२-८ चैत २०७० | 16-22 March 2014

डुबाए संयोजकले

Share:
  
- ऋषिराम कट्टेल
ठेट नेपाली गीत–संगीत र नाचका लागि कहलिएको नेपाल पुलिस क्लबको सांस्कृतिक शाखालाई डुबाउन अझै सक्रिय छन्, संयोजक ध्रुवरत्न हाडा।

तस्वीरः नेपाल प्रहरी
नेपाल पुलिस क्लबका प्रहरी कलाकारहरु कार्यक्रम प्रस्तुत गर्दै।
७५ जिल्लाका मौलिक गीत, संगीत र नृत्य प्रस्तुत गर्ने नेपाल पुलिस क्लबको सांस्कृतिक शाखालाई कुनै समय नेपालीपनको प्रवर्द्धक मानिन्थ्यो। गाउँ–गाउँका मौलिक प्रस्तुतिको सवालमा राष्ट्रिय नाचघरदेखि तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानसम्म यो शाखाका प्रशंसक थिए। प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रहिसकेका चलचित्रकर्मी नीर शाह अरू कलाकार आँखा चिम्लेर आधुनिकतातिर लागेका वेला पनि प्रहरीले 'टिपिकल' नेपाली संस्कृति संरक्षण गरेको बताउँछन्।

तर, अब अवस्था त्यो रहेन। मौलिक नेपाली गीत–संगीत/नृत्यको पर्याय मानिने नेपाल पुलिस क्लबको सांस्कृतिक शाखा नाममात्रको हुन पुगेको छ। पूर्व प्रहरी उपरीक्षक (एसपी) धु्रवरत्न हाडाको बढ्दो मनपरीसँगै सांस्कृतिक शाखाको अधोगति शुरू भएको प्रहरी कलाकारहरू बताउँछन्। “पहिले पुलिस क्लबको कलाकार भनेर गर्व गरिन्थ्यो”, क्लबमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, “अहिले त फिल्मी डान्स गर्नुपर्ने लाजमर्दो अवस्था छ।”

राम्रा जति पाखा

मौलिक नेपाली गीत–संगीत भनेर जीवन अर्पेका भए पनि चाकडी नबजाउनेलाई संयोजक हाडाले पाखा लगाएपछि शाखा 'डिस्को डान्स गर्ने ठाउँ' बन्न पुगेको प्रहरी कलाकारहरूको भनाइ छ। कुनै समय गोपाल योञ्जन, दिव्य खालिङ जस्ता संगीत साधकहरूले यही शाखामा बसेर अमर काम गरेको बताउँदै प्रहरी निरीक्षकबाट निवृत्त भएका कलाकार छत्र गुरुङ भन्छन्, “यस्तो संस्थाले पहिचान गुमाउँदै गएको देख्दा साह्रै दुःख लाग्छ।”

पुलिस क्लबको सांस्कृतिक शाखा संयोजक तथा पूर्व प्रहरी उपरीक्षक ध्रुवरत्न हाडा।

कलिलो तामालाई, सोध रामलाई.. लगायत दर्जनौं लोकगीतका गायक छत्र गुरुङ नृत्य कलाकारहरू स्व. राजपाल थापा, सानेबहादुर राना, गायक/संगीतकार स्व. पदम विष्ट, नृत्यकलाकार विना केसी, सविना गुरुङ, गायक प्रेम लोप्चन, बलवीर थापा, पूर्ण नेपाली, अभिनेत्री मिथिला शर्मा, गायिका मीरा राणा, संकलक बुद्धि परियार आदि पनि यो शाखामा थिए। तर, एसपी हाडा आएपछि धेरैजसो राम्रा कलाकारलाई छोड्न बाध्य पारिएको बताइन्छ। निरीक्षकबाट गत वर्ष अवकाश पाएकी सविता गुरुङ भन्छिन्, “शाखामा हाडा पीडित कलाकारको समूह ठूलै छ।”

२०५६ मा एसपीबाट अवकाश पाएका हाडाको क्लबमा ठूलो रजगज छ। कलाको हिसाबले उनी हास्यकलाकार हुन्। हाडाको मनोमानीले 'टिपिकल' नेपाली नृत्य र गायनमा कहलिएका प्रेम लोप्चन, इन्द्र गुरुङ लगायतका कलाकारहरू शाखा छोड्न बाध्य भएका थिए। प्रहरी संगठनले नै संगीत पढ्न मुम्बईको गन्धर्व संगीत महाविद्यालय पठाएका संगीतकार मनोज सिंहले पनि डिग्री गरेर फर्किए लगत्तै क्लबबाट लखेटिनुपर्‍यो। अहिले बौद्धस्थित सामुदायिक प्रहरी इन्चार्ज रहेका सिंह भन्छन्, “म जस्ता पीडित कलाकार थुप्रै छन् शाखामा, धेरै त निस्किसके।”

नृत्यमा कहलिएका सानेबहादुर रानालाई पनि हाडाले जागीर छोड्न बाध्य बनाएको कलाकारहरू बताउँछन्। संयोजक हाडा भने आफूले क्लबमा धेरै राम्रो काम गरेको दाबी गर्छन्। राम्रो नाच्नेलाई राम्रो स्थान दिंदा अरूले विभिन्न आरोप लगाएको बताउँदै उनले भने, “सबैको चित्त बुझाउन कसैले सक्दैन, मैले पनि जस पाइनँ।”

मनोमानीको हद

सशस्त्र प्रहरी र नेपाल प्रहरीका कलाकार टोली वर्षेनि पालैपालो कार्यक्रमका लागि सिंगापुर पुलिसमा जान पाउँछन्। तर, हाडाले चाकडी नगर्ने र नजराना नकबोल्नेलाई कहिल्यै मौका नदिने प्रहरी कलाकारहरू बताउँछन्। “सशस्त्रका कलाकार जाँदा त्यहीं धेरै रकम पाउँछन्, हामीलाई चाहिं अत्यन्त थोरै दिइन्छ”, एक प्रहरी हबल्दार भन्छिन्, “पूरै मनपरी गर्नुभा'छ हाडासा'पले। गत वर्ष त प्रहरी कलाकारलाई पाखा लगाउँदै बाहिरका मान्छे लैजानुभयो।” कलाकारहरूका अनुसार संयोजक हाडाले पुलिस क्लबको नियमित कार्यक्रमको हिसाब–किताबमा पनि मनपरी गर्दै आएका छन्। पहिले क्लबका कलाकारहरूले विभिन्न जिल्लामा कार्यक्रम गरेर जम्मा गरेको वार्षिक ५०–५५ लाख रुपैयाँ प्रहरी अस्पताल र प्रहरी स्कूलमा जान्थ्यो। अहिले त्यस्तो कार्यक्रम हुनै छाडेको छ। हाडाले विगतमा ६ महीनासम्म विदेश बसेका कलाकारहरूलाई पनि शाखामै रहेको प्रहरी संगठनलाई देखाउँदै भत्ता र राशन आफैं लिने गरेको स्रोतको दाबी छ। जबकि, प्रहरी सेवामा एक महीना भन्दा बढी विदामा बस्न पाइँदैन।

सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै प्रहरी कलाकार।
“विदेशबाट उपहार पठाउने र यहाँको राशन–तलब छाडिदिने धेरैको जागीर जोगाइदिनुभएको छ, हाडासा'पले”, एक प्रहरी सहायक निरीक्षक भन्छन्।

ती सहायक निरीक्षकका अनुसार, हाडाले मिलाएर दुबई वा अरू ठाउँमा पठाएका कलाकारहरूबाट नजराना र सम्बन्धित एजेन्टबाट कमिशन लिने गरेका छन्। २०६४ सालमा कलाकारहरूलाई दुबई पठाउँदा चाहिं हाडालाई ठूलो घाटा परेको बताइन्छ। त्यसवेला उनले कालीमाटीस्थित हेभी डान्स कल्चर सेन्टरका राजेन्द्र केसीसँग मिलेर दुबई पठाएका सात प्रहरी कलाकारमध्ये डिकमाया (विनुपा) पौडेलको उहीं रहस्यमय मृत्यु भएको थियो। मृत्यु हुनुभन्दा केही दिनअघि आफूलाई यौनजन्य क्रियाकलाप गर्न लगाएको विनुपाले बताएको उनकी दिदी अनुपाले बताएकी थिइन्। त्यतिवेला विनुपाका परिवारले कालीमाटी प्रहरीमा दिएको उजुरीलाई निष्त्रि्कय पार्न पूर्व एसपी हाडाले ठूलो कसरत र आर्थिक चलखेल गर्नुपरेको सांस्कृतिक शाखाका पुराना कलाकारहरू बताउँछन्।

हाडाको व्यवहारबाट आजित भएका प्रहरी कलाकारहरूले गत वर्ष डीआईजी विनोद सिंहलाई लिखित उजुरी दिएका थिए, क्लब ध्वस्त भयो भन्दै। तर कुनै सुनुवाइ नभएको कलाकारहरू बताउँछन्। प्रहरी प्रवक्ता गणेश केसीले सांस्कृतिक शाखामा धेरै व्यवस्थापकीय कमजोरी देखिएपछि हालैबाट प्रहरी संगीत विद्यालयले रेखदेख गर्न थालेको बताए। तर, संगीत विद्यालयले हेर्ने भने पनि शाखा संयोजक हाडा नै छन्। यसबाट शाखा उँभो लाग्नुको साटो दुईतिरको चेपुवामा परेको कलाकारहरू बताउँछन्। अहिले ४६ जना प्रहरी कलाकार रहेको शाखाले सही नेतृत्व पाएको खण्डमा नेपाली मौलिक गीत–संगीत र नृत्यको सम्वर्द्धनमा टेवा पुग्ने सम्भावना भने हराएको छैन।

comments powered by Disqus

रमझम