विदेशी भेदनीतिको शिकार नेपाली एकता

Share:
  
- ज्ञानमणि नेपाल
एकीकरण अभियानदेखि नै नेपालको राष्ट्रिय एकता, जातीय सद्भाव र समन्वयमा फाटो ल्याउने विदेशीको प्रयासलाई अहिले स्वयम् नेपालीहरू अगाडि बढाइरहेका छन्।
p40
 
हिमाल आर्काइभ

विक्रमको १७–१८औं शताब्दीमा नेपालको यति नै भौगोलिक क्षेत्रमा ५२–५३ वटा राज्य थिए। पश्चिम कर्णाली सिंजाको चल्ल र मल्लको विशाल राज्य २२ टुक्रामा विभाजित भयो भने केन्द्रको शासन कमजोर र पाल्पा विभाजित हुँदा यिनमा पनि स–साना राज्य स्थापित भए। तीमध्ये कोही भोट र भारतसँग सम्बन्ध र निकास–पुकास पाएर सम्पन्न थिए, कोही छिमेकीसँगको संघर्षले आजित र जीवन निर्वाह गर्न दुष्कर।  

त्यसबेला आ–आफ्नो अस्तित्व जोगाउन राजा–राजाबीच अनवरत कलह, वैमनस्य चलिरहे पनि र राजनीतिक–आर्थिक संकट भोगिरहनु परे पनि जनस्तरमा ऐतिहासिक–सांस्कृतिक परम्परा, मान्यता, धार्मिक समन्वय, जातीय सद्भाव, भाषिक एकताका सूत्रहरू चुँडिएका थिएनन्; बरू कसिंदै थिए। यिनै सूत्रलाई समाएर १७औं शताब्दीको अन्त्यतिर १२ हजार घरधुरी भएको गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान चलाए। देशमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने उनको उद्घोषमा नयाँ आशा देखेर जनता पनि त्यसमा गोलबद्ध भए।  
 
पृथ्वीनारायणको नेतृत्वमा गोर्खालीहरू एकीकरणमा जुटिरहेका बेला भारतमा व्यापारिक जालो बिछ्याइसकेको इष्ट इन्डिया कम्पनीका अधिकारीले राज्यशासनमा पनि अधिकार जमाए। कीर्तिपुरमा गोर्खालीको हार भएकै साल बंगालका नवाबलाई हराएर ब्रिटिश कम्पनीलेे भारतमा आफ्नो शासनको सूत्रपात गरेको थियो। कम्पनीका अधिकारीहरू काठमाडौंमा पनि कोठी खोलेर भोट–नेपाल व्यापार हात लाउने दाउ हेरिरहेका थिए। यही मौकामा सकसमा परेका कान्तिपुरका राजा जयप्रकाशलाई मद्दत गर्ने बहानामा पृथ्वीनारायणसँग लड्न इष्ट इन्डिया कम्पनीले पठाएको पल्टनलाई गोर्खाली फौजले तहसनहस पारेर प्रशस्त हातहतियार कब्जा गर्‍यो।  
 
यसअघि गोर्खालीले मकवानपुर जित्नेबित्तिकै त्यहाँका शासकलाई पुनःस्थापित गर्ने उद्देश्यले आक्रमण गर्न आएकोे नवाबकोे फौजलाई हराइसकेका थिए। यसरी अस्ताउन लागेको मुगल शक्ति र उदाउन लागेको ब्रिटिश शक्तिलाई हराउँदा देश–विदेश सबैतिर पृथ्वीनारायणको छवि चम्कियो, गोर्खालीको वीरताको बखान फैलियो र एकीकरणले गति लियो। अर्को साल विना युद्ध कान्तिपुर, ललितपुर विजित भए भने त्यसको एक वर्षपछि सानो संघर्षमै भक्तपुर सर भयो।  
 
