९-१५ चैत २०७० | 23-29 March 2014

ठूलाबडाकै राज

Share:
  

साप्ताहिक खबरपत्रिका हिमाल (२―८ चैत) मा प्रकाशित 'जसोतसो आफ्नो बचाऊ' समाचार पढेपछि काम बिगार्ने वेला अघि बढ्ने र बिग्रिएपछि आफ्नो बचाऊ गर्ने नेपालका दलहरूको पुरानै रोग हो एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि लागेको भन्ने प्रष्ट हुन्छ। राजनीतिमा लामो अनुभव बटुलेका पुष्पकमल दाहालबाट नेपाली जनताले ठूलो आशा राखेका थिए तर आज त्यो सबै सपना जस्तो भएको छ। जनताका छोराछोरीलाई ठूलो सपना देखाएर जनयुद्धमा सक्रिय बनाएका प्रचण्डले आफ्नो परिवारको लागि कुनै काम गर्न सकिनँ भन्नुको कुनै तुक छैन। हजारौंले ज्यान गुमाएको र बेघरबार भएको नेपालीको तथ्यलाई हेर्ने हो भने त प्रचण्डको अवस्था धेरै राम्रो देखिन्छ। त्यसैले राजनीति भनेको पनि ठूलाबडाको लागि हो भन्ने कुराको उदाहरण प्रचण्ड जस्तै सबै दलले दिएका छन्।

सुमन मल्ल, इमेलबाट

साप्ताहिक खबरपत्रिका हिमाल (२―८ चैत) मा प्रकाशित 'सफलताले ओभर कन्पि्कडेन्स बनायो' अन्तर्वार्ता यथार्थपरक छ। यसपालिको संविधानसभा निर्वाचनमा एमाओवादीको पराजयको कारण 'ओभर कन्पि्कडेन्स' नै हो। पहिलो संविधानसभा निर्वाचनमा ठूलो दल भएको एमाओवादीको 'ह्याङ' अहिलेसम्म पनि हटेको थिएन। केन्द्रदेखि जिल्ला तहसम्मको संगठन निकै कमजोर भएको एमाओवादीले धम्की र त्रासले मात्र निर्वाचनमा सफल भइँदैन भन्ने कुरा बुझन जरूरी छ। अन्यथा फुट्दै र टुक्रँदै जाँदा एमाओवादीको अवशेष मात्र बाँकी रहला।

जमुना शाह, इमेलबाट

खरेलको परीक्षा

साप्ताहिक खबरपत्रिका हिमाल (२―८ चैत) मा प्रकाशित 'पक्राउ नपर्ने गुन्डा' समाचार पढेर दुःख लाग्यो। राजनीतिक संरक्षणमा रहेर समुदायमा ठूला―ठूला समस्या निम्त्याउने गुन्डाहरू अहिले पनि प्रहरीको आँखामा नपर्नु दुःखको कुरा हो। प्रहरीले नै गुन्डालाई संरक्षण दिंदा हामी जस्ता सर्वसाधारणले कहाँबाट न्यायको आशा गर्नु। त्यसैले सबैले आशा गरेका काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले यस्ता सबै गुन्डालाई समात्न सके साँच्चिकै परीक्षामा सफल हुनेछन्।

विनोद पोखरेल, इमेलबाट

तितोसत्य

साप्ताहिक खबरपत्रिका हिमाल (२―८ चैत) मा 'युनियनकै दबदबा' समाचार हाम्रो देशको तितो वास्तविकता हो। जताततै युनियनकै दबदबा रहेको ठाउँमा नराम्रो भन्दा पनि राम्रो कामको विरोध गर्नु परम्परा नै बस्यो। युनियनको नाममा जथाभावी गर्नेलाई पनि कानूनी कारबाही हुनुपर्ने कुरामा आवाज उठाउन ढिलो गर्नुहुँदैन। अन्यथा जसले जे गरे पनि चुपचाप बस्दा समस्या झ्न् जटिल बन्न सक्दछ।

वर्षा वली, इमेलबाट

समयमै ध्यान दिऊँ

साप्ताहिक खबरपत्रिका हिमाल (२―८ चैत) मा प्रकाशित 'महिला घरमै असुरक्षित' समाचार पढेर दुःख लाग्यो। घरपरिवारको माया र ममतामा रमाउने समयमा विभिन्न बहाना बनाउँदै परिवारले दिने यातना महिलाको लागि कम पीडादायी हुँदैन। माया र विश्वासमा अडेको पारिवारिक सम्बन्धलाई कमजोर होइन बलियो बनाउनतर्फ ध्यान दिन जरूरी छ। अन्यथा हिंसाको रूप बढ्दै जाँदा सामाजिक विचलन आउन बेर लाग्दैन।

गोमा आचार्य, इमेलबाट

स्वार्थले डुबायो

साप्ताहिक खबरपत्रिका हिमाल (२―८ चैत) मा प्रकाशित 'डुबाए संयोजकले' समाचार पढेर दुःख लाग्यो। एक जनाको मनोमानीले गर्दा देशको मौलिकतामा नै ह्रास आउनु निकै लज्जास्पद कुरा हो। त्यसैले आफ्नो मौलिकता बचाउनको लागि सरोकारवाला निकायले ध्यान दिन जरूरी छ। एक जनाको स्वार्थको लागि देशको धरोहर नै खतरामा पर्नु देशवासीका लागि राम्रो संकेत होइन।

जुना राई, इमेलबाट

comments powered by Disqus

रमझम