१६-२२ चैत २०७० | 30 March-5 April 2014

लोकतान्त्रिक वामपन्थ बलियो बन्दै

Share:
  
- मुमाराम खनाल
एमाले नेतृत्वमा रहेको लोकतान्त्रिक वामपन्थ धारको पक्षमा एमाओवादी पनि सहमत बन्दै गएको देखिएको छ।

बिक्रम राई
सामन्ती सत्ताको अवरोधले श्रम गर्ने अवसर नपाएको ठूलो श्रमशक्ति असन्तुष्ट र विद्रोही बन्नु नेपालमा सामन्ती सत्ता समाप्त हुनुको कारण थियो। २०४६ को परिवर्तनपछि विकास भएको यो वर्ग रोजगारी चाहन्थ्यो। विश्वमा कम्युनिष्ट विरोधी लहर चलिरहेका वेला नेकपा (एमाले) भने त्यही वर्गलाई बाँध्दै शक्तिशाली दल बन्यो। त्यसो गर्न सक्नुमा उसको क्रान्तिकारी पृष्ठभूमि, परिवर्तनकारी नारा र बदलिंदो सामाजिक धारलाई बुझन सक्ने गतिशील नेतृत्व कारण थियो।

तर चालीसको दशकमा विभाजित भएर पचासको दशकमा एकीकृत भएको माओवादीले छोटो समयमै त्यो वर्गलाई आकर्षण गर्ने सफलता पायो। त्यस्तो सफलता पाउनुको प्रमुख कारण उसले एमालेले भन्दा अझ् क्रान्तिकारी नारा लगाउनु कारण देखिन्छ। तर, शान्तिपूर्ण राजनीतिमा केही समय रहेपछि ती नाराले काम नगरेकाले ऊ पुनः एमालेभन्दा सानो हुन बाध्य हुनुपर्‍यो। आजको दुनियाँलाई बुझ्ेको र देखेको त्यो वर्गले स्वतन्त्रता र आफ्नो उन्नति गर्ने अवसर पाउने व्यवस्थालाई चर्का नाराभन्दा महत्वपूर्ण ठान्यो। तल्लो वर्गका लागि राज्यले सहुलियतपूर्ण नीति लिनुपर्ने पक्षमा पनि रहेको त्यो वर्ग लोकतान्त्रिक वामपन्थ पक्षीय हो भन्ने दोस्रो संविधानसभा निर्वाचन परिणामबाट एमाले पुनः शक्तिशाली बन्नुले देखाउँछ।

हुन त, एमाओवादीले पनि लोकतान्त्रिक वामपन्थ बन्न नै शान्तिपूर्ण बाटो र बहुदलीय प्रतिस्पर्धा अपनाएको थियो। तर, हिंसात्मक विगत, बहुलता र खुला समाजबारे द्विविधा देखाएको र जातीय/सामुदायिक विभाजनको पक्षमा उभिएकाले उसको त्यो प्रयास सफल हुन सकेन।

खुलापनले ल्याएको परिवर्तनपछि जन्मेको त्यो वर्गको उदयले नेपाली समाजको चरित्रमा आएको परिवर्तन पनि देखाउँछ। र, त्यसले समाजको नयाँ ढंगले अध्ययन र विश्लेषण गर्न वामपन्थी आन्दोलनलाई बाध्य पार्दैछ। यसरी बाध्य बनेका नेपाली वामपन्थीमध्ये समाज पहिले जस्तै अर्धसामन्ती नै रहेको एकथरी बताउँदैछन् भने अर्कोथरी समाजको मूल प्रवृत्ति पूँजीवादी भएको विश्लेषण गर्न थालेका छन्।

यस्ता विश्लेषण गर्ने क्रममा एमाले र एमाओवादीको एउटा पंक्तिबीच आश्चर्यजनक रूपमा समान धारणा बन्न थालेको देखिंदैछ। जसले, दुई ठूला वामपन्थी दलबीचमा नयाँ ध्रुवीकरण हुने सैद्धान्तिक संभावना बढाएको छ। समाजको मूल चरित्र निर्धारणमा दुई पार्टीबीच समान धारणा बनेमा लिइने बाटोबारे पनि उस्तै धारणा बन्ने र त्यसले एकता नजिक पुर्‍याउने अनुमान पनि गरिंदैछ। ॐ यस्तो वेला, 'नेपाल अध्ययन केन्द्र' नामक गैरसरकारी संस्थाले १३ चैतमा काठमाडौंमा गरेको एउटा कार्यक्रममा पनि एमालेका प्रमुख नेताहरूले यस्तै संकेत दिए। एमाले अध्यक्ष झ्लनाथ खनालले २०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपाली समाज पँूजीवादी समाजमा रूपान्तरण भएको बुझाइ सबैको भएमा कम्युनिष्टहरूको एउटै केन्द्र बनाउन सकिने बताए। वरिष्ठ नेता माधवकुमार नेपालले पनि राजनीतिक रूपमा सामन्तवादको अन्त्य र पूँजीवादको व्यापक विस्तार भएकोले संक्रमणकालीन समाजको चरित्र अनुरूप सामाजिक आन्दोलनका कार्यक्रम तयार गर्नुपर्ने बताए। उनको पनि यो विषयमा एकमत हुनेबीच एकता हुनसक्ने ठहर थियो। महाधिवेशनको सँघारमा रहेकाले एमाले नेताहरूका यी भनाइ अझ् महत्वपूर्ण बनेका छन्।

एमाओवादीका नेता राम कार्कीले भने आफ्नो पार्टीको हेटौंडा महाधिवेशनले नेपाली समाजको मूल चरित्र पँूजीवादी रहेको निष्कर्ष निकालिसकेको बताएका थिए। एमाले महाधिवेशनले पनि त्यस्तै निष्कर्ष निकाल्ने हो भने कम्युनिष्टहरूबीच सैद्धान्तिक दूरी कम हुने उनको धारणा थियो।

'आजको नेपाली समाजः अबको कम्युनिष्ट आन्दोलन' विषयक उक्त कार्यक्रममा एमाले नेता घनश्याम भुसालले नेपाली समाजको व्याख्या गर्दै कम्युनिष्ट पार्टीहरूले समाजको वस्तुनिष्ठ विश्लेषण गर्न नसकेकाले कार्यक्रमहरूमा अलमलिनु परेको बताएका थिए। आजका कम्युनिष्ट पार्टीहरूमा भने अनुसार नगर्ने र गरे अनुसार नभन्ने प्रवृत्ति रहेको उनको भनाइ थियो। सैद्धान्तिक आधार नभएको विषयलाई आधार बनाएर संघर्ष गर्छौं भनेकाले संघर्ष हुन नसकेको तथा चुनावदेखि चुनावसम्मको दौडमा अलमलिनु परेको पनि उनले बताए।

comments powered by Disqus

रमझम