२-८ चैत २०७० | 16-22 March 2014

झन् सुनसान

Share:
  
अविकासको पहिचान बदल्न सबभन्दा पहिले त स्थानीय नै लाग्नुपर्छ।

शब्द/तस्वीरः आरडी कुलुङ

संखुवासभाको तुम्लिङटार या खाँदबारीबाट अरुण नदीको कात्तिके पुल तरेपछि शुरू हुने अरुण उपत्यका–साल्पापास (कुलुपोङ्खो भञ्ज्याङ) भएर धेरै पटक हिंडेको छु। एडमण्ड हिलारी र तेञ्जिङ शेर्पा यही बाटो सगरमाथा गएका थिए। भूगोलविद् डा. हर्क गुरुङले पनि 'मैले देखेको नेपाल' मा यो प्रसिद्व पदमार्गबारे लेखेका छन्। सोलुखुम्बु जान गत पुस अन्तिम साता कुलुपोङ्खोपास पार गर्दा भने उत्तरी भोजपुर पूराका पूरा सुनसान थियो।

माओवादीले लडाईंसँगै सुनसान हुन थालेको यो क्षेत्रको उराठपनले सोलुको नेले बजारसम्म सडक आएपछि स्थायी हो कि भन्ने भ्रम दिइरहेको छ। यसपाला कात्तिके पुल तरेर कात्तिकेबजार भन्दामाथि पुगेपछि जता हेर्‍यो उतै निरवताले राज गरेको पाइयो। मझुवा, चालिसे, नागदह, खाटाम्मा, गोथेबजार, दोभाने, तेन्दो, साल्पाफेदी, जौबारी, गुराँसे र कुलुङपोङ्खोका सबै होटल–पसल बन्द भएछन्।

तीन दिनको यो बाटोमा पहिले यात्री र खच्चडहरूको ताँती लागेका हुन्थे। त्यसमा मिसिएको हुन्थ्यो, पूर्वी सोलुखुम्बुको महाकुलुङबाट तुम्लिङटार र्झ्ने भरियाको लस्कर। अहिले त बाटोमा एउटा मान्छे भेटिए अचम्म मान्नुपर्ने भएछ। नेलेमा बजार पाएका महाकुलुङवासी तुम्लिङटार र्झ्न छाडेपछि यो रुट पूरै निर्जन भएछ।

जौबारीकी फुरी शेर्पाले साल्पा मेलाको समयमा मात्र मान्छे देख्न थालेको नरमाइलो अनुभव सुनाइन्। यो क्षेत्रको विकासमा सरकारले ध्यान नदिंदा र स्थानीय बुद्धिजीवी तथा हुनेखानेहरूले आफ्नो गाउँ बनाउनुको साटो शहर पस्ने संस्कृतिलाई बढावा दिंदा उत्तरी भोजपुर दिनप्रतिदिन मूझारउँदै गएको खाटाम्माका एमाले कार्यकर्ता जीवन कुलुङले बताए।

अथाह सम्भावना

जलविद्युत्, पर्यटन, जडिबुटीजन्य वनपैदावार र कृषिमा उत्तरी भोजपुरले अथाह सम्भावना बोकेको छ। प्रसिद्ध धार्मिकस्थल साल्पा र सिलिचुङ यहीं छ। साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन गर्दा मात्र पनि यस भेगका १० प्रतिशत जनता रोजगार बन्छन्। भोजपुरको धेरै अलैंची र रुद्राक्ष उब्जाउने क्षेत्र पनि यही हो। नेपाली हातेकागजको कच्चा पदार्थ लोक्ता र अर्गेलीको त खानी नै भन्दा हुन्छ यसलाई। चौकीडाँडा, खाटाम्मा, कुलुङ, कुदाककाउले, दोभाने आदिलाई खाद्यान्न बाली र सुन्तला, किवी लगायतका फलफूलको भण्डार भन्दा हुन्छ। यहींको इर्खुवाखोलामा १० मेगावाटभन्दा बढी विद्युत् क्षमता भएको विद्युत् विकास विभागको वेबसाइटले बताउँछ।

समृद्धिको पहिलो ढोका भने सडकले खोल्नेछ। दोभाने–८ मा पर्ने साल्पाफेदीसम्म सडक पुर्‍याउने हो भने सोलुखुम्बुसँगको व्यापार बिउँतिएर यो क्षेत्रमा हेर्नलायक परिवर्तन आउनेछ। कुलुपोङ्खो भञ्ज्याङसम्म सडक पुग्दा त्यसले उत्तरी भोजपुरलाई सगरमाथा पर्यटनसँग जोड्नुको साथै खोटाङ, सोलुखुम्बु र भोजपुरबीचको अन्तर जिल्ला व्यापारलाई चुलीमा पुर्‍याउँछ। कुलुपोङ्खो भञ्ज्याङसम्म सडक पुग्दा साल्पापोखरी र सिलिचुङ चुचुरा जाने पर्यटक लाखतिर उक्लन्छ, त्यसले सोलुखुम्बुलाई पूर्वी तराईसँग जोड्ने भएकोले।

अहिले गाडी चलेको संखुवासभाको हेलुवाबेंसी वा चेवाबेंसीबाट साल्पाफेदी करीब ४० किलोमिटर उत्तर–पश्चिममा छ। हेलुवाबेंसीबाट बुम्लिङ, कुलुङ, चौकीडाँडा र दिङ्लाबाट नेपालेडाँडासम्म ट्रयाक खुलिसकेको छ। चौकीडाँडाबाट साल्पाफेदी २५ किलोमिटर जति होला। थप २५ किलोमिटर ट्रयाक खोलेर मोटरेवल बाटो बनाउँदा सोलु–भोजपुर सीमाको कुलुपोङ्खो भञ्ज्याङ जोडिन्छ। संखुवासभा–भोजपुर जोड्न तुर्केघाट पुल निर्माणाधीन छ। हेलुवाबेंसी–कुलुङ जोड्ने पनि पुल बनाउँदा अरू सहज हुनेछ।

अरुण उपत्यका–साल्पाफेदी–कुलुपोङ्खो सडक बन्दा भोजपुरको सात गाविसका २० हजार ६३७, पूर्वी सोलुखुम्बुको पाँच गाविसका २० हजार ९८२ र उत्तरी खोटाङको तीन गाविसका ५ हजार ८०२ गरी ४७ हजार ४२१ जनसंख्यालाई लाभ पुग्छ। यस दृष्टिले सडक नै उत्तरी भोजपुरको भाग्यरेखा हो। लघु जलविद्युत् आयोजनाबाट सामुदायिक विद्युतीकरणको उपाय पनि छँदैछ।

comments powered by Disqus

रमझम