१६-२२ चैत २०७० | 30 March-5 April 2014

स्टारभूमि लुम्बिनी

Share:
  
नेपाललाई विश्वकपमा पुर्‍याउने नेपाली क्रिकेट टोलीका ११ मध्ये ६ सदस्य लुम्बिनी अञ्चलका हुन्। तीमध्ये पनि पाँच जना रूपन्देही जिल्ला र चार जना एउटै शहर भैरहवाका हुन्।

दीपक ज्ञवाली, बुटवल

क्रिकेटबाट नेपालको विश्व ख्याति बढ्नुमा लुम्बिनीको विशेष योगदान छ। नेपाली टोलीका बहुमत सदस्य लुम्बिनीका भएकाले पनि यो ख्यातिमा लुम्बिनीवासी विशेष रूपमा खुशी छन्। त्यही कारण बङ्गलादेशमा आईसीसी टी–२० विश्वकप खेलेर राष्ट्रिय टीमका खेलाडी फर्किएको केही दिनसम्म भैरहवा लगायतका क्षेत्रमा निरन्तर अबिर जात्रा र दीपावली भइरह्यो। विश्वकपको मैदानमा खास शक्ति प्रदर्शन गर्ने शक्ति गौचन भैरहवाका हुन्।

नेपाली टोलीलाई चम्काउन विशेष भूमिका खेलेका सागर पुन, अमृत भट्टराई र बसन्त रेग्मी पनि भैरहवाकै हुन् भने राहुलकुमार विश्वकर्मा रूपन्देहीकै बुटवलका। अर्का खेलाडी सोमपाल कामी भने गुल्मीका हुन्। “यसरी यस पटक नेपालको शक्ति स्थापित गर्ने खेलाडीमध्ये धेरैजसो लुम्बिनीका हुनुले लुम्बिनीवासीका लागि विशेष महत्व राखेको छ”, नेपाल क्रिकेट संघका निवर्तमान केन्द्रीय सदस्य प्रेम सेन्चुरी भन्छन्।

त्यसो त नेपाली क्रिकेटको साना–ठूला प्रतियोगिताहरूमा लुम्बिनीका खेलाडीको बाहुल्य रहिआएकै हो। यस पटकको विश्वकप टोलीमा यहाँका खेलाडीहरू बढी छानिनुलाई इतिहास दोहोरिएको रूपमा बुझ्नुपर्ने सेन्चुरीको भनाइ छ। भारतीय सीमावर्ती शहर भैरहवाका युवामा आएको क्रिकेट लहरले लुम्बिनीको क्रिकेट विकासलाई टेवा दिएको मानिन्छ। भारतीय सेनामा रहेका खड्गप्रसाद गौचन छोरा शक्तिलाई लिएर भैरहवामा स्थायी बसोबास थालेपछि यहाँको क्रिकेटले शक्ति लिएको हो। रूपन्देही अन्तर्राष्ट्रियस्तरका अन्य खेलाडी र एम्पायरहरूको पनि घर हो।

तर मैदान छैन

यस्ता खेलाडी उत्पादन भएको भैरहवामा एउटा व्यवस्थित क्रिकेट मैदान भने छैन। सिद्धार्थ रंगशालालाई क्रिकेट मैदान बनाउने योजना भए पनि त्यो गाई–बाख्रा चर्ने चउर बाहेक केही हुनसकेको छैन। मैदान बनाउन ल्याइएका सामग्री मैदानमै विलाउँदैछन्। स्थानीयको दबाबमा २०६८ सालबाट शुरू भएको क्रिकेट मैदान बनाउने काम रु.१ करोड खर्च गरेर त्यसै सेलाएको छ। “त्यो पैसाले एउटा सामान्य भवन बने पनि मैदान बनाउने रकम नपाएको क्रिकेट संघका निवर्तमान केन्द्रीय सदस्य सेञ्चुरी बताउँछन्।

सागर पुन, अमृत भट्टराई, राहुलकुमार विश्वकर्मा र बसन्त रेग्मी

अहिले रु.४ करोडमा मैदान बनाउने योजना त अघि बढेको छ, तर अहिलेलाई खेलाडीहरूले अभ्यास गर्ने ठाउँ छैन। शक्ति गौचनले आफ्नै जग्गामा बनाएको सामान्य मैदानमा अभ्यास गर्ने गरेका छन्। “व्यवस्थित मैदान नहुँदा प्रतिभा जन्मन सकेको छैन”, सेञ्चुरी भन्छन्, “मैदान र प्रतियोगिताहरू नहुँदा जन्मिसकेका प्रतिभाहरूमा पनि शिथिलता आएको छ।”


खड्गप्रसाद गौचन

भारतीय पल्टनबाट रिटायर्ड भएर सपरिवार नेपाल फर्कंदै गर्दा रेलमा शक्तिले मलाई 'अब क्रिकेट खेल्न दिनुहुन्न?' भन्दै अप्रत्याशित प्रश्न गरेको थियो। त्यो निर्दोष प्रश्नले मेरो मन छोयो र मैले खेल्न दिने बाचा गरें। ऊ सानैदेखि पढाइसँगै क्रिकेटमा तेज थियो। विश्वकपमा पुग्ने उसको सपना यस पटक मेरै आँखा अगाडि पूरा भयो।

रामकुमारी गौचन

म शक्तिलाई इन्जिनियर बनाउन चाहन्थें। शुरूमा मेरो इच्छा विपरीत क्रिकेटमा उसको झुकाव देख्दा दिक्क पनि लाग्थ्यो। आज शक्तिले क्रिकेटबाटै नेपाल चिनाएको देख्दा म गलत थिएँ भन्ने लागेको छ र शक्तिको यो उपलब्धिमा आमा भएकोले म नै सबभन्दा खुशी छु।


भूमिराज विश्वकर्मा

हामी यति धेरै खुशी छौं कि यसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ। छोरा राहुल र उसका साथीहरूले देशको नाम राखे। उनीहरूको पनि इच्छा पूरा भयो। अबको यात्रामा पनि उनीहरूले यस्तै सफलता पाउने छन्।

बोधराज रेग्मी

एक दिन किताब–कापी किन्न जाँदा बसन्तले पसलमा ब्याट र बल पनि देखेछ। त्यो पाउने जिद्दी गर्दै रुन थालेपछि किनिदिएँ। परीक्षाको वेला पनि उसका साथीहरू वरिपरिबाट सिट्ठी बजाएर संकेत गर्थे। परीक्षाको वेला खुट्टा बाँधेर राख्दा पनि कसो–कसो उम्किएर क्रिकेट खेल्न भ्याउँथ्यो। छोराले विश्वमा नेपाललाई चिनाउन रहेछ र पो त्यति धेरै जिद्दी गरेको। निकै खुशी छु।

comments powered by Disqus

रमझम