१६-२२ चैत २०७० | 30 March-5 April 2014

झुसिले आतंक

Share:
  
पाँचथरका केही गाविसमा एकाएक देखिएको झुसिल्किरा आतंकबाट मानिस र गाईवस्तु हैरान भएका छन्।

लक्ष्मी गौतम
गाविस र इलाका परिषद्ले जिल्ला विकास समितिसँग मोटरबाटो खन्ने, त्यसमा ग्राभेल गर्ने, खानेपानी ल्याउने, पुल–पुलेसा बनाउने र मर्मत गर्ने जस्ता माग राख्ने गरेकोमा पाँचथरका एक दर्जन गाविस र इलाका परिषद्ले भने झुसिल्किरा नियन्त्रण गर्न माग गरे।

झ्ुसिल्किराले गाईवस्तुले खाने डालेघाँस, जंगल, अलैंची र अमि्रसो नष्ट पार्दै खानेपानीको मुहानलाई समेत फोहोर र असुरक्षित बनाएपछि ती गाविस र इलाका परिषद्ले यो वर्ष यस्तो माग गरेका हुन्।

रोग बढायो

मलिलो र ओसिलो माटो भएका ठाउँका रूख–बुट्यानमा लाग्ने टाउको र शरीर हल्का रातो भएको यो कीरालाई शरीरमा कडा रौं (झुस) हुने भएकाले झुसिल्किरा भनिएको हो। यसको रौं पर्नासाथ मान्छे र जनावरको शरीर चिलाउने, फोका उठ्ने, घाउ बढेर आँखा र जिब्रो पाक्ने गर्छ।

घाम तात्न थालेपछि रूखका फेदमा थुप्रिने र साँझ् पर्दै गएपछि रूखको टुप्पातिर चढ्ने भएकाले यसलाई काउछो र लस्करे कीरा पनि भनिन्छ।

गत असोज महीनादेखि इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङमा देखिन थालेको यो कीराको बढी प्रकोप पाँचथर पूर्वोत्तरका सिदिन, मेमेङ, प्राङवुङ, एकतिन, च्याङथापु, फलैंचा, लुङरुपा, याङनाम, रानीटार र ओयाम गाविसमा बढी छ।
२९ फागुनमा गाईलाई घाँस काट्दा पाँचथर एकतिन–३ जिमाहाका पदमध्वज आङथोपुको आँखामा झुसिल्किराको झुस पसेर चिलाउन थालेपछि स्वास्थ्यकर्मीको सल्लाहमा 'आइड्रप' हाल्दा पनि निको नभएर आँखा सुन्निंदै पाक्न थाल्यो। जिल्ला अस्पतालमा अप्रेशन गराएका उनी भन्छन्, “झ्ुसिल्किराले झ्न्डै आँखाको ज्योति लग्यो।” झुसिल्किराको झुस बिझेर आँखाको उपचार गराउन पाँचथरको एकतिन, मेमेङ र प्राङवुङ गाविसका दर्जनौं मानिस आएको स्थानीय स्वास्थ्यकर्मी बताउँछन्।

रूख, पात र भुईंघाँसमा छरिएका झुस खाएर गाईवस्तुको च्यापु, जिब्रो सुन्निने, रौं र्झ्ने र आँखा पाक्ने समस्या पनि देखिएको छ। मेमेङ–३ की मनिता जवेगू यो समस्याले कैयौं गाईवस्तु मरेको बताउँछिन्। खानेपानी मुहानबाट झुस बगेर धारामा आएपछि त्यो पिउने मानिस र गाईवस्तुमा जिब्रो र घाँटी चिलाउने समस्या देखिएको पनि उनको भनाइ छ।

झुसिल्किराको झुस पसेपछि आँखाको अप्रेशन गरेर आराम गरिरहेका पदमध्वज आङथोपु।
प्राङवुङ गाविसका प्राविधिक सहायक उदय तिम्सिना झुसिल्किराले पुराना पात र नयाँ पालुवा समेत खाएकाले उत्तिसको जंगल र डालेघाँसका रूख उजाड देखिएको र पानीको मुहान पनि सुक्न थालेको बताउँछन्। झुसिल्किरा बस्ने रूखको आसपासमा घाँस पनि नपलाउने हुँदा बालीनाली उम्रन नसकेको उनको भनाइ छ। बतास चल्दा रूखको झुस उडेर पैदल र सवारी साधनका यात्रुलाई समस्या पारेको फिदिम―याङनाम―फालौट मार्गका ट्याक्सी चालक हस्त मगर बताउँछन्।

स्थानीय निकायको चासो

प्राङवुङ, मेमेङ, सिदिन, च्याङथापु, लुङरुपा र एकतिन गाविस, तीन नम्बर इलाका परिषद् बैठकले झुसिल्किरा नियन्त्रण गर्न जिविससँग माग गर्दा शुरूमा आश्चर्य लागेको पाँचथरका स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठ बताउँछन्। तर, दलका प्रतिनिधिसँग लुङरुपा गाविस पुगेपछि जिल्ला विकास समितिको स्रोतले मात्र समस्या समाधान नहुने देखेर वन, पशुसेवा र कृषि विकास कार्यालयको राय सहित स्थानीय विकास, वन र कृषि मन्त्रालयमा बजेट माग गरिएको उनको भनाइ छ।