यसैबीचमा पृथ्वीनारायणले सात समुन्द्रपारका साधुको रूपमा अड्डा जमाएर बसेका क्रिश्चियन पादरी जिसेप्पीको दलले एक हातमा बाइबल र अर्को हातमा तरबार लिई हिन्दुस्थान पसेर प्रभाव जमाएको अंग्रेजलाई नेपालमा पनि भित्र्याउने योजनामा पञ्चमाङ्गीको काम गरेको चाल पाएर राम्रै मुखले बिदा गरिदिए र नेपालमा अंग्रेजलाई पस्न नदिने नीति अख्तियार गरे। अगाडिका सामरिक पराजयबाटै बापवैरी बनिसकेका पृथ्वीनारायणसँग अंग्रेजहरू झ्न् क्रूद्ध बने र एकीकरण अभियानको उछित्तो खन्न तथा नेपालको इतिहास–संस्कृतिलाई विरुप पार्दै राष्ट्रियतामाथि प्रहार गर्न थाले।  
 
कीर्तिपुरेको नाक काटिएको प्रसङ्गलाई लिउँ्क। उक्त घटनाको तीन वर्षभित्रै ललितावल्लभले लेखेका थिए― “आत्मसमर्पणपछि कीर्तिपुरमा पसेका गोर्खालीलाई पछार हानेर झ्ुक्याई मार्ने केही व्यक्तिलाई सजाय दिंदा ज्यानको बदला ज्यान नलिई नाकको नथुनी काटी विरुप बनाइयो।” २५ वर्षपछि वि.सं. १८४८ मा तिनै निष्काशित पादरी जिसेप्पीले तिललाई पहाड बनाएर बेलायतको एशियाटिक रिसर्चेज् भन्ने पत्रिकामा 'कीर्तिपुरका पुरुष जति सबैका नाक काटिए' भनी छपाए। पछि १८९८ मा अंगे्रज रेजिडेन्ट ब्रायन हड्सनको एउटा दस्तावेजमा काटिएका नाकको तौल तोकियो― १२ धार्नी १ सेर ६ तोला। त्यसपछि लेखिएको भाषा वंशावलीमा यो संख्या बढेर १७ धार्नी १ सेर पुग्यो। औरङ्गजेबले झ्िकिदिएका तागाधारीका जनैको थुप्रो जोख्दा ७४।। मन भयो भनिएजस्तै किम्बदन्ती थियो त्यो पनि।
 
नेपालमा धेरै वर्ष बसेका ब्रायन हड्सनले नेपालसम्बन्धी ज्ञान अभिलेख गर्ने काम गरे पनि राजनीतिमा नेपाललाई कालान्तरसम्म नकारात्मक प्रभाव पनि पारे। उनी राजा, रानी र युवराजबीचको वैमनस्यलाई बढावा दिंदै आगोमा घ्यू थपिदिन्थे र राज्यमा अनेक काण्ड हुन्थे। यस्तै हस्तक्षेपले उग्र रूप लिंदै गएपछि नेपालबाट निकालिएका हड्सनले त्यसपछि पनि दार्जीलिङमा आई बसेर कीर्तिपुरको नाकको कथालाई माथ गर्ने गरी एकीकरण अभियानको क्रममा किरात लिम्बूहरूलाई सखाप पारेको, बालबच्चालाई समेत किचेर मारेको आदि बीभत्स चित्रण गरिएको मनगढन्ते कथा तयार पारे। यो कथा पहिले–पहिले बेलायतमा अध्ययन गर्ने नेपालीहरूले पाए पनि विश्वसनीय नभएकोले प्रचारमा ल्याएका थिएनन्, पछि उहीं बसेर हड्सनको संकलन हेरेका रमेश ढुङ्गेलले ठूलो खोजको विषय बनाएर हिमाल मा प्रकाशित गरे।  
 
