१६-२२ चैत २०७० | 30 March-5 April 2014

पसिनाको हैरानी

Share:
  
- डा. सुमनराज ताम्राकार
पसिनामा दुर्गन्धको समस्या हुनेहरू जंक फूड र क्याफिनयुक्त खानाबाट टाढै रहनुपर्छ।

मानिसलाई गर्मी मौसम लाग्यो कि सार्वजनिक यातायातमा यात्रा गर्न थप गाह्रो लाग्न थाल्छ– गाडीमा पस्यो कि अरूको पसिना गन्हाउन थाल्ने हुनाले। हुन पनि, बन्द गाडीमा कतिपय व्यक्तिको पसिना अरूलाई बान्ता नै आउला कि जस्तो गरी गन्हाइरहेको हुन्छ।

शरीरको स्वाभाविक प्रक्रियाको रूपमा निष्काशन हुने पसिना आफैंमा घिनाउनुपर्ने पदार्थ भने होइन। छालालाई मुलायम बनाइराख्न र शरीरलाई शीतलता दिन पसिना उत्पादन हुन्छ। शरीरको तापक्रम नियन्त्रण पसिनाको अर्को महत्वपूर्ण काम हो। पसिनामा बढी जसो पानी र न्यून रूपमा क्लोराइड, मेथिलफिनोल, युरिया लगायतका लवणहरू हुन्छन्। पिसाबबाट निष्काशन हुने नून, युरिया लगायत शरीरका लागि हानिकारक तत्व एवं औषधिहरू पसिनाबाट बाहिरिन्छ। पसिनाबाट प्रोटिन, एमोनिया, बोसो, अम्लीय पदार्थ र लवणहरू पनि निष्काशित हुन्छ।

कारण र निदान

गर्मीमा कसैमा बढी र कसैमा कम पसिना आउँछ। कसैमा बढी पसिना आए पनि गन्हाउँदैन भने कसैमा थोरै नै आए पनि धेरै गन्हाउँछ। मधुमेह भएका, अत्यधिक मादक पदार्थ सेवनकर्ता, थाइरोइडको गडबडी भएका, कार्सिनोइड सिन्ड्रोम भएका र कलेजो वा मृगौलाको समस्या भएका बाहेक अरूको पसिना आफैंमा गन्धयुक्त हुँदैन। व्यक्तिको शरीर र बाह्य वातावरण फोहोर हुँदा छालामा भएका कीटाणुहरूले पसिनामा परिवर्तन ल्याउँदा सबैमा दुर्गन्ध उत्पन्न हुन्छ। यसैगरी, धेरै मसालेदार, नुनिलो र अपच खाना खाने व्यक्तिको पसिना गन्हाउँछ। कतिपय औषधि सेवनपछि जटिलताको रूपमा र खानामा जिंक तत्वको अभाव हुँदा पनि दुर्गन्धित पसिना निष्काशन हुन्छ।

काखी, काछ, गर्दन, छाती, घुँडा पछाडि, निधार, खुट्टाको औंलाको काप जस्ता बढी पसिना निस्कने शरीरका भागहरूको ग्रन्थीमा हुने प्रोटिन एवं तेलका कारण दुर्गन्ध उत्पन्न गराउने कीटाणु छिट्टै वृद्धि हुन जान्छ। पसिना सुकेपछि छालामा बाँकी रहने युरिया र लवणहरूको नियमित सफाई नहुँदा पनि कीटाणुले तुरुन्त दुर्गन्ध उत्पन्न गराउँछ। त्यसैले, गर्मीयाममा व्यक्तिगत सफाई बढी आवश्यक हुन्छ। व्यायाम र शारीरिक श्रमपछि त झ्न् नुहाईधुवाई गर्नै पर्छ। नुहाउँदा साबुनपानीको अलावा कागतीको रस मिसाएको वा फिटकिरी पानीको प्रयोग गर्नु राम्रो हुन्छ।

पसिनाको दुर्गन्ध कम गर्ने 'एन्टी फंगल' वा 'एन्टी व्याक्टेरियल पाउडर' हरू बजारमा पाइन्छ। यस्ता पाउडरको प्रयोगले घमौराबाट पनि राहत दिन्छ। औंलाको काप वा जुत्तामा पनि एन्टी फंगलयुक्त टाल्कम पाउडर लगाउन सकिन्छ। पाउडरहरूका अलावा सुतीका पेन्टी, अन्डरवेयर लगायतका भित्री पहिरन लगाउनुपर्छ र भरसक दिनहुँ फेर्नुपर्छ। पसिनाको दुर्गन्धले अति नै दुःख दिएको छ भने चिकित्सकको सुझाव अनुसार लेजर, आइटोफोरेसिस र माइक्रो सर्जरीका साथै बोटेक्स इन्जेक्सनको पनि उपयोग गर्न सकिन्छ।

खुट्टामा बढी पसिना निस्कनेहरूले जुत्ताको साटो चप्पल लगाउनुपर्छ। हावा चलखेल नहुने हुनाले शरीरका काखी र काछ जस्ता ठाउँ बढी दुर्गन्धित हुन्छन्। ती ठाउँमा सेभ गर्दा राम्रो हुन्छ। रौं हटाउने थ्रेडिङ वा वाक्सिङ जस्ता अन्य चल्तीका उपाय पनि छन्। बडी स्प्रेले पनि अल्पकालीन फाइदा पुर्‍याउँछ। पसिनाको दुर्गन्धमा खानेकुराको पनि भूमिका हुन्छ। यस्तो समस्या भएकाहरूले हरियो सागपात, फलफूल र रेसादार खानाका साथै प्रशस्त पानी पिउनुपर्छ।

comments powered by Disqus

रमझम