१६-२२ चैत २०७० | 30 March-5 April 2014

प्रतिष्ठा जोगाऊ

Share:
  

साप्ताहिक खबरपत्रिका हिमाल (९–१५ चैत) मा प्रकाशित डेढ सय वर्षको इतिहास भएको मारवाडी समुदायले आफ्नै बलबुतामा व्यावसायिक साम्राज्य खडा गरेको 'मारवाडी पौरख' सम्बन्धी खोज समाचार पठनीय लाग्यो। नेपालीको दैनिक जीवनमा प्रयोग हुने उत्पादन प्रवर्द्धनमा मारवाडी समुदायको योगदान साँच्चै अविस्मरणीय छ। व्यापारबाट माथि उठेका मारवाडीहरू अहिले उत्पादनमूलक र सेवामूलक उद्योगमा जमेका छन्। कतिपय मारवाडीले व्यवसायसँगै राजनीतिलाई पनि एकसाथ अघि बढाएका छन्। तर यति हुँदाहुँदै पनि भ्याट छली लगायतका विवादमा वेला–वेलामा यिनै घरानाका सदस्यको नाम मुछिने गरेको छ, जसले सिंगो समुदायको प्रतिष्ठामा आँच पुर्‍याएको छ। यस्ता विवादबाट भोलिका दिनमा आफूलाई जोगाएर अघि बढ्नु नै सिंगो समुदायको लागि हितकर हुनेछ।

प्रवीण थापा, एकान्तकुना ललितपुर

विश्लेषणात्मक समीक्षा

हिमाल (९–१५ चैत) मा प्रकाशित 'युरोपमा दिल्लीकी केटी' फिल्मको विश्लेषणात्मक समीक्षाका लागि हिमाल लाई धन्यवाद। हुन त मैले यो फिल्म हेरेको छैन, तर समीक्षा पढेपछि जतिसक्दो छिटो फिल्म हेर्न जाने निधो गरेको छु। नेपाली सिने क्षेत्रमा यस्ता बेजोड फिल्म कहिले बन्ने होला? यसतर्फ निर्माताहरूले समयमै ध्यान पुर्‍याउनुपर्दछ।

दीपक, इमेलमा

नियमनको खाँचो

हिमाल (९–१५ चैत) मा प्रकाशित नेटवर्क मार्केटिङ सम्बन्धी 'ठगलाई लाइसेन्स' समाचारबारे केही स्पष्ट पार्न चाहन्छु। नेटवर्क मार्केटिङ १७औं शताब्दीदेखि विकसित मुलुकमा भइरहेको छ। अमेरिका, मलेशिया लगायतका देशको आर्थिक विकासमा नेटवर्क मार्केटिङको अहम् भूमिका रहेको छ। तर हाम्रो देशको सवालमा कानूनी प्रक्रियाको अभाव नेटवर्क मार्केटिङको प्रमुख समस्या हो। नियमावली बनाएर यो पेशालाई अघि बढाउने र ठगी गर्ने माथि कारबाही गर्न सकिएमा समस्याको हल हुनेछ।

सुधीर राई, इमेलमा

द्वन्द्वको घाउ बिर्साउ

हिमाल (९–१५ चैत) मा प्रकाशित 'थेत्तरो प्रहरी' समाचार पढेपछि द्वन्द्वका क्रममा राज्य र माओवादीबाट मारिएका गैरसैनिकबारे जाहेरी नलिएर प्रहरीले कतिसम्म बदमासी गरेको छ भन्ने प्रष्ट हुन्छ। प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पीडितले राहत पाउने कुरै भएन। द्वन्द्वको घाउमा मलमपट्टी लगाउनका लागि सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नमा ढिलाइ गर्नुहुँदैन। होइन भने द्वन्द्वको घाउ कहिल्यै मेटिने छैन।

रत्न सापकोटा, नयाँबजार, काठमाडौं

क्रिकेटका चुनौती

हिमाल (९–१५ चैत) मा प्रकाशित क्रिकेट सम्बन्धी रिपोर्ट सान्दर्भिक छ। नेपालमा खेलकुदप्रतिको आकर्षण नेपाली टोलीले गरेको प्रदर्शनपछि व्यक्त टिप्पणीहरूबाट प्रष्ट हुन्छ। चुनौतीका चाङबीच नेपाली खेलाडीले टी–२० विश्वकपमा गरेको प्रदर्शन प्रशंसायोग्य छ। राजनीतिक अस्थिरताबाट आहत भएका नेपालीलाई क्रिकेट खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर उत्साहित बनाएका छन्। नेपालमा क्रिकेटको भविष्य उज्ज्वल छ भन्ने देखाएका छन् नेपाली क्रिकेटरले। खेलाडीले त आफ्नो तर्फबाट प्रयास गरेका छन् तर खेलसँग सम्बन्धित निकाय र राज्यले नेपाली क्रिकेटलाई उज्ज्वल भविष्यतर्फ डोर्‍याउन अझै धेरै गर्न बाँकी छ। यसतर्फ समयमै सोचियोस्।

प्रशन्न गौतम, नयाँबानेश्वर, काठमाडौं

मेरो संलग्नता छैन

हिमाल (२–८ चैत) मा प्रकाशित 'गुन्डाको रजाईं' शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। नेपाली कांग्रेसको एक सक्रिय राजनीतिक कार्यकर्ता, सुनसरी कांग्रेसको सहसचिवका नाताले समाचारमा भनिए बमोजिमको हप्ता असुली जस्तो घृणित कार्यमा मेरो कुनै संलग्नता नभएको जानकारी गराउँदछु। देशभर हुने गरेका आपराधिक गतिविधिमा प्राप्त हुने गरेको राजनीतिक संरक्षणको चर्को विरोध गर्दै आएको म स्वयंलाई विना आधार र प्रमाण मुछिनुको कारण प्रष्टिन जरूरी छ। यस्ता समाचारको भरमा पार्टी र मप्रतिको दृष्टिकोण नबदल्न सबैमा हार्दिक अपील गर्दछु।

विकास आचार्य, सहसचिव

नेपाली कांग्रेस, सुनसरी जिल्ला समिति

comments powered by Disqus

रमझम