विगत बुझने प्रयास

Share:
  
- डा. रमेश ढुंगेल
बिहेवारी लगायतका प्रक्रियाबाट आफ्नो जातमा भित्र्याउने धेरैजसो भोट–हिमाली समुदायको सामाजिक समावेशीकरणको चलनले अनेक मूल व्युत्पत्तिको मानिस “राई” नामको बृहत्तर समुदायमा पस्न पुगे, सूचीकरण नै असम्भव हुने गरी।

नेपालका जातीय समुदायको पहिचानगत इतिहासको चर्चा गर्ने अघिल्लो लेख ('लिम्बू कि याक्थुङ्?' हिमाल १–१५ असोज) मा पूर्वी नेपालका याक्थुङ् वा 'लिम्बू' समुदायबारे छलफल गरियो। पूर्वबाट क्रमशः पश्चिमको जातिगत छलफल गर्दै जाने क्रमको यो दोस्रो आलेख किराँत 'राई' समुदायमा केन्द्रित छ।  

काठमाडौंका गोर्खाली शासकहरूले सम्झौताबाट पल्लोकिराँत लिए पनि माझ्किराँतमा धेरै युद्ध लड्नुपरेको थियो। ठूल्ठूला ज्यादतीहरू समेतका साथ भएका ती भीषण युद्धहरूमा पराजित कतिपय किराँती नायक/सरदारहरू ब्रिटिश सहयोगको अपेक्षामा भारत पलायन भएका ऐतिहासिक प्रमाणहरू छन्। पछि भने केही किराँत 'राई' सरदारहरूले काठमाडौंसँग मेलमिलाप गरेर 'मासिनेबाट नमासिने मतवाली'मा बढुवाका साथै अनेक स्थानीय अधिकार र सरसुविधा लिएका थिए।  
 
'राय' र 'राई'  
हिन्दुस्तानमा धेरै पहिलेदेखि प्रचलनमा रहेको शासकीय पद बुझाउने शब्द 'राय' कै अपभ्रंश हो– 'राई'। पश्चिमका खसहरूले पनि किराँतलाई सम्बोधन गर्दा 'राई' नै भनेको प्रमाण 'राईका आदेश', 'राईका साँघु' आदि ऐतिहासिक लेखोटहरू हुन्। मूल रूपको 'राय' शब्द 'रायो' हुँदै 'राई' बनेर स्थापित भएको देखिन्छ। रावाखोलाका चतमे राय र पामाखामका अटल (सिं) राय जस्ता किराँत सरदारका नाम यसका उदाहरण हुन्, जसका सन्ततिहरू आज खम्बू 'राई' भनेर चिनिन्छन्। माझ्किराँतका शासकीय अधिकारप्राप्त व्यक्ति र परिवारमा यसरी 'राय' शब्द 'राई' भएर प्रचलनमा रहँदा कालान्तरमा अनेक जातीय समुदायका मानिसले यसलाई थरको रूपमा ग्रहण गरे। झ्किराँत भन्ने क्षेत्रीय नाम पनि नेपाल एकीकरणअघि नै चलनचल्तीमा रहेको प्रमाण छ, जसले पल्लोकिराँत र वल्लोकिराँत भन्ने नाम समेत राणाकाल भन्दा धेरै अघिबाट चल्तीमा रहेको प्रष्ट पार्छ।  
 
पल्लोकिराँतका याक्थुङ्बाहरूले सेनकै समयदेखि 'राय' बाट विस्तारै सुब्बाको पहिचान बनाए भने खम्बू र अन्य किराँतहरूले आफूलाई 'राई', 'देवान', 'मझ्िया' जस्ता शासकीय पदले चिनाए। यसरी व्युत्पत्तिको हिसाबले 'राई' शब्दले कुनै एक जातीय समुदायलाई मात्र समेट्दैन। 'राई' पगरी (पद) त संखुवासभा, तुम्लिङटारका नरबहादुर कुमाल (हाल दिवंगत) ले पनि पाएका थिए, वि.सं. १९५० को नापीताका। संखुवासभाकै सभापोखरी क्षेत्रका याक्थुङ् परिवारले पनि 'राई' थर अपनाए भने बाह्रबिसेतिर कतिपय याक्थुङ्ले विशेष पहिचानको रूपमा नामको अगाडि 'राई' राखे। जस्तो– राई नरबहादुर लिम्बू (हाल दिवंगत), राई धनबहादुर लिम्बू आदि। मझ्िया पद भोटमूलका हिमाली जातिमा पनि प्रचलित थियो। 
 
किराँत क्षेत्र 
प्राचीन इतिहासमा वागमती उपत्यकाको आसपास र हिमाली क्षेत्रका समुदायहरूको सामूहिक नाम 'नेप्' (किराँत) थियो। 'नेप्' बाटै नेपाल नाम रहेको प्रचुर प्रमाणहरू छन्। यस हिसाबले आज किराँत क्षेत्र वा किराँत प्रदेश किटान गर्नु कठिन मात्र नभई असम्भवप्रायः हुनपुगेको छ। त्यसमाथि, किराँतका बृहत्तर सामुदायिक नामले चिनिने अनगिन्ती जातीय समूह काठमाडौंपूर्वको पाँचखाल इलाकादेखि भुटान छेउछाउसम्मै फैलिएका छन्। यही ऐतिहासिक बोधले हुनसक्छ, हिजोआज माझ्किराँतका केही 'राई' 'खम्बूवान् प्रदेश' भन्न थालेका छन्। 'किराँत होइन, खम्बूवान नामकरण गरियोस्' भन्ने खम्बूवान राष्ट्रिय मोर्चाको ज्ञापनपत्रमा खम्बूवानलाई शेर्पा, सुनकोशी, कोचिला, किराँत आदिमा विभाजित गरेर इतिहास र वास्तविकताको हुर्मत लिइएको अभिव्यक्ति छ।  
 
यस अवस्थामा अन्वेषक, अध्येता र राज्य सञ्चालकहरूलाई समेत 'राई' कसलाई मान्ने/भन्ने? किराँत कसलाई मान्ने/भन्ने? 'नेवा', 'नेवार' वा नेप् (किराँत) केबाट नेपाल बन्यो? तिनको इतिहास, व्युत्पत्ति र सामाजिक–सांस्कृतिक विकासको जरो/लहरो के हो? जस्ता प्रश्नका उत्तर खोज्न कठिन भएको छ। कुनै–कुनै स्रोतमा माझ्किराँतका किराँतलाई एउटै सामुदायिक नाम 'वार–वोम्–वा' र 'जिमदार' तथा पल्लोकिराँत (अरुण–टिष्टा) का किराँतहरूलाई याक–थुम्–वा भनेको पाइन्छ। यी दुवै शब्द भोट–किराँत भाषाका हुन् भन्नेमा शंका छैन। भोटमूलको भाषा परिवारमा 'वार' वा 'वर' को अर्थ बीच भन्ने हुन्छ भने बोम्–पा शब्द बौद्ध संस्कृति अघिको पुरातन 'वोम्' वा 'वोन्' बाट आएको हुन सक्दछ। लेप्चा समुदायमा प्रचलित 'बोम् थिङ्' वा 'वोन् थिङ्' जस्ता नाम पनि प्राचीन भोट सभ्यतासँग जोडिएको देखिन्छ।  
 
'याक–थुम्–वा' वा 'चोङ्–वा'को अर्थ पहाडका टुप्पामा बस्ने भनेर प्रमाणित भइसकेको छ। 'याक–थुम्–वा' वा 'चोङ्–वा' पहाडको टुप्पो जस्तो छाना वा चुली भएका घरमा बस्ने भन्ने अर्थमा पनि प्रयोग भएको पाइन्छ। 'माझ्' र 'वल्लो' किराँत क्षेत्रमा बस्ने अनेकन समुदाय 'पाछा' (समूह)बाट छुटिन्छन्। पल्लोकिराँतको उत्तरपश्चिम भूभागभित्र पनि दर्जनौं किराँत पाछाहरू छन्।  
 
