९-१५ चैत २०७० | 23-29 March 2014

लेख र खेल

Share:
  
हामीले जीवनको पाठ लेख्नेबाट नभएर खेल्नेबाट सिक्नुपर्छ।

केदार शर्मा

फुर्तिला नेपाली क्रिकेट खेलाडीले बाङ्लादेशमा मुंग्रो बजार्न थालेपछि यता कीबोर्डमा चल्ने नेपाली औंलाहरूमा पनि गजबको फुर्ती थपियो। हाम्रा खेलाडीको समर्थनमा सामाजिक सञ्जालमा लेखिएका सबै शब्दहरू सस्वर वाचन गर्ने हो भने हजारौं भुभुजेलाको स्वर सहजै दब्छ जस्तो लाग्यो। मैले चाहिं ट्वीटरमा लेखें– खेल्नु र लेख्नुः उनै तीन वटा शब्द र उनै दुई वटा मात्रा भए पनि धेरै फरक छ। हामी लेख्नेहरूले खेल्नेहरूबाट धेरै सिक्न बाँकी छ।

समयले अर्काका लेख–रचना सम्पादन गर्ने, छाप्ने वा छाप्न सिफारिश गर्ने र लेखनका तालिम दिने ठाउँमा पुर्‍याएपछि म नयाँ लेखकलाई दिनहुँ टुँडिखेलमा गएर केही समय बिताउने सल्लाह दिन थालेको छु। लाग्छ, आफूले सिक्दै गरेका वेला त्यस्तो सल्लाह पाएको भए या त म लेखनका क्षेत्रबाट भाग्ने थिएँ या निकै राम्रो लेखक हुने थिएँ।

एउटा किशोर (र किशोरी पनि) लाई कुनै खेलमा चाख लाग्छ, खेल्न थाल्छ। उसको ध्यान त्यहीं जान थालेपछि पढाइ अल्मलिन थाल्छ। घरबाट गाली खान्छ। खेल्दा लड–भिड हुन्छ, चोटपटक समेत लाग्छ। सकेसम्म घरमा नभनी पचाउँछ। हेपाइ–पेलाइ सहन्छ। आफ्नो रुचिको खेलसित सम्बन्धित प्रहार र बचावका तौरतरिका सहित सबै कला सिक्छ। कठोर साधना गर्छ। धैर्य गरेर अवसर पर्खिन्छ। सयौंमा उत्कृष्ट सावित भए पनि म्याचमा मौका पाउन गाह्रो छ भन्ने थाहा भए पनि हरेश खाँदैन। मैदानमा जित्न जाँदा पनि हार्न तयार भएको हुन्छ। तारिफ जित्दा मात्र पाउने हो भन्ने थाहा भए पनि ऊ खेल्न छाड्दैन।

तर हामी लेखकहरू भने अभ्यासमा भन्दा काम देखाइहाल्न जोड दिन्छौं। पढ्नभन्दा लेख्नमा बल गर्छौं। व्याकरण र वर्ण विन्यासमा ध्यान दिनुलाई आफ्नो अपमान ठान्छौं। मौलिकता, तार्किकता, प्रामाणिकता, प्रस्तुतीकरण आदिको निर्णायक आफूलाई मात्र ठान्छौं। पत्रिकामा आफ्नो नाम छापिए दङ्ग पर्छौं। त्यसैले 'छपाइदिन' अनुरोध गरेर लेख पठाउने एक जनालाई केही साताअघि यस्तो इमेल लेखें, “अभ्यासका रूपमा लेखेका कुरा समेत छापियोस् भन्नु उचित आग्रह होइन। लेखेका सबै कुरा छापिन आवश्यक छैन र छाप्नलाई मात्र लेख्ने पनि होइन। स्कूलको खेल मैदानमा खेलिरहेका आफ्ना विद्यार्थीलाई हेर्नू। उनीहरूले खेलमा गरेको भन्दा आधा मात्र साधना लेखनमा गरें भन्ने लागेका दिन मात्र प्रकाशनार्थ लेख पठाउनू।” पछि यति थपें पनि “पत्रिकामा नै छाप्नुपर्छ भन्ने छैन, फेसबूकमा राख्नू, केही प्रतिक्रिया आउँछन्।” उनले यसलाई कसरी बुझे भन्ने थाहा नभए पनि मलाई चाहिं आफ्नो त्यो सल्लाह अहिले पनि उचित लागेको छ।

