१६-२२ चैत २०७० | 30 March-5 April 2014

मुन्धुममाथि दुई वृत्तचित्र

Share:
  

सुसुवेङ लावाङवेङबाका सन्तान सावायक्फूङ केम्बा शिकारी थिए। उनी वनदेवता फूङसाम्माङ/पूङसामको पूजा गरेर शिकारमा जान्थे। शिकार गरिसकेपछि शिकारको दाहिने फिलाको मासु र रगत पातमा राखेर देवतालाई चढाउँथे। मुन्धुम अनुसार लाही–नाही उपग्रहबाट जन्मेका पूङसाम पहाड–पर्वतको पनि देवता हुन्। लावाङवेङबाका सहयोगी हिल्ली यक्सोवालाई पोङहाङवा फेदाङले भीरबाट ठेली मारेकाले शिकारीहरूको रक्षाका लागि पूङसामको पूजा गर्ने चलन अद्यापि छ, लिम्बू समुदायमा। पूङसामले रोगव्याधी, प्राकृतिक प्रकोप लगायतका अनिष्टहरू पनि टर्ने विश्वास रहिआएको छ।

यो मुन्धुम मिथकमाथि पाँचथरको पूर्वोत्तर गाउँ सिदिनमा दुई वटा लघु चलचित्रको छायांकन सकिएको छ, गत साता। थोक्पेला युवा जमातको व्यानरमा बनेका पूङसाम (शिकारी देवता) र नाहेन (इर्ष्या) वृत्तचित्रमा लोप हुँदै गएका धनुषकाँड, तरबार, ढाल, खुकुरी, भरुवा बन्दूक, रुद्राक्ष, चिण्डो, झ्याम्टा, घुग्रिङ तथा मृग, कालिज र बाघका कलात्मक सामग्रीको प्रयोग गरिएको छ। लिम्बू भाषाको लघु चलचित्रमा स्थानीय कलाकारहरूले अभिनय गरेका छन्। दुवै लघु चलचित्रका लेखक सागर केरुङ र निर्देशक सुरेन शिशिर केरुङ हुन्।

लक्ष्मी गौतम, पाँचथर


पोखरामा चचहै

व्यवसायी दिनेश प्रसाईले दुई वर्षअघि पोखरामा बनाएको 'चचहै फनपार्क' अहिले बालबालिकाको आकर्षण केन्द्र बन्न थालेको छ। विमानस्थल पछाडि १६ रोपनी जमीनमा फैलिएको यो पार्कबाट अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको मनमोहक दृश्य देखिन्छ। पार्कमा बनाइएको पोखरीमा देखिने हिमालको छायाले जो–कोहीलाई लोभ्याउँछ। रु.७ करोडको लगानीमा बनेको यो पार्कभित्रै तीन महीनादेखि रिसोर्ट पनि संचालित छ। तीन सय फूल र थप बोटबिरुवा रहेको रिसोर्टको गार्डेन यो पार्कको अर्को आकर्षण हो। १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरी खोलिएको यो पार्कमा अहिले छोराछोरी लिएर जानेको घुइँचो लाग्न थालेको छ।


अवसरका लागि विदेश

तीन वर्ष कतार बसेर गत साउनमा फर्किएका इन्द्रपुर–४ मोरङका इन्द्र सापकोटा (२४) ३ फागुनमा विराटनगरमा आयोजित शारीरिक सुगठन प्रतियोगितामा मिस्टर मोरङ भए भने १० फागुनमा नेपालगञ्जमा भएको मिस्टर नेपालमा ७० किलो तौल समूहमा दोस्रो भए। २०६६ र २०६७ को मिस्टर मोरङ प्रतिस्पर्धामा दोस्रो भएका उनी त्यसपछि मासिक रु.५० हजार पारिश्रमिकमा सेक्युरिटी अफिसर भएर कतार गएका थिए। “नेपालमा वडी बिल्डिङबाट जीविका गर्न सकिंदैन” ४७ इन्चको छाती र १६ इन्चको पाखुरा भएका इन्द्र भन्छन्, “त्यसैले फेरि विदेश जाने सोचमा छु।”

अहिले बेलबारीस्थित ह्वाइट डाइमण्ड जीममा दैनिक व्यायाम गरिरहेका उनी बडीगार्ड या व्यायाम प्रशिक्षक जस्तो काममा विदेश जाने अवसरको खोजीमा छन्। विदेशमा जागीरसँगै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिने उनको धोको छ। विराटनगरमा इन्द्र जस्ता शारीरिक सुगठनमा लागेका युवकहरू धेरै भए पनि प्रतियोगितामा सामेल हुनेको संख्या कम छ। मोरङ बडी बिल्डिङ संघका अध्यक्ष प्रेम खड्का फिटनेशका लागि जीम जाने युवकहरूलाई प्रतियोगितामा आकर्षित गर्न थालेको बताउँछन्। यसका लागि पुरस्कारको राशी बढाउनुपर्ने उनले बताए।

कमल रिमाल, विराटनगर

comments powered by Disqus

रमझम