१६-२२ चैत २०७० | 30 March-5 April 2014

निसासिंदो शहरको कथा

Share:
  
निर्देशक अनुप बरालले फिल्म फिटकिरी लाई शहरको छटपटी र सकसको निकास बनाएका छन्।

फिटकिरी मा नायिका दिया मास्के।
काठमाडौं शहर! यहाँ के छैन सबथोक छ। र पनि, यहाँका मानिस सकसमा बाँचिरहेका छन्। हुँदा खानेहरु समस्या र अभावको पहाडले थिचिएका छन् हुनेखानेहरु पनि सन्तुष्ट छैनन्। यही निसासिंदो शहरको छटपटी र सकसलाई रंगकर्मी अनुप बरालले आफ्नो पहिलो फिचर फिल्म फिटकिरी को विषय बनाएका छन्।

फिल्ममा प्रहरी निरीक्षक जीवन (सौगात मल्ल) को टीम शहरका एक धनाढ्यको अपहरण गरेर रु.१ करोड असुल्ने अपहरणकारीको खोजीमा लागेको छ। अपहरणकारी पक्राउ गर्नै पर्ने दबाब झोलिरहेका इन्स्पेक्टर माथि सरकारले शुरु गरेको सडक विस्तारको क्रममा आफ्नो पुरानो घरतिर आउँदै गरेको डोजरको अर्को मानसिक तनाव छ। डोजरले घर भत्काएपछि श्रीमती र छोरालाई कहाँ राख्ने?

फिल्मको एक दृश्यमा नायक सौगात मल्ल।
सरकारले एक वर्षअघि राजधानीका सडकछेउका घरमा डोजर चलाउँदा सडक चौडा हुनेभयो भन्दै खुशी व्यक्त गर्ने तिनीहरु नै थिए, जसले रात–बिरात आफ्नो पुर्ख्यौली घरको बास गुमाउनुको पीडा बेहोर्नुपरेको थिएन। सडकभन्दा पहिल्यै बनेका आफ्नो घर गुमाउने परिवारको पीडाको कथा भने यो फिल्मले भनेको छ। १० वर्षको छोराले आफ्नो घर भत्काउन आएको डोजरलाई प्रहरी बाबुले रोकेको नक्शा बनाउँछ। जबकि, इन्स्पेक्टर जीवन माथिल्ला तहका प्रहरी अधिकृतहरुलाई गुहार्दा पनि सरकारी डोजरबाट घर बचाउने अवस्थामा हुँदैनन्।

फिटकिरी ले अपराधीसँगको लुकामारी गर्ने एउटा सक्रिय प्रहरीको पारिवारिक–सामाजिक सम्बन्धहरु देखाएको छ। इन्स्पेक्टर जीवन घरमा सरकारी डोजर चल्ने भएपछि विदेश पलायन भएका छोरा–छोरीलाई 'सुसाइड नोट' लेखेर त्यही घरभित्र झुन्डिएका बाबु र सुनौलो भविष्यका लागि गाउँबाट शहर पसेर बेपत्ता भएकी छोरीको खोजीमा भौंतारिएका सुकुम्बासी बाबुको केस हेर्छन्। अपहरणकारी खोज्ने क्रममा 'लभरब्वाई' बनेर अर्काकी श्रीमतीको ओछ्यानसम्म पुग्छन्। शहरमा यस्ता खण्डहर छन्, जहाँ लागूऔषध दुर्व्यसनी र अपराधीको अखडा जम्छ। शहरको फुटपाथमा पैसाका लागि जे पनि गर्ने भरियादेखि गुन्डासम्म छन्। आफ्नो डुबेको सम्पत्ति र लागेको ऋण उकास्न कसैको पनि अपहरण गर्न तम्सने सुरेन्द्र (अनुप बराल) पैसाका लागि परपुरुषसँग लहसिने रुपा (दिया मास्के) यही शहरमा छन्।

यज्ञशको बलियो पटकथा र सम्वादको कतिपय अंशका दर्शन–उपदेश अलि बढी भएको हो कि जस्तो लाग्छ। पुरुषोत्तम प्रधानको छायाङ्कन शहरको अस्तव्यस्तता, कुरुपता र सुन्दरता देखाउन सक्षम छ। अनुपले चलचित्रभरि रंगमञ्चको अनुभवलाई मजाले उतारेका छन्। दृश्यहरुमा रंग, प्रकाश र ध्वनिसँगै माहोलको उम्दा संयोजन छ। पात्रहरुमा स्वाभाविकता छ। अर्जुनकुमार र सुमित मैनालीले निर्माण गरेको यो फिल्ममा लूट का निर्देशक निश्चल बस्नेत खलपात्र बनेका छन्– राम्रो अभिनयका साथ। अनुपले दिया मास्के, शान्ति गिरी मात्र हैन, छोटो भूमिका पाएका धीरेन्द्र प्रेमर्षि, रमेश रञ्जन, विक्रम परियार र अनिल पाण्डे लगायतबाट पनि राम्रो काम लिएका छन्।

अरुले बनाएका फिल्ममाथि टिप्पणी गर्दै आएका समीक्षक यज्ञशले लेखेको यो फिल्म यसरी बग्छ कि यसले दर्शकलाई इन्स्पेक्टर जीवनलाई अपहरणकारीहरुले घुमाए जस्तै घुमाइरहन्छ। बलिउडका सूत्र हेर्न बानी परेका दर्शकलाई यसले तान्ने सम्भावना कम छ। किनभने, यसमा शहरको सामाजिक गन्जागोल, अस्तव्यस्तता, बढ्दो विकृति र अपराधको यथार्थलाई फिल्मी तानाबुनामा बाँधिएको छ।

अनुशील

comments powered by Disqus

रमझम