इन्टरनेटले अभिव्यक्तिका नयाँ विधाहरू जन्माएको छ। दुई दशकमा इन्टरनेटले जन्माए/हुर्काए जति शब्दावली परम्परागत बुद्धिविलासले दुई शताब्दीमा पनि जन्माएको थिएन। इन्टरनेटले हरेक व्यक्तिलाई लेखक मात्र होइन, प्रकाशक–प्रसारक समेत हुने अवसर दिएको छ। शब्द गनेर लेख्ने सकसबाट मुक्ति दिएको छ। निजी कुरालाई सार्वजनिक गर्ने विश्वव्यापी फेशन चलाइदिएको छ। अनेक र अनन्त दिएको छ। अक्षर, चित्र, चलचित्र, ध्वनि र अन्तरक्रियात्मकता मिलेका सबै विधा–उपविधाको व्याख्या गर्न शेषनागकै जिब्रा चाहिन्छन्।

लेखन–प्रकाशनका क्षेत्रमा अघि कहिल्यै नभएको प्रजातन्त्र आएको छ। सम्पादकले छापिदिएनन्– आफैं छाप्ने हो; अलि धेरै 'काटकुट' पारिदिए– 'फलानो पत्रिकामा प्रकाशित मेरो लेखको असम्पादित रूप' भनेर आफ्ना भित्तामा टाँस्ने हो; एउटा लेखलाई पुग्ने मसला भएन, 'माइक्रो ब्लग' गर्ने हो। लेखनको अभ्यास गर्ने, सम्पादन कला सिक्ने, निर्वाध विचारप्रवाह गर्ने, विश्व ज्ञानकोश (विकिपिडिया) मा योगदान गर्ने– हिजो कल्पना समेत नगरिएका अवसरहरू हाम्रासामु उपलब्ध छन्। तर यहीं एउटा प्रश्न उठ्छ, के हामीले ती अवसरहरूको प्रयोग गरेका छौं? लेखन जस्तो व्यापक, दीर्घकालीन र सम्मानजनक प्रतिफल पाइने क्षेत्रमा बसेर हामीले आफू र पाठकलाई कति न्याय गरेका छौं?

हामी अहिले नेपाली क्रिकेट खेलाडीलाई एकदमै धेरै माया र सम्मान गरिरहेका छौं। तर यो माया र सम्मान वास्तविक हो कि होइन भन्नेमा मलाई द्विविधा छ। तपाईंलाई पनि त्यो द्विविधा भए आफैंसित प्रश्न गरे पुग्छ। अहिले नेपाली क्रिकेटरहरूको प्रशंसा गरेर नथाक्ने हामीमध्ये कति आफ्ना सन्तानलाई खेलाडी बनाउन चाहन्छौं? चाहेर मात्र हुँदैन, आँट गर्नुपर्छ, जोखिम लिनुपर्छ। 'खेलाडी' भइसकेपछिको 'सेलिब्रेटी स्टाटस' मात्र मन पराएर हुँदैन, सफल हुन नसकेको अवस्थालाई पनि स्वीकार गर्न सक्नुपर्छ।

यो प्रश्नको जवाफ दिंदा अलि अल्मलियौं भने हामीले मान्नै पर्छ, शायद हामीले जीवनको पाठ लेख्नेहरूबाट होइन, खेल्नेहरूबाट सिक्नुपर्छ।

comments powered by Disqus

रमझम