वास्तवमा नवाब र अंगे्रज सैन्यसँगको युद्धपछि गोर्खालीले नेपालदुनका तीन राज्य ठूलो भिडन्त विना जितेका थिए। पूर्वी पहाडमा सानो भिडन्तपछि नै चौदण्डी र विजयपुरका राजा, मन्त्रीहरू भागेकाले सजिलै विजय भएको थियो। यी भिडन्तमा त्यस्तो बीभत्स मारकाट भयो भन्ने कथा जातीय द्वन्द्व सिर्जना गर्ने नियोजित हतियार मात्र थियो। यस्तै अर्को मनगढन्ते कथा पनि वंशावलीमा पढ्न पाइन्छ― बाँडा (बज्राचार्य) र बाह्मणको वादविवादमा बाँडाले ७०० ब्राह्मणलाई मारेको, शंकराचार्य नेपाल आएर बाँडासँग शास्त्रार्थ गर्दा बाँडा हारेपछि १००० बाँडा मारिएका आदि। यस्ता कुरा पनि विदेशी सत्री (जासूस) हरूबाट सिर्जना भएका हुन्। वास्तवमा आद्य शंकराचार्य आएका होइनन्; बौद्धले बाहुनलाई, बाहुनले बौद्धलाई मारेको पनि असम्भव र असत्य हो।  
 
शास्त्रार्थमा जय–पराजय हुन्छ, मारकाट होइन। तर, निकालामा परेका पादरी जिसेप्पी, रेजिडेन्सीमा आएका कूटनीतिज्ञ हड्सन र नेपालमा प्रवेश पाउन निषेध गरिएका अंग्रेज सत्रीहरूले एकीकरण अभियान विरुद्ध भेदनीति प्रयोग गरेर नेपाललाई कमजोर पार्ने ध्येयले यस्ता कुरा देखाउन खोजेका थिए। यिनकै लहैलहैमा लागेर अहिलेका नवनेताहरू नेपालदुनका राज्य जितेको र पादरीको दललाई निकालेको मितिलाई आधार मान्दै नेपालमा जातीय राज्य मासिएका, पृथ्वीनारायणले निरंकुश तानाशाही चलाएका भन्दै जेमा पनि २४० वर्षको रटान लगाएर थाक्दैनन्।  
 
नेपालमा जातीय फाटो पार्ने रणनीति अनुसार तयार पारिएका ती दस्तावेजहरू कति बेलायतमै, कति नेपालमै थन्किएका थिए। अंग्रेजीमा भएकाले सर्वसाधारणका जानकारीमा नआएका तिनका कतिपय प्रकाशित निबन्ध–प्रबन्ध पनि २००७ सालपछि अलिअलि गरेर बाहिर निस्कन थाले। यता विश्वविद्यालयमा सामाजिक शास्त्र विभाग खुलेपछि त अनुसन्धानको सिलसिलामा आउने विदेशी प्राध्यापक र पादरीहरू मात्र होइन, नेपालका बुद्धिजीवीहरू पनि अनुसन्धानको बहानामा यस्तै भेदनीतिको प्रयोगलाई प्रोत्साहन दिन थाले।  
 
अब त विदेशीहरूलाई दोष दिनैपरेन; विदेशीको मानो खाएका, तिनबाट शिक्षित दीक्षित एनजीओ–आईएनजीओले पालिएका हाम्रै नेपाली दाजुभाइ, शिक्षक, प्राध्यापक, नयाँ नेपाल बनाउन कस्सिएका नवनेताहरू आफैं अघि सरेर जातीयता, क्षेत्रीयता, साम्प्रदायिकता बढाउने, नेपाली–नेपालीमा विद्वेष ल्याउने कुरा झिक्दै उग्र राजनीति गरिरहेका, विभेदका बिरूवा हुर्काइरहेका र परापूर्वकालदेखि कायम नेपाली समाजको शान्ति, सद्भाव र समन्वयलाई खलबल्याइरहेका छन्। हालैको एउटा उदाहरणः 'वि.सं. १८५० श्रावणमा नुवाकोटको कविलासदेखि सिन्धुपाल्चोक गोल्पुच्छे्रसम्मका तामाङहरूले विद्रोह गरे, यो विद्रोह लच्याङबाट शुरू भई पूर्व–पश्चिम फैलिएको थियो। यो विद्रोहलाई निर्ममतापूर्वक दबाइयो, राज्यले १० हजार तामाङहरूको जघन्य हत्या गर्‍यो... लाखौं तामाङहरू देश छोडेर दार्जीलिङ, सिक्किम, आसाम, बर्मासम्म पुगे।' (हाम्रो नेपाल, पृ.४२, २०६५) यो लेखाइ संयुक्त राष्ट्रसंघमा काम गरेका परशुराम तामाङको हो।  
 
वास्तवमा यो राजनीतिक विद्रोह नभई नुवाकोट भैरवी गुठी जग्गाको झ्गडा थियो। जसमा केही उपद्र्याहा गाउँलेहरूले हुलदंगा–लूटमार मच्चाए, राज्यले अपराधीलाई ज्यान सजाय दियो, तिनका परिवारले क्षमा पाए र अरू गुठियारका चल–अचल सम्पत्ति फिर्ता भए। कुरा यत्ति हो, तर यसमा परशुराम तामाङले लिम्बूलाई समेत जोडेर 'विस्थापित गराइएका तामाङ लिम्बूहरूका किपट जग्गा गोर्खा राज्यले खोसेर बाहुन क्षेत्रीलाई बसोबास गराए' भनेर लेखिदिए। १० हजार मार्नु, लाख निष्कासन गर्नु सानो र लुकाएर लुक्ने कुरो होइन। यो आपत्तिजनक झूट हो।  
 
२००७ सालपछि नेपाललाई कमजोर पार्ने रणनीति छिमेकबाट पनि चलिआएको छ। प्रजातन्त्रोत्तर कालमा जसरी हुन्छ नेपालमा आफ्नो प्रभाव जमाइराख्ने, उस्तै परे हस्तक्षेप गर्ने भारत सरकारको नीति छिपेको छैन। इन्दिरा गान्धीले पञ्चशीलको दुहाई दिए पनि छिमेकीसँग सुमधुर सम्बन्ध कायम राख्न सकिनन्, अझ् अघि बढेर सिक्किमलाई भारतमा गाभिदिइन् र पाकिस्तानलाई टुक्र्याएर बङ्गलादेश बनाउन सघाइन्। नेपालमा पनि जनजातिलाई हात लिने, पूर्व सैनिकलाई उचाल्ने, आप्रवासी भर्ने र तराई (मधेश) लाई उकास्ने काम गरिन्। विदेशीकै इशारामा हृषीकेश शाहले जातीयता–क्षेत्रीयताको मुद्दा उठाएर उचाल्ने, सद्भाव बिथोल्ने काम गर्न लागेका थिए भन्ने कुरा बी.पी. कोइरालाको राष्ट्र र राष्ट्रियता नामक पुस्तकमा रहेको बी.पी.–शाह संवादबाट स्पष्ट हुन्छ।
 
पुनःस्थापित प्रजातन्त्रपछि देशमा शान्ति सुव्यवस्था आउला, प्रजातान्त्रिक प्रक्रिया सुचारु होला भन्ने आशा पलाएको मात्र थियो; फेरि अन्तर्द्वन्द्व चल्यो, बाह्य शक्तिको प्रभाव बढ्यो। त्यही भेदनीतिको प्रयोगबाट यो सानो सुन्दर देशलाई तहसनहस पार्न जातीय क्षेत्रीय मुद्दालाई प्रमुखताका साथ उठाएर माओवादको नाममा हिंसात्मक आन्दोलन चर्काइयो। १० वर्ष अपार जनधनको क्षय–व्ययपछि शान्ति सम्झौता भएर पाँच वर्ष व्यतीत हुँदा पनि न शान्ति आयो, न लोकतान्त्रिक प्रक्रिया चालु राख्ने संविधान।  
 
अहिले पनि हाम्रो देशका ठूला पार्टीका ठूला नेता र मन्त्रीहरू जानी–नजानी जासूसी संस्थाहरूका भेदनीतिको प्रयोगमा परेर सबै राजनीतिक सिद्धान्त, आदर्श, दर्शनलाई बिर्संदै संकीर्ण जातीय, क्षेत्रीय मुद्दामा घुँडा धसेर र हलो अड्काएर बसेका छन्; संविधान नबनाई। देशमा अव्यवस्था र संकट आएको छ, सहमति र सहकार्यका कुरा पूरा भएका छैनन्। हामीले ६० वर्ष यस्तै अव्यवस्थामा बितायौं। यिनमा सचेतना आइदिए हाम्रा सन्तानले  देशको समृद्धि र समुन्नति देख्न पाउनेथिए कि! 
comments powered by Disqus

रमझम