१६-२२ चैत २०७० | 30 March-5 April 2014

मनोरञ्जनको खानी

Share:
  
- महेश थापा
पत्रपत्रिका, टेलिभिजन, इन्टरनेट आदिमा हुने पिंडुला प्रदर्शन हेरेर मनोरञ्जन लिने रसिकहरूले अब समाचार च्यानलतिर लाग्दा बेस होला।

बिलाश राई
वेबसाइटहरूमा हत्ते हालेर सर्वाधिक खोतलिने पिंडुलाजन्य सामग्री नै हुन्छन्। संरक्षणवादी मित्रसँगको भेटपछि मैले भने मनोरञ्जनको अर्कै खजाना भेटेको छु।

“घरमा हिन्दी सिरियल आयो, हलमा म्लेच्छ फिल्मको बोलवाला छ। हाम्रो भाषा, कल्चर माथि भल्चरहरूको यति नग्न आक्रमण हुँदा पनि नेपालीहरूको बुद्धिको बिर्को उघ्रेको छैन। सम्झेर ल्याउँदा त... उफ्!”

मित्रको चिन्ताले मेरो घैंटोमा घाम लगाएपछि होस्टेमा हैंसे थप्ने मनसुवाबाट ओतप्रोत भई घरको केबुल कनेक्सन च्वाट्ट पार्दा मैले झवाट्ट थाहा पाएँ– नेपालमा त समाचार च्यानल मात्र रहेछन्। संरक्षणको चक्करमा परेर मनोरञ्जन जस्तो आधारभूत आवश्यकताबाट विमुख हुनुपर्ने भएपछि मित्रसँग समस्या पोखें।

“कस्तो बकम्फुसे कुरा गर्छौ? धैर्यवान भई हेर, समाचारमा जति मनोरञ्जन अन्यत्र कतै भेटिंदैन।”

यसरी मलाई मित्रले ज्ञान दिए। नभन्दै, झ्मझ्म पानी परिरहेको वेला 'मौसम सफा रहनेछ' भन्ने समाचारले दिने रमाइलो र नेपाल बन्दको दिन 'सार्वजनिक यातायात ठप्प' भन्ने रेडियोको फुकाइ सुनेर माइक्रो बसमा बन्द यात्रुमा चढ्ने पारो सम्झ्ँदा मित्रको बातमा दम भएको महसूस गरेर समाचार च्यानलहरूमा गोता मार्न थालें।

एउटा समाचारले आलङ्कारिक राष्ट्राध्यक्षले कार्यकारी प्रमुखलाई निर्देशन दिनुलाई सोह्रै आना सही भन्छ, अर्को समाचारले सरासर गलत। एउटा समाचारले कसैलाई अनाचारको आकृति देख्छ भने अर्कोले ईश्वरीय सद्गुणको प्रतिमूर्ति। एकअर्कालाई गलत सावित गर्न मच्चिने समाचारहरूको भाले भिडन्त त हामी ग्वाँचहरूका लागि फोकटको मनोरञ्जनको खानी पो रहेछ। गाईजात्रे कार्यक्रमहरूलाई समेत ग्वाँ पार्ने यस्ता समाचारहरूको अगाडि मनोरञ्जन च्यानलहरू साँच्चै भारेभुरे हुन्।

झाँकीः १

एउटा टेलिभिजनमा विभाजित पार्टीका दुई नेता दन्तबजान गर्दै छन्।

“देशबेचुवा, राष्ट्रघाती लेन्डुप दोर्जी।”

“संकीर्णतावादी, विकास विरोधी पोलपोट।”

“सिद्धान्तहीन, हिम्मतहारा।”

“जडसूत्रवादी, जनमारा।”

नेताद्वयको हाउभाउ हेर्दा त्यहाँ मल्लयुद्ध नै चल्ने हो कि भन्ने त्रासमा दर्शकहरू सलामतीको कामना गर्न बाध्य हुन्छन्। दिक्क लागेर ट्याक्क च्यानल चेन्ज गर्छु त त्यही जोडी मोर्चाबन्दीको उद्घोष गरिरहेका। पत्रकार छिल्लिंदै सोध्छन्, “उत्तर र दक्षिणबीच मेल कसरी?”

“कुरो मिलेको स्थिति हो”, पहिलो नेता भन्छन्।

“नमिलेको मध्ये कुनचाहिं कुरो मिल्यो?” पत्रकार छाड्नेवाला छैनन्।

“अब कुरो मिल्यो भन्नुस्”, दोस्रो नेता बोले।

“मैले कसरी भन्नु? तपाईंहरू नै भन्नुस् के कुरो मिल्यो?”

“तपाईं पत्रकार मित्रले मने हलो अड्काएर गोरु चुट्नका निम्ति दुई भाइ जुट्न लाग्या हौं भनाउन खोज्नुभएको हो भने त्यसमा सफलता मिल्ने छैन भन्ने हाम्रो ठम्माइ हो।” त्यसमा पहिलो नेताले थपे, “अहिले मने यत्ति बुझनुस् कि माया बैगुनी... नभई नहुने।”

दृश्य मह जोडीलाई माथ खुवाउने मनोरञ्जक थियो।

झाँकीः २

पत्रकारको प्रश्नबाट हायलकायल एक नेतृले पसिना नपुछी भनिन्, “कस्तो गाह्रो प्रश्न सोध्नुहुन्छ, तपाईं पत्रकार हो कि अलपत्रकार?”

“खाँटी पत्रकार।”

“त पत्रकार भन्दैमा जे पायो त्यही सोध्ने? मान्छेको हिस्ट्री, जोग्राफी र लिगेसी हेरेर प्रश्न गर्नुस्, बुझनुभो!”

“के सोध्ने त?”

“तुल बोकेर घर–घर देउसी खेल्दै हिंड्ने पत्रकारहरूले जस्तो प्रश्न सोध्नुस् न!” जटिल प्रश्न सोधेको काण्डमा बीचमै अन्तर्वार्ता रोकिएको दृश्य कम्ता रमाइलो थिएन।

झाँकीः ३

नेपाली चलचित्रमा बढ्दै गएको नग्नता र छाडा दृश्यले समाज भाँडेकोमा चिन्तित अर्को टेलिभिजनका प्रस्तोता 'हिरोइन भए साह्रै गतिछाडा, नेपाली समाज कता जाला?' भन्ने टाइपको गनगन गर्दै 'एरो' लगाई–लगाई, 'घेरो' घुमाई–घुमाई र 'जुम' गरी–गरी देखाउन नहुने भनिएको दृश्य देखाइरहेका थिए।

अब तपाईं पनि नेपालमा मनोरञ्जन च्यानल भएनन् भन्दै विदेशी च्यानलमा लट्टन लाउनुभन्दा समाचारमै मनोरञ्जन खोज्ने आदत बसाली स्वदेशी संस्कृतिको जगेर्नामा अग्रसर हुनुस्।

comments powered by Disqus

रमझम