झुसिल्किरा नियन्त्रण गर्ने उपाय जिल्ला कृषि र वन कार्यालयले अझै पत्ता लगाउन सकेका छैनन्। विषादि प्रयोग गरेर नियन्त्रण गर्न सकिए पनि वन्यजन्तु र वातावरणमा प्रतिकूल असर पार्ने र खर्चिलो पनि हुने जिल्ला कृषि विकास कार्यालय पाँचथरका बाली संरक्षण अधिकृत लक्ष्यबहादुर चौधरीको भनाइ छ।

लक्ष्मी गौतम, पाँचथर


फिल्टरले दियो खुशी

गोपाल गडतौला
मोरङको इटहरा–८ मा तीन वर्षअघिसम्म थाल–बटुकामा पहेंलो कस बस्ने, बिहान–बेलुका माझदा दाँत पहेंला हुने र नयाँ लुगा धुँदा पुराना र पहेंला देखिने धमिलो पानी चापाकलबाट आउँथ्यो। “बायोस्याण्ड फिल्टर जडान भएपछि आर्सेनिक, आइरन, लेदो, गन्ध र जीवाणु नभएको पानी आउन थालेको छ” फिल्टर निर्माण गर्ने सहकारी संस्थाका अध्यक्ष देवीप्रसाद दाहाल भन्छन्, “यो फिल्टरले हाम्रो सहकारीलाई जिल्लाको उत्कृष्ट पनि बनायो।”

रु.९० हजारको लगानीमा १२ वर्षअघि खोलिएको सातमेडी बचत तथा ऋण सहकारीले सिमेन्ट, बालुवा र गिटीबाट साढे तीन फिट अग्लो, एक फिट लामो र एक फिट चौडाइको बायोस्याण्ड फिल्टर क्यानेडियन संस्था 'काष्ट' र जनस्वास्थ्य तथा वातावरण संस्था एन्फोको प्राविधिक सहयोगमा बनाएको हो। शुरूमा सहकारीको कारखानाले दैनिक एउटा फिल्टर उत्पादन गरेकोमा अहिले दैनिक १२ वटा उत्पादन गर्न थालेको छ। चार जनालाई प्रत्यक्ष रोजगारी दिएको यो उद्योगका उत्पादन अहिले पूर्वाञ्चलका सबै जिल्लामा पुगेका छन्। अध्यक्ष दाहाल गाउँले छोरीको बिहेमा एक क्वीन्टल गह्रुङ्गो फिल्टर समेत उपहार दिने गरेको बताउँछन्।

कारखानाबाट किन्दा रु.२ हजार पर्ने फिल्टर ढुवानी खर्च धेरै लाग्ने ठाउँमा रु.३ हजारमा बिक्री गरिन्छ। आर्थिक वर्ष २०६९/७० मा सहकारीले २९,०७८ वटा फिल्टर रु.५९ लाख ६० हजारमा बिक्री गरेको थियो। त्यो वर्ष फिल्टर उत्पादनमा रु.२८ लाख ३२ हजार ५१९ लागेकोमा रु.३१ लाख २७ हजार ४८१ नाफा भएको थियो। रु.१० हजार लगानी गरेका सबै शेयरधनीलाई सहकारीले रु.७ हजारका दरले बोनस बाँडेको थियो।

विराटनगरबाट ६० किलोमिटर पूर्वमा रहेको यो सहकारीले गत आवमा रु.१ करोड ६६ लाख २९ हजार ६५८ कारोबार गरेको थियो भने रु.१ करोड ५ लाख ६६ हजार ५०० ऋण लगानी।

गोपाल गडतौला, मोरङ


अपराध घट्यो

डीआईजी जयबहादुर चन्द।
सुदूरपश्चिममा माघ, फागुन र चैत महीनामा आपराधिक घटना बढी हुने गरेकोमा यो वर्ष अघिल्ला दुई महीनामा कम भएको देखिएको छ। माघ २०६८ मा सुदूरपश्चिममा १०३ र माघ २०६९ मा १११ आपराधिक घटना भएकोमा यो वर्ष ८५ मात्र भए। फागुन २०६८ मा १०० र फागुन २०६९ मा १२१ घटना भएकोमा यो वर्ष ९९ मात्र भए। सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख डीआईजी जयबहादुर चन्द तीनमहीने विशेष सुरक्षा योजना सफल कार्यान्वयन भएकाले अपराध उल्लेखनीय रूपले घटेको बताउँछन्।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष गणेशदत्त जोशीको भनाइमा पहिलेभन्दा प्रहरीको सक्रियता बढेकोले आपराधिक घटना कम भएको हो।

