२-८ चैत २०७० | 16-22 March 2014

गाडी बोक्ने धनबहादुर

Share:
  
भीमफेदीबाट काठमाडौंसम्म गाडी बोकेर ल्याउने पुस्ताका धनबहादुर थोरै जीवितमध्येका एक हुन्।

सुरजकुमार भुजेल
राणाकालमा मकवानपुरको भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउनेमध्येका एक धनबहादुर गोले (८९) अहिले मकवानपुरको चित्लाङ गाविस–१ मा नातिनीको घरमा बस्छन्। 'गाडी बोक्ने बूढा' भनेर चिनिने झ्न्डै पौने ६ फिट अग्ला उनका 'कोदे' भनिने नाइके र सहयात्रीहरू मार्खुका जयबहादुर घिसिङ, सर्वाङका कान्छा वाइवा र तसरका वाइवा थरका अर्का व्यक्तिको मृत्यु भइसकेको छ।

१७ वर्षको उमेरदेखि गाडी बोक्न थालेका धनबहादुरले पहिलो पटक ६४ जनाको टीममा सानो गाडी बोकेर काठमाडौं पुर्‍याउँदा नाइके मार्फत राणाबाट ६० आना (पैसा) बक्सिस् पाएका थिए। त्यसपछि उनले झ्न्डै ३० वटा गाडी त्यही बाटोबाट काठमाडौं पुर्‍याए।

त्यो वेला गाडीलाई चार कुनामा लामा/लामा नोल बाँधेर एकातिर ८ जनाका दरले २४, १६ जनाको दरले ६४ र २४ जनाको दरले ९६ जनाले काँधमा बोक्थे। बोक्न लाग्ने भरियाको संख्या अनुसार त्यो वेला गाडीलाई ३२, ६४ र ९६ मोडलको भनिने गरेको धनबहादुर सम्झ्न्छन्। उनका अनुसार, ७ देखि १२ दिन लगाएर भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरिहुँदै काठमाडौं पुर्‍याउँदा एक जना भरियाले ५ आना पाउँथे। त्यसरी भरिया लगाएर गाडी काठमाडौं पुर्‍याउने चलन २०१३ मा त्रिभुवन राजपथ बनेपछि हटेको थियो।

गह्रौं मोटर बोकेर पहाडको बाटो हिंड्नुपर्ने हुँदा त्यो वेला सबै भरियाले परालको चप्पल लगाउँथे। भीमफेदीबाट काठमाडौं गाडी पुर्‍याउँदा दुई जोर चप्पल फाट्ने गरेको र चप्पल फाटेको ठाउँमै पराल खोजेर आफैंले अर्को चप्पल बनाउने गरेको उनी सम्झ्न्छन्। लामो समय परालको चप्पल लगाएका उनले १० वर्षअघि मात्र रेडिमेड चप्पल र कपडाको जुत्ता लगाउन थाले। जाडोले खुट्टा फुट्न थालेपछि उनी अचेल बुट जुत्ता लगाउँछन्।

उमेरमा तीन वटी पत्नी भित्र्याएका धनबहादुर एउटीले छाडेर हिंडेको र दुइटीको मृत्यु भएकाले अहिले एक्लै छन्। दुई छोरामध्ये एक जना मकवानपुरको बज्रबाराहीमा घर बनाएर बसेका छन् भने विदेशबाट बिरामी भएर फर्केका अर्का छोराको केही महीना अघि मृत्यु भयो।

सुरजकुमार भुजेल, मकवानपुर

comments powered by Disqus

रमझम