१६-२२ चैत २०७० | 30 March-5 April 2014

डाक्टरको विकल्प

Share:
  

एक जना डाक्टरले प्रत्यक्ष रुपमा जाँचेर जति बिरामीलाई स्वस्थ रहन सहयोग पुर्‍याउँछन्, किताब लेखेर त्योभन्दा धेरैलाई लाभान्वित बनाउँछन्। डाक्टरले सामान्यतः अस्पताल वा क्लिनिकमा बिरामी जाँच्छन्, तर उनले लेखेको किताब पढेर गाउँ–गाउँका स्वास्थ्यकर्मी र साक्षर मानिसहरु लाभान्वित हुन्छन्। यही कुरालाई ध्यानमा राखेर कलम चलाउने चिकित्सकमा पर्छन्, धुलिखेल अस्पतालका स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. सुमनराज ताम्राकार। 'तपाईं गर्भवती हुनुहुन्छ?' पछि दोस्रो मेडिकल बूकको रुपमा उनले लेखेको 'लिटिल डाक्टर' ले नवजात शिशुदेखि किशोरकालसम्मको स्वास्थ्य समस्या र तिनको निदान विधि दिएको छ।

लिटिल डाक्टर

लेखकः सुमनराज ताम्राकार

प्रकाशकः चण्डेश्वरी ताम्राकार

मूल्यः १५०,

पृष्ठः ९८+१४

साहित्य र पत्रकारितामा समेत संलग्न रहेकोले हुन सक्छ, डा. ताम्राकारको यो गुनिलो किताब सरल र सुस्पष्ट पनि छ। किताबमा बालबालिकालाई लाग्ने रोग र आकस्मिक रुपमा आइलाग्ने समस्या निदानका लागि तयार पारिएको ९० थान आलेख समेटिएका छन्। सबै आलेख छोटा–छरिता र सटिक छन्। सामान्य साक्षर बाबुआमा वा अभिभावकहरुले राम्ररी उपयोग गर्न सक्ने यो किताबमा नवजात शिशुको हेरचारदेखि चाडबाड र फरक मौसमका साथै मेनिन्जाइटिस, बाथ ज्वरो आदिदेखि अटिज्मसम्मका समस्याबाट बालबालिकालाई कसरी जोगाउने भन्ने डाक्टरी प्रेस्त्रि्कप्सन दिइएको छ।

गत १५ वर्षमा नेपालको शिशु मृत्युदर प्रति हजार ७९ बाट ४८ र बाल मृत्युदर प्रतिहजार ११८ बाट ६१ मा झारेको छ। यो आँकडाले शिशु र बालबालिकामाथिको खतराको साथै नेपालका नीति–निर्माता, डाक्टर, नर्स र अरु स्वास्थ्यकर्मीहरुको उत्तरदायित्वको भार देखाउँछ। यस्तो अवस्थामा आएको डा. ताम्राकारको 'लिटिल डाक्टर' घर–घर र गाउँ–गाउँ पुग्नुपर्ने देखिन्छ।

आनन्द पी राई

comments powered by Disqus

रमझम