२-८ चैत २०७० | 16-22 March 2014

राजकुमारी केकी

Share:
  

पछिल्लो पुस्ताकी प्रतिभाशाली नायिका केकी अधिकारी (२५) १७ फागुनदेखि रंगमञ्चबाट चर्चामा छिन्। काठमाडौंको थिएटर भिलेजमा मञ्चन भइरहेको ऐतिहासिक नाटक चारुमती मा उम्दा अभिनयका कारण प्रशंसित छिन्। सम्राट अशोकको नेपाल यात्रामाथि संस्कृतिविद् सत्यमोहन जोशीले लेखेको र रंगकर्मी विमल सुवेदीले निर्देशन गरेको नाटकमा केकी अशोकपुत्री राजकुमारी चारुमतीको भूमिकामा छिन्।

चार वर्षअघि स्वर बाट डेब्यु गरेकी केकीका सात वटा फिल्म प्रदर्शनमा आइसकेका छन्। रंगमञ्चमा यो उनको पहिलो अभिनय हो। “कोर्ट मार्शल, ओ स्टार दुनियाँ लगायतका केही नाटक हेर्दा मलाई पनि काम गरौं–गरौं लागिरहन्थ्यो, चारुमतीको लागि अफर आउँदा छोड्ने कुरै भएन”, केकी भन्छिन्, “नाटकलाई सिक्ने अवसरको रूपमा पनि लिएकी छु।”

फिल्ममा जस्तो दर्शकले क्लोजअपमा नदेख्ने र एउटै फ्रेममा 'लाउड एक्सप्रेसन' दिनुपर्ने उनका लागि नौलो अनुभव रह्यो। टेलिभिजनको नृत्य प्रतिस्पर्धाबाट रंगीन संसारमा आएकी केकी क्लोजअप टुथपेष्टको विज्ञापन मार्फत चिनिएकी हुन्। पुराना रंगकर्मी तथा फिल्म निर्देशक बद्री अधिकारीकी छोरी उनलाई नेपाली फिल्मी क्षेत्रकी आशलाग्दो नायिकाको रूपमा लिइन्छ। श्री ५ अम्बरे नामक फिल्मको तयारीमा रहेकी केकीको माई प्रमिश प्रदर्शनको तयारीमा छ। फिल्मतिर निरन्तर काम गर्ने योजना भए पनि नाटकबारे धेरै नसोचेकी उनी भन्छिन् “म त अहिले जे छ त्यसैमा रमाउँछु।”

शब्द/तस्वीरः अनुशील

comments powered by Disqus

रमझम