२३-२९ चैत २०७० | 6-12 April 2014

'कर्मचारीलाई शपथ सम्झाउन खोजेका हौं'

Share:
  

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भन्छन्, “विदेशमा पुगेर टोपी र झ्ाण्डा फाल्ने कर्मचारीलाई माफी दिन सकिंदैन।”

देबकी बिष्ट
डीभी भर्ने र ग्रीनकार्ड लिने कर्मचारीलाई कारबाही गर्ने घोषणा गर्नुको कारण के हो?

जागीरमा प्रवेश गर्दा देशका लागि शपथ लिने निजामती/राष्ट्रसेवकले कार्यालयमा 'अरुको देश स्वर्ग हो' भन्ने गरेका छन्। उनीहरुले नेपाली हुँ भन्ने पनि बिर्सेका छन्। कतिपय कर्मचारीले विदेशी नागरिकता लिएका छन्। उनीहरुलाई शपथ सम्झाउन तथा अनुशासित र देशप्रति जवाफदेही बनाउन यो कदम चाल्न लागिएको हो।

नेपाली नागरिकता नत्यागेसम्म उनीहरु नेपाली नागरिक नै रहन्छन् नि, हैन?

नेपालमा कुनै पनि नागरिकलाई दुई वटा नागरिकता लिने छूट छैन। नेपालको संविधान तथा ऐन/कानूनले कसैलाई विदेशी नागरिकता लिने सुविधा दिएको छैन। अझ्ा निजामती कर्मचारी/राष्ट्रसेवकले त विदेशी नागरिकता लिनु अक्षम्य अपराध हो। नेपाली जनताले तिरेको करबाट जागीर खाने अनि विदेशलाई स्वर्ग देख्ने? आफूले स्वर्ग देखेको देश रोज्ने अधिकार सम्बन्धित व्यक्तिलाई छ। तर, नेपालको प्रशासनिक पदमा बसेर त्यो गर्नु चाहिं अपराध हो।

अहिलेको युगमा डीभी भर्न र ग्रीन कार्ड लिन हुन्न भन्नु कत्तिको व्यावहारिक हुन्छ?

नेपाललाई समृद्ध बनाउने जवाफदेही/जिम्मेवारी वहन गर्नेले डीभी भर्न लाग्दा जनताको विश्वासमा कमी आउँछ। नेपाली टोपी र झ्ाण्डा प्रयोग गरेर विदेश पुगेपछि फाल्नेलाई माफी दिन सकिंदैन।

अरु समस्या छैनन् र यसमा जोड दिनुभएको?

अहिले हामी निजामती प्रशासनका विकृति सुधार्न लागेका छौं। बिहान १० देखि साँझ्ा ५ बजेसम्म कार्यालयलाई समय नदिने कर्मचारीलाई कारबाही गर्ने तयारी गर्दैछौं। कर्मचारीलाई जनताप्रति जिम्मेवार बनाउँदैछौं।

डीभी भर्ने र ग्रीनकार्ड लिनेलाई कारबाही गर्ने निर्णय तपाईंको व्यक्तिगत हो कि सरकारको नै हो?

सरकारी निर्णय नै हो। त्यही भएर सरकारले निजामती सेवा ऐन चौथो संशोधन गर्दैछ।

comments powered by Disqus

रमझम