सुदूरपश्चिमका ९ पहाडी जिल्लामा रक्सी र जुवा तथा तराईका कैलाली र कञ्चनपुरमा लागूऔषध, तस्करी र सीमा अपराधको समस्या छ। आफ्नो आचरण सुधार गर्दै ती अपराध नियन्त्रण गर्न 'विशेष सुरक्षा योजना' ल्याइएको प्रहरीको भनाइ छ। सुदूरपश्चिममा कार्यरत ६ हजार १०० प्रहरीलाई मदिरा सेवन गरे/नगरेको परीक्षणमा राखेर मदिरा सेवन गर्नेलाई काउन्सिलिङ गर्ने वा सुधार गृहमा राख्ने गरिएको प्रहरी बताउँछ। पहाडमा इन्स्पेक्टर र तराईमा डीएसपीको नेतृत्वमा 'चेकिङ टीम' खटाइएको र त्यसको सिफारिशको आधारमा तीन जना प्रहरीलाई निलम्बन गरिएको तथा १७ जनालाई आन्तरिक कारबाही गरिएको प्रहरीको तथ्याङ्क छ।

सीमा अपराध, लागूऔषध कारोबार र तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा 'अपि' र कैलालीमा 'सैपाल' नाम दिएर परिचालन गरिएका टोलीले दुई महीनामा रु.४ करोड बराबरको चोरी–तस्करीको सामान बरामद गरेको प्रहरीको तथ्यांक छ। 'अपि' टीमका इन्चार्ज प्रहरी निरीक्षक ज्ञानबहादुर बिष्ट अभियानका क्रममा १८ जना फरार अपराधी पनि पक्राउ परेको बताउँछन्।

सर्वसाधारण, राजनीतिक दलका नेता–कार्यकर्तासँग नियमित अन्तरक्रिया गर्दै सहकार्य गरिएको यो अभियानका लागि गस्ती गर्ने साइकल अभाव भएर व्यवसायीसँग माग्नु परेको डीआईजी चन्द बताउँछन्।

बच्चु विक, महेन्द्रनगर


बाख्रालाई आधुनिक खोर

सविता श्रेष्ठ
बाख्रापालक रविकिरण पौडेल।
चितवनको भरतपुर–११ का रविकिरण पौडेल (४०) ले रु.७० लाख लगानीमा पश्चिम चितवनको जगतपुर–७ धम्पुसेमा आधुनिक खोर बनाएर बाख्रापालन थालेका छन्। सामाजिक संघ–संस्था मार्फत किसानलाई जीविकोपार्जन गर्न सक्ने बनाउन सीप सिकाउँदै आएका पौडेलको खोर पिलर हालिएको दुईतले र जस्ताले छाएको छ। भुईंतला खाली राखिएको खोरको माथिल्लो तलामा पाठापाठी, गर्भिणी माउ र हुर्केका खसी–बाख्रा राख्ने वेग्लावेग्लै खण्ड बनाइएको छ। तीन सय माउ बाख्रा अटाउने यो खोरमा अहिले २२ माउ सहित ७५ बाख्रा छन्।

दाना र घाँसलाई मेशीनले पेलेर खुवाउने गरिएको यो खोरमा राति बाख्रा राखिन्छ भने दिउँसो परिसरमा खुल्ला छाडिन्छ। घाँस खेती गर्न उनले चार विघा जमीन भाडामा लिएका छन्। आधुनिक खोर हुँदा रोग, गर्मी र जाडोबाट बाख्रा बच्ने उनको भनाइ छ।

स्रोत केन्द्रको सोच

स्थानीय सञ्चारमाध्यम, गैरसरकारी संस्था र राजनीतिमा सक्रिय रहेका पौडेल बाख्राको स्रोतकेन्द्रको अभाव पूरा गर्न बाख्रापालन थालेको बताउँछन्। 'हेफर इन्टरनेशनल' मा काम गर्दा माडी क्षेत्रका महिलालाई ३५० बाख्रा वितरण गर्न तीन महीना लागेपछि उनलाई स्रोत केन्द्रको अभाव रहेको महसूस भएको थियो। त्यसपछि उनले एक वर्षअघि धम्पुसेमा १० कट्ठा जमीन किने। खोर बनाउन चाहिने रकम जुटाउन उनले भरतपुर र माडीमा रहेको घडेरी रु.२० लाखमा बेचे। त्यसले नपुगेपछि ब्याङ्कबाट रु.२५ लाख ऋण लिएको उनी बताउँछन्।

यो पटकको रत्ननगर महोत्सवमा भएको व्यावसायिक बाख्रापालन प्रतियोगितामा उनको बाख्रा स्रोत केन्द्र पहिलो बन्यो। स्थानीय खरी र विकासे जातको जमुनापारि बाख्रा पालेका उनले बन्दीपुरको सरकारी फार्मबाट दक्षिण अफ्रिकाको बोयर जातको बोका ल्याएका छन्। बोयर र खरीबाट क्रस गरिएको बाख्रा सानो देखिए पनि खँदिलो मासु हुने र छिटो बढ्ने उनी बताउँछन्। उनले परीक्षणका लागि तीन वटा बाख्रामा कृत्रिम गर्भाधान पनि गराएका छन्।

सविता श्रेष्ठ, चितवन

comments powered by Disqus

रमझम