२३-२९ चैत २०७० | 6-12 April 2014

सबै उस्तै हुन्

Share:
  

साप्ताहिक खबरपत्रिका हिमाल (१६―२२ चैत) मा प्रकाशित 'बदलिंदो वामपन्थ' विश्लेषण पढेर केही लेख्न मन लाग्यो। नेपाली राजनीतिमा उग्र वामपन्थ, मध्यमार्ग वा दक्षिणपन्थ जे भने पनि जनतालाई मूर्ख बनाएर आफूले राज गर्ने बाहेक दलले अरू केही गर्न सकेका छैनन्। जनताका पक्षमा काम गर्ने बताएर दल दर्ता गरी आफ्नो वर्चस्व कायम राखे पनि उनीहरूको ध्यान सत्ता लुछाचुँडी बाहेक अन्यत्र देखिएन। कांग्रेस जस्तो होइन, जनतालाई साथ दिने सच्चा दल हामी कम्युनिष्ट हौं भनेर सत्तामा पुगेका कम्युनिष्ट पार्टीका पाँच प्रधानमन्त्रीको कार्यकालमा आपसी झ्गडा कुन रूपमा बढेको थियो भन्ने कुरा सबैका सामु छर्लङ्गै छ। अझ् जनताको लागि लडेको भनिएको माओवादीले सत्तामा पुगेपछि कुनै नयाँ काम गर्न नसकेको कुरा अहिले आएर स्वयं माओवादी नेताहरूले स्वीकारेका छन्। त्यसैले नेपालका राजनीतिक दलको नाम फरक भए पनि काममा खासै भिन्नता देखिएको छैन।

सूर्यविक्रम वली, इमेलबाट

वेलैमा विचार पुर्‍याऊँ

हिमाल (१६―२२ चैत) मा प्रकाशित 'संविधान निर्माण प्रक्रियामा विदेशीको संलग्नता' समाचार पढेपछि कुन हदसम्म हस्तक्षेप भइरहेको छ भन्ने प्रष्ट हुन्छ। हुन त हरेक क्षेत्रमा विदेशीको हस्तक्षेप भएको भनेर चर्चा चलिरहेका वेला संविधान निर्माणमा विदेशीको हस्तक्षेप हुनु खासै नौलो कुरा त होइन। तर संविधान निर्माण जस्तो संवेदनशील विषयमा समेत विदेशीको संलग्नता हुनु सिंगो मुलुकका लागि राम्रो संकेत होइन। देशभक्तिका ठूला―ठूला कुरा गर्नेहरू कहाँ हराएका छन् कुन्नि! आफ्नो स्वार्थ पूरा गर्न विदेशीले सुझाव दिनु अनौठो नहोला। तर उनीहरूको सुझ्ाव नस्वीकारेर आफ्नो राष्ट्रियता बचाउनका लागि हाम्रा सभासद्हरूले ढिलो गर्न हुँदैन। आजको सानो गल्तीले भोलिका दिनमा पछुताउने अवस्था आउनुहुँदैन।

विमल पोखरेल, इमेलबाट

स्वागतयोग्य कर्म

हिमाल (१६―२२ चैत) मा प्रकाशित 'छाला दान गरीबलाई वरदान' समाचार सान्दर्भिक लाग्यो। मृत्युपछि गरिने छाला दानका कारण अकालमा मर्न बाध्य धेरै व्यक्तिलाई बचाउन सकिने कुरा हाम्रा लागि निकै उपयोगी भएको छ। चिकित्सकीय क्षेत्रमा नयाँ प्रयोगको सुरुआत हुनु पक्कै पनि सबैका लागि खुशीको कुरा हो। जलेर छटपटाइरहेका वेला छाला 'ट्रान्सप्लान्ट' गरेर बिरामीलाई नयाँ जीवन दिन सक्नु स्वागतयोग्य कर्म हो।

विन्दु कुँवर, इमेलबाट

गैरकानूनी काम

हिमाल (१६―२२ चैत) मा प्रकाशित वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले जनस्वास्थ्यमा खेलबाड गर्ने औषधि बिक्रेतालाई कारबाही नगरी उन्मुक्ति दिएको सम्बन्धी समाचार 'कारबाही नगर्न अनुगमन' पढेपछि दुःख लाग्यो। स्वास्थ्य जस्तो संवेदनशील विषयमा अनुगमन गरेर पनि कारबाही नगर्नुले जिम्मेवार अधिकारीहरू जनस्वास्थ्यप्रति कत्तिको सचेत छन् भन्ने देखाउँछ। ती अधिकारीमा गलत औषधि सेवनबाट व्यक्तिले अकालमै ज्यान गुमाउनुपर्दछ भन्ने कुराको सामान्य हेक्का पनि नभएको जस्तो लाग्छ। यस्ता गैरकानूनी काम कति दिनसम्म टुलुटुलु हेरेर बस्ने हो सरकारले?

सुलोचना चौधरी, इमेलबाट

राजनीतिको वास्तविकता

हिमाल (१६―२२ चैत) मा प्रधानमन्त्री सुशील कोइरालाले पार्टी र सरकारमा भागबण्डा गरी देउवा समूहलाई थान्को लगाए पनि संस्थापन खेमाका नेताहरूलाई चित्त बुझाउन नसकेको सन्दर्भमा प्रकाशित 'आफ्नैलाई थेग्न गाह्रो' समाचार नेपाली राजनीतिको यथार्थता हो। हुन त आफ्नैभित्रका एउटाको चित्त बुझाउँदा अर्को रिसाउने प्रवृत्ति नेपाली राजनीतिका लागि नौलो होइन। जब पार्टीदेखि सरकारसम्म भागबण्डा गर्नुपर्ने अवस्था आउँछ त्यतिवेला राम्रा र योग्य मान्छेका लागि ठाउँ हुँदैन। परिणाम अराजक प्रवृत्ति हावी हुन्छ। समाचारमा उल्लेख गरिए जस्तै कांग्रेसमा पनि सभापति कोइराला प्रधानमन्त्री भएपछि यस्तो समस्या बढेको छ। नेतृत्वले यस्ता समस्याको सुझ्बुझ्पूर्ण ढंगबाट समाधान गर्नेतिर नलाग्ने हो भने भोलिका दिनमा पार्टीलाई अप्ठेरो पर्न सक्छ।

मिलन बम, इमेलबाट

सम्पदालाई शुभकामना

हिमाल (१६―२२ चैत) मा प्रकाशित चलचित्रमै स्नातकोत्तर गरेर भारतीय टेलिसिरियलमा लेखनदेखि निर्माणसम्म गर्न पुगेकी 'बलिउडमा सम्पदा' समाचार पढेपछि नेपालीको क्षमता प्रष्ट हुन्छ। नेपालमा चलचित्रको क्षेत्रमा सानो एउटा काम गरेर ठूला कुरा गर्ने प्रवृत्ति बढेका वेला हिन्दी चलचित्र केरी अन कुत्तो मा क्रियटिभ प्रोड्युसरको रूपमा बलिउडमा पाइला अघि बढाएकी सम्पदाको कामको प्रशंसा गर्नै पर्छ। भविष्यमा बलिउड यात्राका लागि शुभकामना।

चित्रप्रसाद दाहाल

ओखलढुंगा, बर्नालु सानीटार, हाल काठमाडौं

comments powered by Disqus

रमझम