१६-२२ चैत २०७० | 30 March-5 April 2014

मौलिकताको चिन्ता

Share:
  
समयले कोल्टो फेर्दै जाँदा बोल्दोङका रौसे नुर्पु छिरिङ उदास बन्दै गएका छन्।

रसुवामा बोल्दोङ गाउँका गोले जमदारको ठूलो चकचकी थियो। यो भेगमा उनका छोरा दाबो तामाङ समेत 'दाबो बरु' को नामले कहलिएका थिए। तामाङ भाषामा 'बरु' भनेको धनीमान्छे हो। यो खानदानमा दाबोका कान्छा छोरा सिङ लामा (नुर्पु छिरिङ तामाङ) भने नामी गिताङ्गे भएर निस्किए। नाचगानको विशिष्ट परम्परा भएको यहाँको तामाङ समुदायमा उनी 'शेबेन' अर्थात् सिपालु कहलाइए।

तर, समयले कोल्टो फेर्दै जाँदा यतिखेर बोल्दोङ गाउँ सुनसान छ र यी जातीय संस्कृतिका शेबेन पनि उदास छन्। बैंसमा रंग–रौसका लागि गाएका–नाचेका सिङ लामाले त्यही क्रममा मौलिक भाषा–भेषभूषा, संस्कृति र धार्मिक गीत (मन्त्र) को महत्व बुझो, तर नयाँपिंढीले त्यसलाई मनन गरेनन् वा उनको पुस्ताले बुझाउन सकेनन्। “गाउँमा पुराना घरहरू धमाधम भत्किंदै छन्”, ६५ वर्षीय सिङ लामा भन्छन्, “हाम्रो मौलिक गीत–संगीत, भेषभूषा र कला हराउँदै गएका छन्।”

नाचगान मात्र होइन संस्कृति

सिङ लामा मौलिक गीत गाउने, स्याब्टु (तीव्र नाच), शेलु (धिमा नाच) नाच्ने मात्र नभएर मानी (धार्मिक नाचगान) का पनि 'शेबेन' हुन्। यो उमेरमा पनि उनी विवाह र चाडपर्वमा मानीको रन्को छुटाउन अग्रसर हुन्छन्। उनले गाउँकै रेप्पा तामाङ र धुन्चे गुम्बाका लामाद्वय लामा रिन्जेन घले र लामा दोर्जे घलेबाट मानी गीत सिकेका हुन्। सिङ लामा आफूलाई भगवान, आकाश, पाताल, प्रकृति, जीवजन्तु, हावा, पानी, घाम, जून, तारा, बाबुआमा, गुरु–गुरुआमा, शासक, सेना, रक्षक सबैको वर्णन हुने मानी सिकाउने रेप्पा तामाङ बितेकोमा गहिरो दुःख मान्छन्। लामाद्वय भने अझै यो संस्कृतिको जगेर्नामा लागेकोमा उनी खुशी छन्।

संस्कृति भनेको नाचगानभन्दा धेरै ठूलो चिज भएको बताउने उनी मौलिक गीतहरू गाउँदा वा नाच्दा स्वर र गति मिल्ने जोडी हुनुपर्ने बताउँछन्। गाउँका विवाह वा पर्वहरूमा सिङ लामा रेप्पा, सेन नुर्पु र कमल तामाङ भएर नाच्दा–गाउँदा अर्कै रौनक हुन्थ्यो रे! यसमा आफ्नै भेषभूषा हुँदा अझ मजा हुने उनी बताउँछन्। “नाच्न–गाउन सबैले सक्छन्, तर गीतको शब्द, भाका र पोशाकले त्यसको असलीपन बढाउँछ”, सिङ लामा भन्छन्, “तर, अहिलेका पुस्ता हाहाहुहुमा रमाउन खोज्छन्, मौलिकतामा उति ध्यान दिंदैनन्।”

त्यसैले, रसुवाका पुराना तामाङ गाउँहरूमा अहिले स्याब्टु, क्षाङ्लु, चोम्लु, शेलु, दोरा लु आदि मौलिक वान्कीहरू हराउँदै गएको उनले बताए।

फुर्पा तामाङ, रसुवा

comments powered by Disqus

रमझम