पुराना किराँतहरू मूलथलोबाट सरेर 'नाम्माव' भन्ने जङ्गल इलाकामा बस्ती बसाउँदै, पातको पर्वत श्रृंखला नाघ्दै 'ताइरोङ्' (ताइ) भन्ने होचो इलाकामा पुगेको कुरा चिनियाँ स्रोत र किराँत कथाहरूमा पाइन्छ। किम्बदन्तीहरूमा १० हाङ किराँत चीनतर्फबाट पातकोइ पर्वत छिचोल्दै आसाम भएर पल्लोकिराँत र पूर्व तराईसम्म फैलिएको वर्णन पाइन्छ। माझ्किराँतका चाम्लिङ, वान्तवा, कुलुङ, खालिङ, नाछेरिङ (शुद्ध तिब्बतीमा 'छेरिङ' को अर्थ लामो आयु) दुमी, कोई, पुमा, साङ्पाङ्, रुम्दाली जस्ता खम्बूराईका थरहरू छन्। पुरातनकालदेखि बसोबास गर्दै आएका हिमाली क्षेत्रका भोटमूलका समूहले आफूलाई जिमी वा जिमिदार भनेर पनि चिनाउँछन्। सोताङे, छिन्ताङे, बाम्बुले जस्ता ठाउँविशेषका यादरङ, गौघाङ, दासिङसामा, मनथर्न जस्ता समूहगत नाम वा थर पनि छन्। हिजोआज धनकुटाका आठपहरे 'राई' तथा इलाम, पाँचथर र संखुवासभाका याक्खाहरू समेतलाई मिलाएर पूर्वी किराँत प्रदेशको समेत माग हुनथालेको छ। 
 
'राई' र याक्खा 
आफूलाई खम्बू नमान्ने पल्लोकिराँतको उत्तरपश्चिमतर्फका 'याक्खा', 'याम्फू', 'लोहरूङ्', 'मेवाहाङ' आदिले आफ्नै अस्तित्वको प्रदेशको माग गरिरहेको विषय महत्वपूर्ण छ। याक्खाहरू देवान, मझिया जस्ता शासकीय पदसँग सम्बन्धित नामले चिनिन्छन्। मझिया पद भोटमूलका अधिकारप्राप्त व्यक्ति वा समुदायले पनि लिन पाउने चलन थियो भन्ने प्रमाण पाइएका छन्। 'याम्फू', 'लोहरूङ्' र 'मेवाहाङ' भोटमूलका भएको कुरा स्थानीय संस्कृतिले नै बुझाउँछ। लोहरूङ् नाम भोटमूलको भाषाको 'ल्हो' र 'रोङ्' बाट बनेको स्पष्टै छ, जसको अर्थ हुन्छ– भोटबाट दक्षिण (ल्हो) तल (रोङ्) पहाडी क्षेत्र झ्रेका।  
 
ल्होरुङ् 'राई'का विजुवाहरूका या–ताङ्–पा र माङ्–पा भन्ने नाम पनि भोटमूलकै हुन्। त्यसैगरी, 'याम्फू' नाम याम् (विशाल, स्थूल) र फू वा फुग् (गुफा वा ओडार) बाट बनेको हो। यसलाई गुफा, कन्दरामा बस्दै बसाइँसराइ गरेको समूह भनेर अर्थ्याउन सकिन्छ। भोटमूलका जातीय समूहको व्युत्पत्तिको कथायुक्त पुस्तक 'तम्ग्यी पेछा' (तम्–पे) जस्तै लोहरूङ्को 'पे–लम्' हुन्छ, जसमा पेको अर्थ कथायुक्त परम्परा पहिल्याउने बाटो हो। त्यसैले ल्होरुङ 'राई' को पेलाम्, मुन्थुम् वा भोटको मोल्–तम् वा तम्ग्यी पेछा पुराना कथा इतिहासलाई जनाउने समानार्थी सामग्री हुन्। इमानसिं चेम्जोङले किराँतीहरू 'गो भक्षक' भएको उल्लेख गरेका छन्, जसले चीनको भोट संस्कृतिसँगको सम्बन्ध देखाउँछ। 
 
खम्बूको लहरो 
खम्बूको कुरा गर्दा हामीले कि तिब्बती र स्थानीय परम्परामा अत्यन्त आदर गरिएको पहाडी श्रृंखला खम्पालिङ्, खम्पालुङ् वा खाम्पाजोङ्लाई मान्नुपर्दछ, कि त सोझ्ै तिब्बतको खाम प्रदेश पुग्नुपर्दछ। हाम्रो खाम्पालुङ् वर्तमान सोलुखुम्बुको पूर्व र संखुवासभाको पश्चिम–उत्तरमा पर्छ। स्थानीय किराँतीहरू अहिले पनि 'खम्पालुङ्मा लैमालुङ् डम्फू हा–हा!!' भन्दै आल्हादित हुन्छन्।  
 
खम्पालुङ्लाई खाम्पाछेन र जोङ् पनि भनिन्छ। पुराना लेखोटमा खाम्पालुङ् वा खाम्पाछेन क्षेत्रमा भोटमूलका किराँतको प्रवेश हुनुअघि सिन्तुसति नामका खाम मगर (मंगोल) राजाले राज्य गरेको र उनको किल्लाबाट खम्पालुङ् जोङ् अर्थात् खम्पाजोङ् नाम रहेको उल्लेख छ। यस आधारमा यो खम्बूहरूको पनि व्युत्पत्ति स्थल हुन सक्छ। अर्को महत्वपूर्ण कुरा के भने, किराँत परम्परामा बौद्ध संस्कृति नभएर पुरानो वोन् वा झाँक्री प्रथाको प्रभाव धेरै छ।  
 
कतिपय किराँत समूहको सम्बन्ध चीनको ताइस्यान वंशसम्म पुग्छ। त्यस वंशका मानिसहरू पल्लो किराँतको पश्चिम भेक (पहिला चैनपुर इलाका अन्तर्गत) सम्म आई बसोबास गरेका कुरा पुराना लेखोट र कहावतहरूमा पाइन्छ। यसतर्फका किराँत 'राई' का क्षेत्रहरूलाई स्पष्ट रूपमा पाँच खपन, १० मझ्िया जस्ता नाम राखेर प्रशासनिक व्यवस्था मिलाइएका पनि पाइएका छन्। पाँच खपन, १० मझिया भनिने इलाका 'लिम्बू' सुब्बाहरू अन्तर्गत नभएर 'राई' हरू अन्तर्गत राखेर जिम्मेवारी दिने चलन थियो। सत्र थुम र तेह्र थुमको व्यवस्था चाहिं लिम्बूतर्फको हो। थुम् भनेको इलाका, क्षेत्र वा केन्द्र हो। मुस्ताङ भेकमा यस्ता क्षेत्रलाई ७ थपौंला भन्ने चलन छ।  
 
ऐतिहासिककालदेखि उत्पत्ति, संस्कृति–सभ्यता, बसोबास क्षेत्र आदि सबै कारणबाट 'राई' नामले चिनिने किराँतहरूको वास्तविक क्षेत्र र समूह किटान गर्नु धेरै कठिन छ। किराँतभित्रैबाट 'पूर्वीकिराँत', 'खम्बू', 'वल्लोकिराँत', 'लिम्बूवान्', 'याम्फू', 'ल्होरुङ' जस्ता प्रदेशको माग भइरहेको सन्दर्भमा किराँत समूहहरूको अझ् गहन अध्ययन अत्यावश्यक छ। नत्र, किराँतहरूबाट मात्र थप दर्जनौं प्रदेशको माग हुनसक्छ, एक दिन। 
 
राजनीतिक इतिहासको आधारमा, अरुण पश्चिम र लिखुकोशी पूर्वको भूभाग (माझ्किराँत वा नौलाख किराँत) लाई खम्बू किराँतीको प्राचीन बसोबास क्षेत्र मान्नुपर्छ। लिखु पश्चिम सुनकोशी नदी छेउछाउसम्मका क्षेत्रलाई वल्लोकिराँत भनिएका ऐतिहासिक प्रमाणहरू छन्। आज जातीय समूहगत बसोबासका हिसाबले यी किराँत क्षेत्रलाई छुट्याउन धेरै कठिन छ। पल्लोकिराँतमा पश्चिम र उत्तरतर्फका विभिन्न नामका भोटमूलका 'राई' र याक्खाका साथै धनकुटामा आठपहरिया 'राई' आदिका बसोबासले यसलाई याक्थुङ् क्षेत्र भन्न त्यति नै असम्भव छ, जति खम्बू वा माझ्किराँत मान्न।  
 
बनेपा, धुलिखेल, पाँचखालतर्फका पुराना नेवार वस्तीबाट वल्लोकिराँतका मुर्मि (तामाङ) र किराँतको सीमा छुट्याउन पनि त्यत्तिकै कठिन छ। खाम्पालुङ् जस्ता हिमाली तीर्थस्थलहरूलाई किराँत क्षेत्रमा राख्दा पछि बनेका र बसाइँसराइ हुँदै आएका श्यार्–पा (शेर्पा) हरूका क्षेत्रको सिमाङ्कन पनि सजिलो छैन। नेपालका सबै जातीय समुदायको भावुकता र तथ्य दुवैलाई समेट्ने इतिहासको खोजमूलक सैद्धान्तिक व्याख्याको खाँचोलाई भने कसैले नकार्न सक्ने अवस्था छैन। 
 
'मुनथुम्' संस्कृति   
'राई' नामले चिनिने समुदाय जेसुकै उत्पत्तिका भए पनि 'मुन्थुम्' (मुन्धुम) संस्कृतिका हुन्। याक्थुङ्हरू जस्तै आफूलाई ल्हासा वा भोट उत्पत्तिका र भ्रमवश काशी व्युत्पत्तिका भनेर दुई थरी 'राई' को रूपमा चिनाउने चलन पनि छ। कतिपय स्रोत र किम्बदन्तीहरूमा राईका दश पुर्खामध्ये पाँच उत्तर भोटमूल र पाँच दक्षिणी मैदान वा अन्यत्रका भएको चर्चा पाइन्छ। पछि यी दुवैथरी मिसिएर तेस्रो थरी पनि बने।  
 
ब्रायन हज्सनले संकलन गरेका किराँत–याक्थुङ् (लिम्बू) विषयका ११ ठेली सामग्रीमा मुन्धुमलाई 'मुन्–थुङ्' वा 'मुन्–थुम्' भनिएको छ। चाखलाग्दो कुरा के छ भने, किराँतको 'मुन्थुम्' शब्द भोट मूलको मुन् () र थुम् () अर्थात् अन्धकारलाई पोको पार्ने वा अज्ञानता हटाएर ज्ञानको उज्यालो ल्याउने भन्ने अर्थमा प्रयोग भएको छ। पहिले श्रुति परम्परामा रहेका र पछि सिरिजङ्गा लिपिमा उतारिएका उज्यालो आमन्त्रण गर्ने 'मुन्थुम्' हरूलाई एकराते, दुईराते वा तीनराते भनेर चिन्ने, चिनाउने चलन छ। मुन्धुमको उच्चारण र लेखनलाई स्थान र समयको भेदले फरक पारेको हुनुपर्छ।  
 
वल्लोकिराँतका वाम्बुले, रादु, तिलुङ, जेरो, वाहिङ, सुनुवार (कोइच), जिरेल, सुरेल, हायू र थामीहरूले मुन्धुमलाई 'मुग्–दुम्' (मुग्दुम्) भन्छन्। पहिले बोली/श्रुतिमा मात्र रहेको र पछि किराँत लिपि बनेपछि लेख्ने क्रममा उच्चारण फरक भएको हुनुपर्दछ। व्युत्पत्ति भने भोटमूलकै लिपि र उच्चारणको 'मुन्–थुम्' बाट भएको देखिएको छ। यस आधारमा को किराँत 'राई' हो, को होइन भन्न गाह्रो छ।  
 
हज्सनका किराँत सहयोगी 
ब्रायन हज्सनले 'राई' लाई मात्र किराँत समूहमा राखेर अध्ययन गरेका छन्, जुन ऐतिहासिकता र अन्य वास्तविकताको नजिक देखिंदैन। प्राचीन किराँतको पहिचान र दूधकोशीदेखि सिक्किमसम्मका किराँतहरू सबै वास्तवमा बृहत्तर किराँत समुदायकै अनेक उपसमुदाय हुन् भन्नेमा शंका छैन। उनीहरूलाई मुन्धुम र पूर्वरुपको वोन संस्कृतिले समेटेको कुरा यहाँ उल्लेख्य हुन्छ।  
 
हज्सनले पृथ्वीनारायण शाहको '९ लाख किराँत' भन्ने लेखोटलाई ९ हजार आना कर उठ्ती हुने माझ्किराँतको इलाका भनेर अर्थ्याएका छन्, तर स्रोतको अभावमा विश्वस्त हुने ठाउँ छैन। बरु ६० पैसाको १ रुपैयाँ गणना हुने १८औं–१९औं शताब्दीताका ९ लाख पैसा अर्थात् लगभग रु.१५,००० उठ्तीको प्रसंग हुन सक्दछ, यो। यसमा थप खोजी आवश्यक छ। हज्सनले निकै समय र रकम खर्च गरेर किराँत अध्ययन गरे पनि स्पष्टताको मार्ग पहिल्याउन चाहिं नसकेकै हुन्। तर, आज र भोलि हुने अध्ययनका निम्ति उनको काम महत्वपूर्ण स्रोत भएको छ।  
 
हज्सनले ठाउँठाउँका किराँतीहरूलाई दार्जीलिङमै आमन्त्रण र नियुक्ति गरेर अध्ययन गरेका थिए। उनका 'राई' किराँती अध्ययनका स्रोतव्यक्तिमा मझिवाका वीरसिं हायू, दिल्पाथुम्का रुचिन्नो किराँती राई (जोगी), मझि व सोल्माका गजउल किराँती राई, हलेसी कात्तिकेका रघुवीर चाम्लिङ राई, मझिवाका सुरथ राई, अरुण क्षेत्रको स्यावुन (हाल संखुवासभा) का रहरसिं चाम्लिङ राई, ताङखुवाका गुन्मान खोजुम (थाक्थुङ्) आदि थिए। ह 
 
 
p37a
 
१८५८ को लालमोहर 
 
स्वस्ति श्री मन्महाराजाधिराजकस्य रुक्का
 
आगे धर्म्म राइके माझ् किरातमा दावा दिर्पा (दिल्पा) को साँघु २ पौवा २ के सकरषंडया षेत (खेत) मुरि ३० येति षेत साँघु पौवाको चिताइ गर्नु भत्क्या विग्रयाको बनानु पौवा झिंटकि (झिंगटी) ले छाउनु. नबनाया अपसरिया (खोसुवा) होला तँला ई झारा (सरकारलाई बुझाउनुपर्ने/सित्तै गर्नुपर्ने काम) पनि माफ गरिबक्स्यौं आफ्ना खार्तिजामा सग पौवाको चीताइ गरि भोग्यगर इतिसम्वत १८५८ साल मि ति भादौ सुदि ९ रोज ४ शुभम् 
 
(लालमोहरको दुरुस्त उतार केही कोष्ठका व्याख्या बाहेक) 
 
 
p37
 
१८८८ सालको लालमोहर 
 
स्वस्ति श्री मन्महाराजाधिराजकस्य रुक्का
 
आगे. दुदकोसी बहादुरा पुर्व अरुन पश्चिम. माझ् किरात भर अम्वतका (गुरु) प्रोहित भैवाद गोतिया चौतररीया काजी कपर्दार. सर्दार. सुब्बा. सुवेदार. डीट्ठा. नजिकी. जेठा बुढा. विर्तवार. वितलप्या. मोहोरीया. छाप छप्याली अमालीदार गैरप्रति आफ् ना आफ्ना अम्बल भरको भोटया राइ मझिया किराती मुर्मि सिकार खेल्न्या सिवु षान्या येतिका घरहि एक एक डीगा भैसी बाघ भालु मृग जरायाका छाला त हसील गरिदिनु. छाला दिन. नसक्न्याका घरहि दुइ दुइ आना दाम तहसील गरिदिनु. सार्कि कामीका घरहि आठ आठ आना दाम साविक वमोजिम् तहसी ल गरिदिनु. तहसील गर्न आउन्या कंपुका बहिदार जिम्मादार. हुद्दा. सिपाहीमा र्फत् सालवसाल तहसील गरिदिनु. तहसील गर्न आउन्याले अम्वलभरका प्रजा झारा गरि हुलाक (भारी) बोकाइ दाम र छाला षसोषास मेगजीन (सैनिक अड्डा) दाषील गरी सालवसाल मेगजीनका सुवेदारका रसिद ली जानु. इति सम्वत १८८८ साल मीती कार्तिक शुदि १४ रोज ६ शुभम् 
 
(लालमोहरको दुरुस्त उतार)
comments powered by Disqus

रमझम