९-१५ चैत २०७० | 23-29 March 2014

फुर्को प्रेम!

Share:
  
- महेश थापा
हिजोआज रेडियो, टेलिभिजन, अखबार सबैतिर फुर्कोवालहरू नै छाएका छन्।

बिलाश राई
महिलाले चुल्ठोमा सजाउने फुर्को, पुरुषले टाई वा धोतीमा बनाउने फुर्को लगायत छाँटछाँटका फुर्को धारण गरी फुरुक्क पर्दै सडकमा फुत्रुक–फुत्रुक गरिरहेको दृश्य हामीले देखिआएकै छौं। कोही नामको शिरानमा त कोही पुछारमा फुर्को जोडिरहेका हुन्छन् भने हाम्रा बडेबडे नेताहरू समेत बाउबाजेले जुराइदिएको नाम मासेर लाउकेहरूले झुन्ड्याइदिएको फुर्कोबाट परिचित हुन मरिहत्ते गर्छन्। पदभार ग्रहण गरेको भोलिपल्टै सरकार ढलेर जिल्लिएको एकदिवसीय मन्त्री समेत आजीवन 'मन्त्रीजी' को फुर्को ग्रहण गर्ने रहर पाल्छन्।

समाजमा विद्यमान फुर्को मोहलाई प्रवृत्तिगत हिसाबले छल्ने, उडाउने, चढाउने र डढाउने गरी चार भागमा विभाजन गर्न सकिन्छ। आवरणमा अनेक रंगको फुर्को रूपी बल्छी थापेर अरूलाई गल्छीमा पुर्‍याउनु पहिलो कोटिको फुर्कोवाद हो। टाईको फुर्को देखाएर लाटागाँडालाई स्याँगी लगाउनु यसको सफल उदाहरण हो। चित्तनबुझया मान्छेलाई उडाउन उसको परिचयमा फुर्को भिराउनु दोस्रो वर्गको फुर्कोवाद हो। कन्जुस हाकिम र चुनावको मुखाँमात्र प्रकट भई भलाकुसारी गर्न तम्सने ढिट नेतालाई दिइने क्रमशः उडुस र नकचरोको पदवी यसका बबाल उदाहरण हुन्।

आफ्नो काम बनाउन अरूलाई भ्यागुतो झैं फुलाउन दिइने फुर्को तेस्रो श्रेणीमा पर्छ। कर्साबको फुर्को दिनेले फुर्केचौर छेउको घडेरी फोसाको भाउमा फुत्काएको चाल नपाई पछि गएर फिस्स भएका सुवेदार साहेब यस कोटरीका कर्मठ प्रतिनिधि पात्र हुन्। पछिल्लो समय चैते वनको डढेलो झैं खतरनाक भएर आएको छ– चौथो वर्गको डढाउने फुर्को। परिचितले प्रयोग गरेको फुर्कोबाट डढेर अरूलाई पनि डढाउने लहड निकै बढेको छ। विवाहको निमन्त्रण–पत्रदेखि समवेदना सन्देशसम्म यसप्रकारको फुर्को प्रतियोगिता चलेको देखिन्छ।

डाक्टरले 'डा.' लेखेको डढेलो निभाउन इन्जिनियरहरू 'इ.' को फुर्को भिर्ने अभियानमा छन्। सेनानीको 'से.', फरेस्टरको 'फ.', डिट्ठाको 'डि.' खरिदारको 'ख.' पनि बजारमा देखिन थाल्या छ। एक मित्रले पठाएको भाइको विवाहको निमन्त्रण–पत्रको दर्शनाभिलाषीहरूको कित्तामा झ्ुन्ड्याइएका फुर्काहरूले होश गुम गराउन खोजेपछि फोन गरेर सोधें, “भाउजूको नाम अघिल्तिर सुश्री कसरी?”

“सबैको नाम अघिल्तिर केही न केही फुर्को झुन्डिएको देखेर श्रीमतीले लट्टो लिइन्। त्यसैले सुब्बाकी श्रीमतीलाई संक्षेपमा 'सुश्री' लेखेको”, मित्रले सहज स्पष्टीकरण दिए।

“त्यसो'भे डुलन्ते भाइको 'डु.' हुनुपर्ने, 'फाँ' किन?”

“उसलाई मात्र बुच्चो राख्दा असुहाउँदो देखिने, त्यतिवेला फाँकिमाराको 'फाँ' नै फुर्‍यो!”

यसरी सबैतिर फुर्कोधारीहरूको चुरीफुरी देख्दा मलाई पनि रहर लागेर कुनै वेला आफू'नि एउटा च्याखुरे पत्रिकाको लिखुरे सम्पादक भइटोपलेको हुँदा नाम अघिल्तिर 'सं.' जोड्ने निधो गरें। तर, संवाददाताको पनि 'सं.' हुने भएकाले आफ्नो त फुइँ लाउन नभ्याउँदै घटुवा हुने अवस्था आइलागेर पत्रकारको 'प.' लेखें। तर, जनैपूर्णिमाका दिन नाम थर बताउना साथ पुरेत बाजेले नराम्ररी थुर्दै भने, “थर चाहिं काजी, मान्छे त साह्रै पाजी रहेछौ! क्षेत्री भएर पण्डितको 'प.' लेख्ने?”

पुरेतले सातो टिपेपछि अचानक म अधिवक्ता, अधिकृत र अर्दलीमध्ये 'अ.' को उत्तराधिकार कसले कुम्ल्याउने? भन्ने सम्भावित फुर्काधिकारको घम्साघम्सीमाथि घोरिन थालें। यस्तै सभासद, सभामुख र सचिवमध्ये 'स.'को फाँटवारी कसरी लगाउने? सभामुख महोदयले यो विषयलाई सदनमा टेबल गरिदिए फुर्कोप्रति विशेष संवेदनशील हाम्रा सभासद महोदयहरू बैठकमा उपस्थित भई कोरम पुग्नेथियो कि बरु?

सभामुखले यो काम तत्काल गर्न किन पनि जरूरी छ भने फुर्को प्रेमले व्यक्तिलाई मात्र नभई संघ–संस्थालाई समेत धमाधम अँचेट्न थालेको छ। जस्तो, फलानो अधिकृत श्रीमती संघ, ढिस्कानो साली संगठन आदित्यादि। हुँदाहुँदा अनधिकृत श्रीमती संघ समेत खुल्यो भने के गर्ने?

comments powered by Disqus

रमझम