचको सेतु बनाएको छ। 


६४ वर्षीय क्षेत्री नेपाली गीत–संगीतको विशाल दार्जीलिङे विरासतबाट उठेका संगीतकर्मी हुन्। हीराकुमार सिंह, दलसिंह गहतराज आदिको जगमा नवीन वर्देवा, अम्बर गुरुङ लगायतका साधकहरूले उठाएको संगीत परम्परामा शरण प्रधान, रंजित गजमेर, रामानुज ठटाल, गोपाल–कर्म योञ्जन, जितेन्द्र वर्देवा आदि सिनियर, समकालीन र जुनियर कलाकारहरूसँग प्रेमपूर्ण स्पर्धा गर्न पाएका क्षेत्री अहिले अझ् नयाँ छिमलको स्वरमा अल्बम निकाल्न दमक–काठमाडौं गरिरहेका छन्। 

मजबूत जगबाट उठेको नेपाली गीत–संगीतलाई अहिले बजारले नराम्ररी प्रभावित पारेको छ। राजेश पायल राई जस्ता प्रतिभावान गायकले समेत गलाको शक्ति बिर्सेर बजारको नाममा 'नयाँ–नयाँ सांगीतिक हरकत'को सहारा लिइरहेको यो बेला उत्पादित (सिर्जित हैन) गीत–संगीतमा क्षेत्री सन्तुष्ट छैनन् भनेर सहजै अनुमान गर्न सकिन्छ। “बजारको माग र विदेशी प्रभावलाई हामीले कोट जसरी लगाउनुपर्छ, दौरासुरुवाल र टोपीमा सुहाउने गरी। कलाको पनि सूट नै बनाउँदा हाम्रो मौलिक परम्परा नासिएर जान्छ”, क्षेत्री भन्छन्, “अनि, हामीले कागजमा लेखेको जस्तो हरफलाई पनि गीत भन्दै संगीत भर्ने र गाउने कुरामा पनि पुनर्विचार गर्ने बेला भइसक्यो।” 

वरिष्ठ साधक क्षेत्री अहिले आधुनिक नेपाली गीतको लेखन, गायन र संगीत तीनै पक्षले पहिलाको वेग हराएको बताउँछन्। तीनै विधामा प्रतिभाहरू छन्, तर ती सबै कालजयी सिर्जनाको चिन्तन छाडेर बजारमा बगेका छन्। “मिडिया र म्युजिक हाउसहरू पनि गुण हैन, आफ्नो मान्छे हेर्छन्” क्षेत्री भन्छन्, “गीतको मात्र हैन, गजलको पनि बेहाल छ। नेपाली गजल लेखन उत्कृष्ट भए पनि संगीत पक्ष न हाँस न बकुल्ला भएको छ।” 

उनको भनाइमा, नेपाली गजलले कि शास्त्रीय कि त आधुनिक संगीत समात्नुपर्नेमा मुजरा वा कौवालीमा रमाएको छ। जस्तो, न बिसेर तिमीलाई ... गजलको लेख्य रुप गजबको भएर पनि संगीतले त्यसलाई मुजरा बनाएको छ। कुनै गीत वा गजल बजारमा चल्नु आफैंमा राम्रो कुरा हो, तर गुणवत्ताको हिसाबले गीत–संगीतको आफ्नै स्ट्याण्डर्ड हुन्छ। सबैको यत्न त्यो स्ट्याण्डर्ड प्राप्त गर्नलाई हुनुपर्ने क्षेत्रीको आग्रह छ। 

पश्चिम बङ्गाल सरकारको सूचना तथा संस्कृति विभागको निर्देशकबाट निवृत्त भएपछि संगीत कर्मले तानेर दमक ल्याएका क्षेत्रीलाई दार्जीलिङको चिन्ताले छाडेको छैन, छोड्दैन। हुनपनि, दार्जीलिङले एक से एक संगीतकर्मी जन्मायो तर, सबै कताकता उडी गए। पाका–पुरानामा अब त्यहाँ कर्म योञ्जन, शान्ति ठटाल, दुर्गा–बद्री खरेल, चन्दन रम्जेल, वसन्त क्षेत्री, दीप वाईवा मात्र बाँकी छन्। 

“तर, नयाँ छिमलका भाइबहिनीको सक्रियता उत्साहजनक छ, स्टुडियोहरू पनि खुलिरहेका छन्”, क्षेत्री भन्छन्, “त्यो ठाउँले बोकेको विरासत चाहिं सबैका लागि अलि ठूलै भारी भएको छ।” 

comments powered by Disqus

रमझम