२००३ सालको हिउँदमा सपत्नी भारत जाँदै गरेका भीरकोटे राजा तारकबहादुर शाहले कुनै स्टेसनमा गरम चायवालालाई चियाको आदेश दिएछन्। राजा साहेबका चाँदीका कपमा चिया राखेर छोक्रा फाल्न लाग्दा राजाले 'त्यो किन झिकेको?हाल्! ठाडै ठग्ने?' भन्दै सात्तो टिपेछन्। दुवै कपमा बराबरी छोक्रा हालिदिएपछि राजा साहेबले ढुक्क हुँदै सँगै यात्रारत नरेन्द्रनाथ रिमाललाई भनेछन्, “देख्यौ बाजे, मरेको मधिशेले ज्यूँदो नेपालीलाई ठग्छ भनेको यही होइन त?”
यो प्रसङ्ग कविराज नरेन्द्रनाथका छोरा अरविन्द रिमालको '१९९७ सालदेखि २०१७ सालः एक अवलोकन' पुस्तकमा छ। अंग्रेजीमा बीए तारकबहादुर शाहले यो अनौठो वर्ताव किन गरे, बुझ्न गाह्रो छ। ठूला राजनीतिक खेलाडी बनेका उनका जेठा छोरा हृषीकेश शाह (१९८२–२०५८) पनि जीवनमा अनेक विवादास्पद वर्तावका कारण चर्चित रहे। मौका अनुसारको चाल र बेलगाम बोलीका कारण चर्चामा रहिरहने शाहले आत्मकथा 'प्रारब्ध र पुरुषार्थ' मा आफ्नो जीवनवृत्तिबारे इमानदार बयान दिएका छन्। उनले आफूलाई टिपेर नेपाली कांग्रेसको महामन्त्री र राजदूत बनाउने बीपी कोइरालालाई थुन्न राजा महेन्द्रको प्रमुख गोटी बनेको मात्र हैन, महेन्द्र विरुद्ध उनकै भाइ वसुन्धरालाई उक्साएको, मेग शेफिल्ड नामकी श्वेताङ्गनासँग विवाहेत्तर यौनसम्बन्ध राखेको लगायतका कुरा पनि बताएका छन्।
राणाशाही विरोधी क्रान्तिका योद्धा रहेका शाह नै भए आधुनिक युगको थप ३० वर्ष मुलुकलाई कज्याउने पंचायती संविधानका रचनाकार पनि। राजा महेन्द्रले अधिकतम उपयोग गरेका विद्वान् शाह आत्मकथामा आफ्नो स्वभाव अनुसार एकदमै अनौपचारिक र कतैकतै त बिछट्टै हुने गरी प्रस्तुत भएका छन्। उनले महेन्द्रले चाँडो नेपाल बनाउन २०१७ को कदम चालेको, विन्तीपत्र हालेर जेलको वाच टावरबाट युवराज वीरेन्द्रको बिहे हेरेको, जुद्धशमशेरले हप्काउँदा सल्यानी राजा गेहेन्द्रबहादुर शाहको सातो गएको, वीरेन्द्रले झन्डै ज्ञानेन्द्रको ज्यान लिएको, लैनचौरको भाषणमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले पहाडमा बस्नेहरुको बुद्धि कम हुन्छ भनेको आदि अनेक प्रसंग खोलेका छन्। २०२६ सालमा राष्ट्रिय पंचायत सदस्य हुँदा थुनिएको बयान गर्दै शाहले भनेका छन्, “महेन्द्रले घुँडासम्म पानी आउने छिंडीमा लगेर राखे। त्यही ठाउँमा बीपीलाई मोहनशमशेरले र योगी नरहरिनाथलाई वीरेन्द्रले थुनेका थिए। त्यसको तस्वीर खिचेर बीपी र मैले गर्लफ्रेन्डहरुलाई पनि बाँड्यौं।”
वयोवृद्ध बाबु विरुद्ध अंशमुद्दा हालेर सामाजिक अवगाल खेपेका शाहले राजा महेन्द्रले दिएको तक्मा बेचेर खाएको उल्लेख गर्दै आफ्नो फटेहाल स्थितिबारे भनेका छन्, “यत्रो ठूलो संसारमा मेरो नाउँमा एक धुर जमीन छैन। बाघको छाला, बन्दूक र किताबहरु मात्र छन्, मेरो यस घरमा।” शाहले जीवनमा धेरै चरा मारेको र महेन्द्र महाराजाधिराजलाई खुशी पार्न नसकेकोमा भने पछुताउ मानेका छन्।
महत्वपूर्ण प्रसङ्गहरु अपुरो हुनु वा छुट्नु यो आत्मकथाको सबभन्दा ठूलो कमजोरी हो। र पनि, धुमधामको जीवन बाँचेका शाहको स्मरणशक्तिलाई वार्धक्य र रोगले विशृङ्खलित बनाउन लागेको वेला काम थालेर यो रूपको किताब निकाल्न यसका टिपोटकर्ता, सम्पादक र प्रकाशकले ठूलो मिहिनेत गरेको बुझिन्छ।
आनन्द पी राई