१६-२२ चैत २०७० | 30 March-5 April 2014

अभिनयमा अब्बल

Share:
  
कुमरी, नुवाकोटका राजकुमार पुडासैनी (३६) चरित्रमा डुबेर अभिनय गर्ने एकाध कलाकारमध्ये पर्छन्।

२०५१ मा एसएलसी सिध्याएर नाटकमा लागेका राजकुमार अहिले नेपाली रंगमन्चका अब्बल रंगकर्मीमा दरिएका छन्। २०५४ मा राष्ट्रिय नाचघरमा एकवर्षे अभिनय कोर्ष गरेका उनी हरेक प्रकारका चरित्रमा जीवन्त अभिनय गर्न कुशल मानिन्छन्। उनको अभिनयको तारिफ गर्दै आरोहण गुरुकुलका अध्यक्ष सुनिल पोखरेल भन्छन्, “अभिनय गर्नै जन्मेका मान्छे हुन्, राजकुमार।”

एकवर्षे कोर्ष गरेर नयाँदिल्लीको नेशनल स्कूल अफ ड्रामाका प्रशिक्षकबाट एक महीने प्रशिक्षण लिएका उनी त्यसपछि एमआर्ट थिएटरमा आवद्ध भए। एमआर्ट थिएटरमा हुँदा उनले सोरठी, उद्घोष, जिउँदो लास, पत्थरको कथा लगायतका नाटकमा अभिनय गरे। त्यसपछि २०५८ मा आरोहणले गुरुकुलको स्थापनासँगै त्यसमा आवद्ध भएर अर्को दुईवर्षे थिएटर कोर्ष गरे। उनी अहिले पनि गुरुकुलको पूर्णकालीन हुन्। यसबीचमा आरोहण गुरुकुल र अन्य नाट्य संस्थाबाट राजकुमारले घनचक्कर, ताराबाजी लै लै, जात सोध्नु जोगीको, सेतो कपाल, बुख्याचा, मास्टर विल्डर, मुनामदन, खरीको घेरो, बाठी रानी, पानी फोटो, सेतो कपाल, ओ स्टार दुनियाँ, नेपाली आमा, एल्मोमुनिको तिर्खा, मुन फर द मिस विगटन, अ टेलिङ टेल जस्ता सफल नाटकमा उत्कृष्ट अभिनय गरे।

नाटक मञ्चनको क्रममा डेनमार्क, रसिया, स्वीडेन, नर्वे, पाकिस्तान, भारत, बङ्गलादेश, चीन जस्ता मुलुक पुगेका उनी थिएटर लाइटिङ सम्बन्धी तालिमका लागि दुई पटक नर्वे बसे। राजकुमार भन्छन्, “मेरो जीवन यसरी नाटक जस्तै होला भनेर सोचेको थिइनँ।”

राजकुमार लगातार १६ वर्षदेखि नाटकमा छन्। उनी हरेक प्रकारका पात्रमा आफ्नो जिन्दगीको केही न केही अंश पाएको बताउँछन्। नाटकमा लाग्दा छोरो बिग्रियो भनेपछि परिवारसँगै विच्छेद भएर पनि बसे उनी। तर, अहिले घर परिवार उनीसँग खुशी छन्। “बालाजुमा घर छ, तर म गुरुकुलमै बस्छु”, उनी भन्छन्, “घर जाँदा त्यहाँको मायाले काममा ध्यान दिन सकिंदैन।”

उनी आफूलाई 'भर्सटायल' कलाकार भन्न रुचाउँछन्। वर्षौंको साधनाले राम्रो अभिनय गर्न सक्ने भएको उनको भनाइ छ। चलचित्र दासढुंगा, अन्तराल र सुन्तली मा अभिनय गरेका उनी नेपाली सिनेमामा अभिनय र कथा भन्ने शैली नरहेको ठान्छन्। “समाजलाई हैन, व्यापारलाई हेरेर फिल्म बन्छन्”, अहिले सत्यमोहन जोशीले लेखेको नाटक चारुमती मा अभिनय गरिरहेका राजकुमार भन्छन्, “बरु नाटकले समाजका कुरालाई गज्जबले उठान गरिरहेका छन्।”

शब्द/तस्वीरः ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम