९-१५ चैत २०७० | 23-29 March 2014

आञ्चलिकताको स्वाद

Share:
  

'कर्णाली नदीमा पानी नबगेर किन दुःख मात्रै बग्छ?' नवोदित उपन्यासकार सुरेश प्राञ्जलीको उपन्यास 'तुइन' मा पटक–पटक उठाइएको प्रश्न हो यो। कर्णालीमा दुःख छ, अभाव छ, शोषण छ। कर्णालीको यही दुःख देखाएर धेरै लेख लेखिएका छन्, देश–विदेशमा कार्यपत्र प्रस्तुत भएका छन्, सहयोग पनि प्राप्त भएका छन्, साहित्यमा कथा, उपन्यास र कविता आएका छन्। मान्छेहरू त्यहाँको दुःखको कल्पना मात्रैले पनि भावुक भएका छन्। बाँकी १३ अञ्चल कर्णालीप्रति सद्भाव राख्छ, तर पनि कर्णालीवासीको जीवनमा सुधार आएको छैन।

उपन्यासकार सुरेशले कर्णाली अञ्चल सदरमुकाम जुम्ला र त्यस वरपरका क्षेत्रको दुःख उतार्ने प्रयत्न गरेका छन्। यसले आञ्चलिक साहित्यको स्वाद पनि दिन्छ। सुरेशले छिन्नै आँटेको तुइन र जनजीवनलाई तुलनात्मक आँखाले हेरेका छन्। यो उपन्यासको कालावधि १० वर्षे सशस्त्र द्वन्द्वको वेला हो। उपन्यासको मूलपात्र भूमिराज अर्थात् कान्छोको परिवार युद्धबाट प्रताडित छ। उसका निकट आफन्तहरू मारिएका छन्। त्यही युद्धका बीच पनि भूमिराज गाउँले सहपाठी मालतीसँग प्रेम गर्छ। पढाइमा अब्बल भूमिराजको प्रेम पनि अब्बल छ। प्रेमका संवादहरू रोमाञ्चकारी र मनमोहक छन्, तर मालतीका सामन्त बाबुलाई त्यो मन पर्दैन र भूमिराजको प्रेम असफल हुन्छ।

तुइन

लेखकः सुरेश प्राञ्जली

प्रकाशकः फाइन प्रिन्ट

मूल्यः उल्लेख गरिएको छैन,

पृष्ठः २२८+८

अधिक मृत्युदृश्य उतारिएको यो दुखान्त उपन्यासका कतिपय सिलसिला तथा घटना फिल्मी छन्। कथाका तन्तु कतैकतै छिन्नै खोज्छ। घटनालाई किनारा लगाउन लेखकले पात्रहरूलाई अनावश्यक रूपमा दौडाएका छन्। र पनि, उपन्यास खल्लो लाग्दैन, मोहक शैलीले पाठकलाई अन्त्यसम्म तानिरहन्छ। उपन्यासको टुङ्ग्याउनीतिर भूमिराजको जीवनमा उज्यालो आउनै लागेको वेला माओवादीले जबर्जस्ती युद्धमा सरिक गराएकोले ऊ भागेर परासी पुग्छ। त्यहाँ एउटी बूढीको स्नेहले पढ्ने मौका पाउँछ र राम्रो अंकमा एसएलसी उत्तीर्ण हुन्छ।

माओवादीले चन्दा मागेर हैरान पारेका त्यस विद्यालयका हेडसर जागीर छाडेर आफ्नो ठाउँ पोखरातिर लाग्दा आफ्नो प्रिय विद्यार्थी भूमिराजलाई पनि पढाउन सँगै लग्छन्। तर, बाटामा लेखकले हेडसर र भूमिराजलाई सुरक्षाकर्मीको पिटाइ खुवाएर मारिदिएका छन्। कथाको यो अकल्पनीय 'टर्निङ प्वाइन्ट' लाई पाठकले मन नपराउन सक्छन्। उनीहरूलाई लाग्न सक्छ– नायक भूमिराजलाई जीवनदान दिएर प्रगतिको बाटोमा हिंडाइदिंदा उपन्यासकारको के जान्थ्यो र!

जुम्ली (खस) भाषाको मिठास बुझ्नेहरूलाई यो उपन्यासले मोहित बनाउन सक्छ। लयात्मक जुम्ली लवजप्रति पाठकको रुचि जगाउन उपन्यासले धेरथोर मद्दत गरेको छ। अरूका लागि उपन्यासको अन्त्यमा केही शब्दका अर्थ दिइए पनि त्यो अपुग छ। जिल्ला बाहिरका सुरेशले जुम्लाको दुःख उतार्ने जुन मिहिनेत गरेका छन्, त्यो प्रशंसनीय छ।

राजेन्द्र पराजुली


रातसँग संसर्ग

रातपछि दिन र दिनपछि रातको चक्र शाश्वत कुरा हो। मानव संसार दिनमा सक्रिय र रातमा निष्त्रि्कय हुनु सामान्य कुरा हो। कवि सुलोचना मानन्धर धिताल भने रातका आयामसँग खेलेकी छन्– कविता संग्रह 'रात' मा। उनले रातलाई कतै उज्यालो र मोक्षको जननीको रूपमा पाएकी छन् त कतै यसलाई चतामरीसँग तुलना गरेकी छन्। उनको अनुभूतिमा रात एउटा विशाल चतामरी हो, जसलाई समयले निरन्तर खाइरहेको छ।

रातलाई खण्ड–खण्डमा बुझेकी कवयित्रीले कतिपय कवितामा यसलाई क्रान्ति, माया, पर्खाइ र छटपटीको रूपमा अर्थ्याएकी छन् भने कतै विद्रोह कोरलिने समयको रूपमा। जस्तोः

छाल झै उर्लिरहेछ रात, किनारा छोड्दै

टाढा–टाढा जान खोज्दैछ

रातलाई तानेर वशमा राख्न खोज्छु अहँ

रात त पुनः किनारा भत्काउँदै विद्रोह गर्दैछ

बिहानी उसको लक्ष्य हो कि!

रात

लेखकः सुलोचना मानन्धर धिताल

प्रकाशकः साथी प्रकाशन

मूल्यः रु.१५०,

पृष्ठः ७२+४

कविता संग्रह रात मा कवयित्री सुलोचनाले अँधेरी रातमा फुल्ने रातकी रानीको बखान निकै रोचक तरिकाले गरेकी छन्। रातमा ढकमक्क फुल्ने रातकी रानी दिनसँग किन डराउँछे? यो रहस्य बुझ्न कवयित्री रातकी रानीको सौन्दर्य हेर्न र उसको अस्तित्वबोधका निम्ति रात बन्छिन्। कविताहरूमा अँध्यारो रातसँग अनेक संवाद गरिएका छन्। पागलप्रेमी झै रातलाई कुरेर बस्ने कवयित्रीलाई कतै एक्लै हिंड्नुपर्ने सुरुङ जस्तो लाग्छ रात।

६० थान छरिता–भरिला कविता समेटिएको यो संग्रहमा कवयित्रीले सरल र छोटा लाइनहरूमा जीवन र जगतको रहस्य खोल्न खोजेकी छन्। कविताप्रेमीका लागि यो संग्रह पठनीय र संग्रहनीय दुवै छ।

देबकी बिष्ट

comments powered by Disqus

रमझम