९-१५ चैत २०७० | 23-29 March 2014

जुवाघर बन्द गर

Share:
  
- रघु पन्त
राजस्व नतिर्ने, युवाहरूलाई लम्पट बनाउने र अपराध बढाउने क्यासिनो बन्द गर्न सरकारले ढिलो गर्नुहुँदैन।

केही वर्षदेखि देशको भविष्य नै जुवाको खालमा थापिएको च्याँखेको जस्तो अनिश्चित अवस्थामा रहेको वेला तारे होटलमा खुलेका जुवाघरले अर्बौं रुपैयाँ राजस्व नतिरेका समाचार आएका छन्। तर, तिनै क्यासिनोले नेपालीलाई जुवा खेलाएर बिल्लीबाठ पारेका छन्। पुर्ख्यौली सम्पत्ति र मिहिनेतले कमाएको लाखौं करोडौं रुपैयाँ गुमाएर मगन्तेको अवस्थामा पुगेका थुप्रै नेपालीको आँसु र भविष्यमा खेलबाड गरेर क्यासिनो सञ्चालकले कमाएका छन्। क्यासिनोमा खेल्न जाने नेपालीलाई पैसा सापट दिने गुन्डा नाइकेहरू करोडौंको मालिक भएका छन्। क्यासिनोका अवैध गतिविधिमा आँखा चिम्लिएर प्रहरीका कैयौं हाकिमहरूले पनि पैसा कुम्ल्याएका छन् र जथाभावी क्यासिनो खोल्न दिएर पर्यटनमन्त्री र पर्यटन मन्त्रालयका हाकिमले कमिशन खाएका छन्।

नेपालका क्यासिनो नेपालीका भविष्य बिगार्ने माध्यम तथा अपराध, वेश्यावृत्ति र गुन्डागर्दी हुर्काउने थलो हुन्। तिनीहरूले सरकारी नियम र कानूनको धज्जी उडाएका छन्। किनभने, नेपालका क्यासिनोसँग नेपालीलाई जुवा खेलाउने अनुमति छैन। नेपालीले नखेल्ने हो भने विदेशीको भरमा क्यासिनोहरू चल्ने अवस्था पनि छैन। तर पर्यटन मन्त्री र अधिकारीहरूले कमिशन खाएर उपत्यका र बाहिरका होटलमा क्यासिनो खोल्ने अनुमति दिए।

अहिले भने सरकारले क्यासिनोले राजस्व तिरेनन् भनेर कार्बाही शुरू गरेको छ। क्यासिनो सञ्चालकहरूले राजस्व तिर्ने देखिंदैन पनि। उनीहरूको दाउ थोरै राजस्व बुझ्ाएर अलमल्याउने र फेरि नेपालीलाई क्यासिनोमा खेलाएर पैसा कुम्ल्याउने हो। त्यसका लागि क्यासिनोवालाहरूले वैध/अवैध जुनसुकै तरिका प्रयोग गर्नेछन्।

पर्यटन उद्योगलाई फाइदा छैन

नेपालको पर्यटन उद्योग विस्तार गर्न क्यासिनोहरूको मह140वपूर्ण भूमिका थिएन र छैन। सरकारले जेसुकैको लाइसेन्स दिंदा देश र जनतालाई के फाइदा हुन्छ भनेर हेर्नुपर्छ। नीति बनाउँदा पनि हेर्नुपर्ने यही हो। तर क्यासिनो खोल्न दिंदा सरकारले जनता र देशको स्वार्थलाई ध्यानमा राखेन। क्यासिनो चलाउन चाहने र दिनेहरूको स्वार्थले गर्दा क्यासिनो ठूला होटलहरूमा फैलँदै गए।

नेपालको पर्यटन प्राकृतिक सुन्दरता, हिमालको सौन्दर्य, विविधता युक्त संस्कृति र नेपालीहरूको जीवनशैलीमा आधारित छ। थाइल्याण्डको पर्यटन जस्तो यौनमा आधारित होइन। त्यसैले नेपालले आफ्नो पर्यटन उद्योगको सम्भावना बुझ्ेर त्यसैमा लाग्नुपर्छ।

केही हजार रोजगारी र केही करोड राजस्वलाई महत्व दिएर क्यासिनो सञ्चालकहरूको दबाब र प्रलोभनका सामु सरकार अब भुल्नुहुँदैन। विस्तारै तिर्दा हुन्छ भन्ने खालका सहुलियत र छुट दिएर क्यासिनोहरू खुलाउन सरकार लाग्नुभन्दा राजस्व नतिर्ने क्यासिनोहरू बन्द गर्ने तथा पछि क्यासिनो सञ्चालन गर्नै नदिने नीति सरकारले लिनुपर्छ।

नेपालीहरूले नेपालका क्यासिनोमा गएर खेल्ने कुरालाई कानूनी रूपले अवैध भन्ने तर नेपालीलाई खेल्न नदिने हो भने क्यासिनोहरू चल्न सक्दैनन् भन्दै क्यासिनो खोल्न दिने सरकारी नीति आफैंमा विरोधाभाषी, अविवेकी र गलत छ। त्यसैले यो नीति सच्याउँदै अरू आठ–दश वर्ष क्यासिनो खोल्न नदिने नीति लिनुपर्छ।

उद्यमशीलता विरोधी व्यवसाय

क्यासिनो पूँजीवादको विस्तार र विकाससँगै देखा परेको विकृत व्यवसाय हो। संसारका केही देशहरूले क्यासिनोमा नाम कमाउँदै त्यसबाट फाइदा पनि लिएका छन्। तर त्यो फाइदा त्यहाँका जनताका लागि भन्दा सञ्चालकहरूका निम्ति छ। नेपालका क्यासिनोले उद्यमशीलतालाई समाप्त पारे। किनभने, जुवाले मान्छेलाई भाग्यवादी र लम्पट बनाउँछ। क्यासिनोमा खेल्नेहरू सबैले प्रकारान्तरमा हार्छन् र क्यासिनो चलाउनेले जित्छ। उद्यम गरेर केही पैसा कमाएका उद्यमशील युवाहरूको एउटा पंक्तिलाई क्यासिनोले नै सिध्यायो। अन्य व्यवसायबाट वर्षौ लगाएर कमाएको रकम क्यासिनोमा एक–दुई घण्टामै स्वाहा पारे। त्यसैले राज्यले यस्तो व्यवसायलाई संरक्षण र प्रोत्साहन दिनुको साटो निषेध गर्नुपर्छ।

भ्रष्टाचार, राजस्व छली र कमिशनतन्त्रलाई हुर्काउने बढाउने स्थान हुन्, क्यासिनो। कमिशन खान पल्केका केही राजनीतिक व्यक्ति, भ्रष्ट प्रशासक र प्रहरी अधिकृतहरूको अवैध कमाइ गर्ने थलो पनि नेपालका क्यासिनो बनेका छन्। त्यसैले, सरकारले क्यासिनोलाई तत्काल बन्द गर्नुपर्छ। बरु, क्यासिनो सञ्चालकहरूलाई अन्यत्र लगानी गर्ने र क्यासिनोमा रोजगारी पाएकाहरूलाई अरू स्थानमा रोजगारीको अवसर दिने व्यवस्था मिलाउनुपर्छ।

comments powered by Disqus

रमझम