९-१५ चैत २०७० | 23-29 March 2014

सुरक्षित निर्माणको चेतना

Share:
  
- मिलन बगाले
ऐतिहासिक सम्पदाको धनी शहर भक्तपुर भोलि पनि समृद्ध रहने सुरसारमा छ।

मौलिक वास्तुकला बचाउन प्रयासरत भक्तपुर नगरवासीलाई सुन्दरसँगै सुरक्षित संरचनामा राख्न प्रयत्नरत छ। भक्तपुरले निर्माण संस्कृतिलाई सबल बनाउन नगरवासीलाई घर बनाउनुअघि बलियो वास्तुको तालिम लिनैपर्ने व्यवस्था गरेको छ। तीन वर्षअघिसम्म ऐच्छिक रहेको यो प्रावधान अब अनिवार्य बनेको छ, नत्र घरको नक्शा पास हुँदैन। ऐच्छिक व्यवस्था प्रभावकारी नभएपछि नगरपालिकाको नक्शा शाखाले घर बनाउन चाहनेहरूलाई हरेक शुक्रबार सुरक्षित निर्माण सम्बन्धी नियम―कानून सिकाउन थालेको छ।

सिकाउनै पर्ने कुरो

सडक मिचेर घर बनाउनु हुन्न भन्ने कुरा काठमाडौं उपत्यकाभित्रका घरधनी र जग्गाधनीले सिकिसके। बाबुराम भट्टराई सरकारले थालेको ध्वंसात्मक सडक विस्तारले सिकाएको महँगो पाठ हो यो। सामान्य मानवीय संवेदना र नागरिक हकको ख्याल नगरी थालिएको यो 'लाल विकास' ले धेरैलाई पीडित बनाए पनि सडक नमिचिकन घर बनाउने चेतना चाहिं रोप्यो। अब सडकपट्टि एक मिटर र छिमेकीको साँधपट्टि डेढ मिटर छोडेर घर बनाउने मापदण्ड पनि धेरैले पालना गर्न थालेका छन्। तर, साढे दुई तल्ले घरको नक्शा पास गरेर त्योभन्दा बढी तल्ला थपेर आकाश मिच्ने काम भने जारी छ।

राजधानी उपत्यकामा घर बनाउनेहरूले आकाश मिच्न नपाइने नियम थाहा नभएको होइन र यो नियम त्यसै बनाइएको पनि होइन। तर, न घरधनीहरूले यसको पालना गरेका छन् न त महानगर, नगरपालिका र गाविसले अनुगमन गरेका छन्। यसबाट बढ्दो शहर असुरक्षित हुनुको साथै महानगर, नगरपालिका र गाविस राजस्व गुमाइरहेका छन्। यसबाट नियम मिच्नेहरूको मनोबल बढेको छ। साढे दुई तल्लेको भार थाम्ने गरी बनाइएको जगमाथि सगर्व चार–पाँच तल्ले घर ठड्याउँदा भोलि आइलाग्ने विपतबारे उनीहरूको चेतनाको ढोका बन्द भएको देखिन्छ। छिमेकमा धमाधम 'धरहरा' हरू बनेर आफ्नो घरमा घामै नछिरेर ओसिलो/अँध्यारो बनेपछि अनिच्छापूर्वक तला उकास्नेहरू पनि धेरै छन्।

शहर व्यवस्थित र स्वस्थकर बनोस् भनेर नै हो, तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिले २०६४ सालमा जग्गाको अनुपात अनुसारको घर बनाउने मापदण्ड बनाएको। यसका लागि समितिले सिंगो उपत्यकालाई पुरानो शहरी क्षेत्र, आवासीय क्षेत्र, संस्थागत, औद्योगिक, शहरी विस्तार, सतह सवारी, विमानस्थल, खेलकुद र संरक्षण क्षेत्र गरी ९ क्षेत्र र विभिन्न उपक्षेत्रमा विभाजन गरी निर्माणका लागि फ्लोर एरिया रेसियो (फार) अनुसार बनाउन पाइने अधिकतम तला तोकिदिएको थियो। घर वा भवनको तलाहरूको कुल क्षेत्रफललाई भवन बन्ने जग्गाको सम्पूर्ण क्षेत्रफलले भागा गरेर 'फारले' निकालिन्छ।

यस अनुसार मैतीदेवीमा कसैले चार आना जग्गामा घर बनाउन चाह्यो भने उसले जमीनको ७० प्रतिशत भाग ओगट्ने गरी बनाउन पाउँछ। नगर विकास समितिले आवासीय भवनका लागि मैतिदेवीको फ्लोर एरिया रेसियो २.५ तोकेको छ। यो भनेको चार आना जग्गामा ३४२२.२५ वर्ग फिट (एक आना बराबर ३४२.२५ वर्गफिट) नबढ्ने गरी अर्थात् ७० प्रतिशत जमीन ढाक्दा साढे तीन तलासम्मको घर बनाउन पाइन्छ भन्ने हो। जग्गाधनीले यस्ता कुराको मेसो पाएका रहेनछन् भने पनि नक्शा कोर्ने इन्जिनियरलाई थाहा नहुने कुरै हुँदैन। र, नक्शा पनि नीतिनियमभित्रै बसेर कोर्नुपर्छ, तर त्यस्तो भइरहेको छैन।

काठमाडौंमा बेथिति भइरहेको वेला भक्तपुर नगरपालिकाले घरधनीका लागि आधारभूत निर्माण शिक्षा दिन थाल्नु ज्यादै राम्रो कुरा हो। यो काम अरू नगरपालिका र नक्शा पासको प्रावधान भएका गाविसहरूले पनि शुरू गरिहाल्नुपर्छ। यसका लागि जनशक्ति थपिरहनु पनि नपर्ला। परेछ भने पनि यसले जगाउने चेतनाका अगाडि थपिएको जनशक्तिको भार केही होइन। सुरक्षित निर्माणको तरिकासँगै नियमकानून नमिच्न र मिचे आइलाग्ने कानूनी कष्टबारे कान फुक्न सकियो भने सुरक्षित शहरको सपना हाम्रा लागि धेरै परको कुरा बन्ने छैन। सुरक्षित निर्माण संस्कृतिको जग बसाउनेहरूको जय होस्।

comments powered by Disqus

रमझम