२०१० सालमा स्थापित घन्टे देउराली उमाविमा अहिले आरुचौर बाहेक छिमेकी पर्वतका फलामखानी र भगेराका समेत विद्यार्थी आउँछन्। गुरुङले विद्यालयको भौतिक पूर्वाधार मात्र होइन, पढाइको गुणस्तर सुधार्न र गरीब तथा जेहेन्दार विद्यार्थीलाई पढ्न सहज होस् भनेर रु.५ लाखको अक्षयकोष समेत स्थापना गरेका छन्। यो कोषबाट एक जना उत्कृष्ट विद्यार्थीले वार्षिक रु.२० हजार पाउँछन् भने एक जना छात्राले रु.५ हजार। विद्यालयमा कुनै छात्रा उत्कृष्ट भइन् भने उनैले रु.२५ हजार पाउँछिन्। शैक्षिक विकास विना देश विकास नहुने भएकोले आफूले कमाएको पैसा शिक्षामा लगानी गरेको गुरुङ बताउँछन्। निजी खर्चमा घोडेटोबाटो बनाएर समाजसेवा थालेका उनले पर्वतको फलामखानी निमावि र घण्टरी निमाविमा रु.१–१ लाखको अक्षयकोष खडा गरिसकेका छन्। उनी अन्य केही विद्यालयमा पनि रु.१० लाख जतिको अक्षयकोष स्थापना गर्ने तयारीमा छन्।
सन् १९४८ मा ब्रिटिश–गोर्खामा भर्ती भएका गुरुङ नै घन्टे देउरालीमा छोरी पढाउने पहिलो अभिभावक पनि हुन्। छोरीलाई पहिलो पटक एसएलसी दिन गाउँ बाहिर पठाउँदा 'यो बुढाले के गर्न खोजेको' भन्दै गाउँलेले कुरा काटेेको उनी सम्झ्न्छन्। त्यति मात्र होइन, पछिल्लो समय विद्यालय भवन बनाउँदा कतिपय गाउँलेले 'तपाईंका छोराछोरी यहाँ पढ्दैनन्, बुढेसकालको रकम किन खर्च गर्नुहुन्छ' भनेर सम्झ्ाउन खोजेको उनी बताउँछन्। “तर, मेरो सोचाइको किसिम फरक खालको थियो”, गुरुङ भन्छन्, “अनि धमाधम काम सकेर ८४ वर्ष पुगेको अवसरमा बेलायत र हङकङमा रहेका छोराछोरीलाई समेत बोलाएर विद्यालय भवन उद्घाटन गरें।”
बुबाले गाउँको शिक्षामा गरेको सहयोगबाट छोराछोरी पनि खुशी छन्। काठमाडौंमा रहेकी छोरी कमला बुबाको कामले गर्दा आफूहरूलाई पनि समाजसेवामा लाग्न प्रेरणा मिलेको बताउँछिन्।
रामजी दाहाल