२३-२९ चैत २०७० | 6-12 April 2014

रुँदै रंगेली

Share:
  
मोरङको विराटनगरले स्थापनाको शतवार्षिकोत्सव र रंगेलीले उजाडिएको विरोधमा कालो दिन मनाउँदैछ।

कमल रिमाल
राष्ट्रपति डा. रामवरण यादवले मोरङको पुरानो बजार रंगेलीबाट सदरमुकाम विराटनगर सरेको सय वर्ष पुगेको अवसरमा २६ चैतमा शतवार्षिकोत्सव समारोह उद्घाटन गर्दैछन्। त्यो दिनभर विविध कार्यक्रम पछि साँझ् विराटनगरमा दिपावली हुनेछ। उता रंगेलीवासीले त्यो दिनभर कालो दिवस र बेलुका बत्ती निभाएर विरोध कार्यक्रम गर्नेछन्। २६ चैतलाई कालो दिनको रूपमा मनाउन २०१ सदस्यीय समिति गठन गरेको रंगेली नागरिक समाजले १७ चैतको बैठकबाट विरोधका अरू कार्यक्रम ल्याएको छ। १९७१ सालमा सदरमुकाम विराटनगर सारेर रंगेलीलाई रसातलमा पुर्‍याएको रंगेली नागरिक समाजको भनाइ छ। समाजका अध्यक्ष मंगलचन्द अग्रवाल भन्छन्, “यो चैतमा विराटनगर खुशीमा र रंगेली पीडामा डुबेको छ।”

विराटनगर उपमहानगरले वर्षभरि विभिन्न कार्यक्रम गरेर शहर स्थापनाको शतवार्षिकोत्सव मनाउने कार्यक्रम बनाएसँगै रंगेलीले कपाल मुण्डन, र्‍याली र बजार बन्ददेखि चक्काजामसम्मका साताव्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले नगरवासीलाई २६ गते सबै घर, उद्योग र कार्यालयमा दिपावली गर्न सूचना जारी गरेको छ भने रंगेली नागरिक समाजले विराटनगरबाट २२ किलोमिटर पूर्वको बजारमा विरोधका लागि बेलुका ७ देखि एकघन्टा बत्ती निभाउन आह्वान गरेको छ। समाजका अध्यक्ष अग्रवालले २४ गतेबाट विरोधका कार्यक्रमसँगै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने बताए।

यता, विराटनगरमा ख्याति कमाएका शहरवासीलाई सम्मानसँगै सांस्कृतिक, शैक्षिक, खेलकुद, साहित्यिक लगायतका कार्यक्रम गरिनेछ। शतवार्षिकोत्सवको अवसरमा वर्षभरि गरिने गतिविधिमा राष्ट्रिय खेलकुद आयोजनादेखि शहीद स्तम्भ, शतवार्षिक स्तम्भ, अन्तर्राष्ट्रिय प्रवेशद्वार र संग्रहालय निर्माणसम्मका योजना छन्। नगरपालिकाका कार्यकारी अधिकृत प्रदीपकुमार निरौलाले मन्त्रिपरिषद्को बैठक पनि विराटनगरमा गर्न सरकारलाई आग्रह गरिने बताए।

खुम्चिंदो रंगेली

नागरिक समाज रंगेलीको १६ चैतको भेलामा गरिएको माइन्युटमा भनिएको छ, “सदरमुकाम विराटनगरमा सारिएपछि रंगेलीका विकास कार्यहरू रसातलमा पुगी मणि हराएको सर्प भएको छ।” सदरमुकाम रहँदा हुलाकी राजमार्गले छोएको रंगेली बजार पूर्वको व्यापारिक केन्द्र थियो। नागरिक समाजका अध्यक्ष अग्रवाल सदरमुकाम लगेर विराटनगरलाई आकाशमा र रंगेलीलाई रसातलमा पुर्‍याएको बताउँछन्। “सरकारले पनि कसैलाई काखा कसैलाई पाखा गर्‍यो”, नेपाल–भारत मैत्री समाज रंगेलीका समेत अध्यक्ष रहेका अग्रवाल भन्छन्।

चार पुस्तादेखि रंगेलीको व्यापार धानेको परिवारका सदस्य रहेका अग्रवालका अनुसार, भारतको सीमाभन्दा चार किलोमिटर उत्तरको रंगेली सदरमुकाम गएको ७० वर्षपछिसम्म पनि मोरङको दोस्रो ठूलो बजार थियो। स्थानीय किसान रामअवतार महतो (६५) २०१७ सालतिर रंगेलीमा पाँच वटा ठूल्ठूला राइस मील रहेको र त्यहाँबाट नेपालका सबै ठाउँ र भारतमा चामल लगिने गरेको सम्झ्न्छन्। तर अहिले त्यो अतीतको कुरा बन्न पुगेको छ।

