कम्पनीले ४० जनालाई तालिम दिइसकेको सीता थापाले बताइन्। नेपाली र्याफ्टिङमा महिलाको सहभागिता कमै छ। 'म सक्दिनँ' भन्ने मानसिकताका कारण पनि काम शुरू नगर्दै पछाडि हट्नाले र्याफ्टिङमा महिलाको उपस्थिति कम भएको सीता बताउँछिन्। यस्ता जोखिमपूर्ण काममा परिवारको साथ पनि कमै हुन्छ। “कतिले विवाहपछि र्याफ्टिङ छाडेका छन्”, सीता भन्छिन्।
जोखिम जहाँ पनि
पाँच वर्षसम्म र्याफ्टिङ सहयोगीको काम गरेकी सीतासँग यो क्षेत्रमा तितो–मीठो अनेक अनेक अनुभव छ। गत वर्ष र्याफ्टिङमा आएका महिलाहरु नै आफूसँग सवार हुन नमानेको बताउँदै उनी भन्छिन्, “महिलाले चलाएको र्याफ्टमा चढ्न डराएर उनीहरु अर्कैतिर गए।”
महिलाले जोखिमपूर्ण काम गर्न सक्दैनन् भन्ने सोचका कारण शुरूमा काम गर्न निकै कठिन परेको उनी बताउँछिन्। पोखराका तालहरुमा डुङ्गा देखेर र्याफ्टिङमा आकर्षित भएकी उनी सन् २००८ मा ४५ दिनको आधारभूत तालिम लिएर व्यावसायिक बनेकी हुन्। उनीसँग सेती खोलामा कायाकिङ गरेको अनुभव पनि छ।
त्रिशूली, सेती, भोटेकोशी र कालीगण्डकीमा र्याफ्टिङ सहयोगीको काम गरेका यी चार चेली अहिले गाइडको रूपमा रमाइरहेका छन्। उनीहरुले ४० जनालाई र्याफ्टिङ र कायाकिङको तालिम पनि दिएका छन्। काममा यति अनुभवी भइसके पनि समस्या छ विश्वासको। खास गरेर स्वदेशी पर्यटकहरुले महिला र्याफ्टरलाई नपत्याउने बताउँदै ऋतु भन्छिन्, “हामीले पाइला―पाइलामा परीक्षा दिनु परिरहेको छ।”
र पनि, उनीहरुको कम्पनी मज्जाले चलेको छ, कामको खाँचो छैन। काठमाडौंबाट र्याफ्टिङ गर्न जाने आन्तरिक पर्यटकलाई उनीहरु रु.२००० र विदेशीलाई रु.३००० चार्ज गर्छन्। चार चेलीले त्रिशूली, भोटेकोशी वा कालीगण्डकीमा र्याफ्टिङ गरेर एकै दिनमा काठमाडौं फर्कने राम्रो प्रबन्ध मिलाएका छन्। त्रिशूलीमा वर्षभरि र अरु नदीमा फागुनदेखि जेठसम्म र्याफ्टिङ हुन्छ।
मीना शर्मा