९-१५ चैत २०७० | 23-29 March 2014

भिक्षुको कर्म

Share:
  
काउसोङ महानगरका बौद्ध भिक्षु खेम्पो खेन्चे पाल्देनले मुस्ताङको टुकुचेमा ठूलोस्तरको समाजसेवा थालेका छन्।

ताइवानको दोस्रो ठूलो शहर काउसोङमा १२ वर्षबाट बौद्ध धर्मका गुरु रहेका भिक्षु खेम्पो खेन्चे पाल्देन खासमा टुकुचेकै ५१ वर्षीय डा. मंगलध्वज तुलाचन हुन्। दक्षिण भारतको कर्नाटकस्थित यिङ्मा विश्वविद्यालयबाट बौद्ध दर्शनमा विद्यावारिधि गरी ६ वर्ष त्यहीं पढाएपछि सन् २००२ मा ताइवान गएका उनको काउसोङमा ३०० शिष्य छन्। त्यहाँ ज्यान्छोन्लिङ एसोसिएसन स्थापना गरेका उनले नियमित प्रवचन, पाठपूजा र दानबाट आएको रकमबाट जन्मथलोमा परोपकारको काम थालेका छन्। तीन वर्ष अगाडि उनले खोलेको श्री नालन्द बौद्ध विद्यालयमा अहिले नर्सरीदेखि कक्षा ३ सम्म अनाथ, असहाय, गरीब परिवारका १२० बालबालिका पढ्छन्।

मुस्ताङको टुकुचेस्थित आफैंले स्थापना गरेको श्री नालन्द बौद्ध स्कूल अगाडि भिक्षु खेम्पो खेन्चे पाल्देन अर्थात् डा. मंगलध्वज तुलाचन।

टुकुचेको झिलिङमा रहेको विद्यालयमा हरेक वर्ष कम्तीमा ३० जना नयाँ विद्यार्थीसँगै नयाँ कक्षा थपिंदै जान्छ। विद्यालयमा नेपाल सरकारले लागू गरेको पाठ्यक्रमसँगै अंग्रेजी र तिब्बती भाषा पढाइन्छ। विद्यार्थीलाई शिक्षण, आवास, भोजन, पोशाक सबै निःशुल्क छ। विद्यालयमा मुस्ताङ, गोरखा, इलाम, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु, दोलखा र भारतको सिक्किमसम्मका विद्यार्थी छन्। “अहिलेलाई एसएलसीसम्म पढाउने जिम्मा लिए पनि मेरो उद्देश्य दश जोड दुईसम्म हो”, केही समयका लागि नेपाल आएका भिक्षु पाल्देनले भने, “सहयोग जुट्यो भने यी बालबालिकाले उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने छैन।”

नालन्द बौद्ध स्कूलका विद्यार्थी हिउँ खेल्दै।

यो विद्यालयलाई उनले पद्मसंभव च्यारिटी फाउन्डेसन मार्फत संचालन गरेका छन्। आफू एक्लो भिक्षु भएकोले फाउन्डेसन मार्फत परोपकारी काम गर्न सजिलो भएको उनले बताए। १०० रोपनी जग्गा किनेर विद्यालय संचालन गरेका उनले कमजोर आर्थिक अवस्था भएका गाउँलेलाई गाउँमै स्वास्थ्य सुविधा दिन अस्पताल बनाउने काम पनि थालेका छन्। “अस्पतालसँगै टुकुचेमा सम्बोधी विपश्यना ध्यान केन्द्र पनि स्थापना हुनेछ”, भिक्षु खेम्पो खेन्चे पाल्देन भन्छन्, “सँगसँगै वृद्धवृद्धाका लागि वृद्धाश्रम बनाउने योजना छ।”

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम