९-१५ चैत २०७० | 23-29 March 2014

सुगम गीतमा शुभ–संकेत

Share:
  
मोरङ, टाडीकी मेलिना चाम्लिङ राई (२१) सुगम संगीतमा प्रतिभाशाली गायिकाको रुपमा देखिन थालेकी छन्।

संगीतकार जिवेश राईकी छोरी मेलिना २०६५ को रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गायन प्रतियोगितामा प्रथम भइन्। उनको प्रतिभा यसबाटै पुष्टि हुन्छ। “रेडियोमा सर्वोत्कृष्ट गायिका हुँदा ११ कक्षामा थिएँ”, त्यसपछि हराउनुको कारण दिंदै उनी भन्छिन्, “तर, पछिल्लो एक वर्षदेखि गायन क्षेत्रमा केन्द्रित हुन थालेकी छु।”

नेपाली सुगम संगीतका क्षेत्रमा अहिले उनी छाडी जाने भए जाऊ मायालु..., पहाड जस्तै अग्लो भयो... जस्ता गीतबाट चर्चित र प्रशंसित छिन्। करीब चार दर्जन फुटकर गीत गाएकी उनी बहार नामक अल्बमको तयारीमा छिन्। चिनिन र पहिचान बनाउन अल्बम चाहिने महसूस गरेर यता लागेको मेलिना बताउँछिन्। आधुनिक, लोक–आधुनिक, 'स्लो' र 'रोमान्टिक प्याटर्न' का गीत समेटिएको उनको यो एकल अल्बमको संगीतकार डाक्टर किरात रहेको पनि खुलाइन्। २०६० सालको उपत्यकाव्यापी अन्तरविद्यालय लोकगीत प्रतियोगितामा प्रथम भएकी उनी पप गीत पनि गाउँछिन्। “तर, मेरो पहिचान सुगम गीत–संगीतमा छ”, उनी भन्छिन्।

नोभेम्बर रेन, पुन्टे परेड, नाइके लगायत आधा दर्जन चलचित्रमा गीत गाएकी मेलिनाले हिजोआज राम्रो स्टेज पनि पाउन थालेकी छन्। अरुणा लामा र अञ्जु पन्तकी फ्यान उनी आफ्नो करिअरमा शुभ–संकेत देखिन थालिसकेको बताउँछिन्।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम