९-१५ चैत २०७० | 23-29 March 2014

व्यवसायसँगै सेवा

Share:
  
आर्थिक अवस्था बलियो भएर पनि बिरामी आमाबाबुलाई उपचार र हेरचाह गर्न नसकेका छोराछोरीका लागि अर्किड केयर होम वरदान बनेको छ।

देवकी बिष्ट
अर्किड केयर होमका वृद्धको स्वास्थ्य परीक्षण गर्दै चिकित्सक टोली।
वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण गर्ने क्लिनिक चलाएर राम्रै आम्दानी गरिरहेकी यमुना कटुवाल (२८) लाई अरू दाम र नाम कमाउने गरी केही नयाँ काम गर्ने इच्छा थियो। त्यस्तैमा चार वर्षअघि बिरामी वृद्धवृद्धालाई स्वास्थ्य सेवा सहित घरेलु वातावरणमा स्याहार गर्ने केन्द्र खोल्ने सोच आएपछि व्यवस्थापनमा स्नातक उनले असोज २०६७ मा काठमाडौंको बाँसबारीमा 'अर्किड केयर होम' खोलिन्। जुन, बिरामी आमाबाबुलाई स्याहार गर्न नभ्याएका, केही खर्च गर्न सक्ने र कामकाजी छोराछोरीका लागि अहिले वरदान बनेको छ।

नौलो काम

दैनिक रु.८९५ तिरेर नर्सिङ केयर सहित खान र बस्न पनि पाउने व्यवस्था भएको अर्किड केयरको सेवा नेपालका लागि नौलो हो। यहाँ आवासीय सेवा मात्र लिने हो भने दैनिक रु.७२५ र दिवा सेवाका लागि दैनिक रु.३९५ तिर्नुपर्दछ। अल्जाइमर, डिमेन्सिया जस्ता समस्या भएका वृद्धवृद्धाका लागि मासिक रु.३० हजार शुल्क लाग्छ।

अस्पतालबाट डिस्चार्ज भएपछि नियमित रूपमा औषधि खानुपर्ने र 'थेरापी' गर्नुपर्ने नसा, हाडजोर्नी र प्यारालाइसिसका बिरामी यहाँ आउने गरेका छन्। सञ्चालन भएको तीन वर्षमा १५० जनाले सेवा लिइसकेको संचालक कटुवाल बताउँछिन्। सात जनाको मेडिकल टीम सहित २४ जना कर्मचारी रहेको यहाँ स्वास्थ्य परीक्षणका लागि हप्तामा दुई पटक चिकित्सकलाई बोलाउने गरिएको छ। शिरोधारा, आयुर्वेदिक थेरापी, स्पा थेरापी, स्टीम/साउना र योग/प्राणायामको पनि सुविधा भएको यो केयर होमसँग २५ जनालाई आवासीय सेवा दिने क्षमता छ। बिरामी वृद्धलाई सन्तुलित खाना खुवाउन पोषणविद्को पनि सल्लाह लिने गरिएको कटुवाल बताउँछिन्।

संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्न थालेको नेपालको शहरी समाजमा पछिल्लो समय परिवारका वृद्धवृद्धाको कम हेरचाह हुन थालेको छ। आर्थिक उपार्जनका लागि दौडधुप गर्नुपर्ने बाध्यताले आमाबाबुलाई राम्रो स्याहारसुसार गर्न चाहनेले पनि सक्ने स्थिति छैन। त्यस्तो अवस्थामा आर्थिक अवस्था बलियो बनाएका छोराछोरीले राम्रो सुविधा सहित सेवा दिने संस्था खोजी गर्न थालेका थिए। समाजको यो आवश्यकता बुझ्ेर आफूले केयर होम खोलेको कटुवालको भनाइ छ।

समाजको खाँचो पूरा गर्न खोलेकाले केयर होमले व्यवसायसँगै सेवा पनि दिएको कटुवाल बताउँछिन्। “छिमेकी र आफन्तले कुरा काट्न नसक्ने वातावरण र सेवा दिएका छौं, हामीले आफ्नै आमाबाबुलाई जसरी सेवा दिएकाले यहाँ आमाबाबु राख्ने छोराछोरी निर्धक्क हुनसक्छन्” कटुवालको विश्वास छ।

मीना शर्मा

comments powered by Disqus

रमझम