२-८ चैत २०७० | 16-22 March 2014

रंगमा ढंग

Share:
  
- डा. सुमनराज ताम्राकार
होलीमा रंग खेल्दा ढंग पुगेन भने शत्रुता मात्र जन्मँदैन, अंगभंग पनि हुन सक्छ।

रंगहरूको पर्व होलीमा जबरजस्ती रंग दल्ने, लोलाले हान्ने, जाँडरक्सी र भाङ मिसाइएको चिजबिज सेवन गर्ने जस्ता विकृति भित्रिएको छ। यसले गर्दा मित्रता र भ्रातृत्वको यो पर्वलाई पछिल्ला वर्षमा विकृत बनाउँदै लगेको छ। होलीको वेला प्रहरी कार्यालयमा मुद्दा र अस्पतालमा बिरामीको संख्या बढ्नुले यही भन्छ। जथाभावी प्रयोग गरिने रंग र लोलाको कारण होलीपछि छालाको समस्या लिएर अस्पताल आउनेहरूको संख्या ह्वात्तै बढ्ने गरेको छ। यसको अलावा आँखा, कान र अरू चोटपटकको समस्या पनि उल्लेख्य हुन्छ।

रंगमै छ समस्या

सांस्कृतिक पर्व होली मनाउने तौरतरिकामा आएको विकृतिको समस्या आफ्नो ठाउँमा छँदैछ। त्यसबाहेक पनि, आजकल पहिले जस्तो प्राकृतिक वा शुद्ध रंग पाइँदैन। बजारमा पाइने रंगहरूमा माटो, चुन, सिसा, अभ्रख र केमिकल मिसावट हुन्छ। रंगमा मिसाइएका रसायनले गम्भीर खालको स्वास्थ्य समस्या निम्त्याउँछ। जस्तो, कालो रंगमा हुने लिड अक्साइडले मिर्गौलालाई, हरियो रंगमा हुने कपर सल्फेटले आँखालाई, वैजनीमा हुने क्रोमियम आयोडाइडले श्वास–प्रश्वास प्रणालीलाई, सेतोमा हुने आल्मुनियम ब्रोमाइडले क्यान्सरको खतरा गराउँछ। त्यस्तै, रातो रंगमा हुने मर्करी सल्फेटले छालाको क्यान्सर गराउन सक्छ। धेरैजसो रंगमा छालाको लागि निकै हानिकारक मानिने जिन्क क्लोराइड मिसाइएको हुन्छ। कतिपय रंगमा हुने सिलिका वा एस्बेस्टसले क्यान्सर गराउन सक्छ।

बलजफ्ती रंग दल्ने क्रममा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, दम र ब्रोङ्काइटिस बल्झिने समस्या पनि हुन्छन्। आत्तिएर रंगले सर्किंदा रसायनयुक्त खाद्यनली र फोक्सोदेखि मुटु र मिर्गौलासम्म सोझ्ो असर पुग्छ। रसायनयुक्त रंगले छाला सुक्खा हुने, डाबर आउने, जलन हुने, चाया बढाउने, छालाको रंग परिवर्तन हुने लगायतका समस्या ल्याउँछ। जीर्ण खालको छालाको समस्या वा एलर्जी भएकाहरूलाई त सामान्य रंगले पनि असर गर्छ।

रसायनयुक्त रंग छिरेपछि आँखा माड्ने क्रममा नानीमा चोट पुग्छ। रंग खेलेपछि आँखा रातो हुने वा दुख्ने समस्या भयो भने सम्बन्धित विशेषज्ञको सल्लाह लिन विल्कुलै ढिलो गर्नुहुँदैन। कतिपय छुल्याहाहरूले रंगमा जलेको मोबिल, तेजाब लगायतका घातक रसायन मिसाएका हुन्छन्। त्यस्तो लोलाले आँखामा भेट्यो भने त्यसको परिणाम के होला? त्यसकारण, इच्छा नभएका र सवारी साधन चलाइरहेकाहरूलाई बिर्सेर पनि रंग वा लोलाले हान्नुहुँदैन।

होलीमा आफैं अग्रसर भएर रंग खेल्नेहरूले पनि टल्किने खालका रंग छुनै हुँदैन र टाउकामा क्याप तथा शरीरको अधिक भाग ढाक्ने लुगा लगाउनुपर्छ। हातगोडा लगायतका शरीरका खुल्ला हुने भागमा सन ब्लक क्रिम, भ्यासलिन र टाउकोमा तेल लगाउनुपर्छ। शरीरभरि तेल घसेर होली खेल्नु अझ् बुद्धिमानी हुन्छ। खेलिसकेपछि तुरुन्तै नुहाउनुपर्छ। नुहाउँदा नरिवल तेल र कपासले शरीरको रंग हटाएपछि नरम खालको साबुन प्रयोग गर्नुपर्छ। त्यसक्रममा आँखालाई सफा पानीले पखाल्न बिर्सनुहुँदैन।

comments powered by Disqus

रमझम