रंगेली व्यापार संघका अध्यक्ष सन्तोषकुमार साहका अनुसार, ३० वर्षअघिसम्म धान, मकै र सनपाट बिक्रीका लागि झापा र मोरङका किसान रंगेली पुग्थे। तर, पूर्व–पश्चिम राजमार्ग बनेपछि हुलाकी राजमार्ग ओझेलमा परेर व्यापार हराउँदै गयो। आसपासका गाविसहरूका बजार पनि विस्तार हुँदै गएपछि त रंगेली पूरै सुनसान हुन थाल्यो। “यहाँका व्यापारीहरू विराटनगर, वीरगञ्ज र काठमाडौंतिर गए, यहाँ लगानीकर्ताको अभाव हुन थाल्यो” अध्यक्ष साह भन्छन्।

रंगेली गाविस सचिव हरिप्रसाद पोखरेल चार जना चिकित्सक दरबन्दी भएको जिल्ला अस्पताल रंगेलीमा खोजेका वेला एक जना पनि नभेटिने बताउँछन्। उनका अनुसार, भन्सार चेकपोष्ट छ, तर रु.५०० भन्दा बढीको सामान ल्याउन पाइँदैन, इलाका प्रशासन छ, अधिकार छैन। इलाका प्रशासनका प्रशासकीय अधिकृत लोचनप्रसाद दाहाल रंगेली शिक्षामा समेत पछाडि परेको बताउँछन्। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक माधव काफ्ले भारतसँग सीमा जोडिएको यो क्षेत्र शिक्षित व्यक्तिहरूको पलायन, बहुविवाह, घरेलु हिंसा, सीमा वारपार अपराध लगायतका समस्याले ग्रस्त भएको बताउँछन्।

रंगेलीलाई २०६३ सालमा भएको मधेश आन्दोलनले पनि क्षति नै गर्‍यो– इलाका प्रशासन, गाविस, ग्रामीण विकास ब्याङ्क, कृषि विकास ब्याङ्क लगायतका निकायमा आगजनी भएकोले। नागरिकताको प्रमाणपत्र हराएपछि प्रतिलिपिका लागि गत मंसीरमा इलाका प्रशासन कार्यालय पुगेका स्थानीय विपुल पौदार (२८) पुरानो रेकर्ड नभेटिएपछि जिल्ला प्रशासन धाउन बाध्य भए। रंगेली क्षेत्रमा पौदार जस्ता धेरै छन्, जसले आफ्नै ठाउँमा पाउनुपर्ने सरकारी सेवाका लागि विराटनगर धाउनु परेको छ। त्यसवेला आगजनी गरेको आरोपमा मुद्दा लागेका पनि अहिले रंगेलीमा विकास नभएको भनिरहेका छन्।

कमल रिमाल, विराटनगर


बिक्रीमा गहुँत

काठमाडौंको साँखुमा रु.२ करोडको लगानीमा खुलेको वक्रेश्वर फार्म हाउस सरकारबाट गहुँत बेच्ने अनुमतिको पर्खाइमा छ।

बोटलिङ गरिएको गहुँत देखाउँदै राजेश श्रेष्ठ ।
साढे तीन वर्षअघि काठमाडौं, साँखुको लप्सीफेदीमा स्थापित वक्रेश्वर फार्म हाउसमा अहिले २८ वटा गाई छन्। दूध र मूत्रलाई महत्व दिएर खुलेको यो फार्मका १० कामदार दैनिक रूपमा दूधसँगै मूत्र संकलनमा व्यस्त हुन्छन्। संकलित गोमूत्रलाई विभिन्न चरणमा प्रशोधन गरेर डिष्टिल्ड वाटरको रूपमा तयार गरिन्छ। “विभिन्न शारीरिक रोगको निदान गर्ने औषधिको रूपमा गहुँत सेवन बढेको देखेर उत्पादनमा लागेका हौं”, फार्मका निर्देशक राजेश श्रेष्ठ भन्छन्।

मलेशियामा व्यवसाय गर्दै आएका राजेशले केही नयाँ गरौं जसले समाजका अरूलाई पनि प्रेरित गरोस् भनेर दाइहरू राजकुमार र अमितसँग मिलेर ३४ रोपनी जग्गामा अर्ग्यानिक खेतीसँगै गहुँत बोटलिङ गरेर विदेश निर्यात गर्ने योजना बनाएको बताए। फार्मले दूध, पनीर, चीज र लस्सी उत्पादन पनि गर्नेछ। भारत, चीन, फिलिपिन्स र अमेरिका गोमूत्रको सम्भावित बजार भएको राजेश बताउँछन्। श्रेष्ठ दाजुभाइ गोमूत्रबाट सफा र खानयोग्य 'अर्क' बनाउने तरिका सिक्न भारतको तमिलनाडुस्थित एग्रिकल्चर युनिभर्सिटीसम्म पुगेका थिए। “नेपालीले रामदेवको पतञ्जली योगपीठबाट आयातीत गोमूत्र सेवन गरिरहेका छन्”, राजेश भन्छन्, “हाम्रो मूल लक्ष्य यही गोबर र मूत्रलाई आम्दानीको स्रोत बनाउने हो।”

मानव शरीरको अवाञ्छित कीटाणु मर्ने, कलेजोलाई दुरुस्त राख्ने, दिमाग र हृदयलाई तनावबाट मुक्त गर्न सहयोग गर्ने, औषधिहरूको साइड इफेक्ट नियन्त्रण गर्ने, शरीरमा रहेका विषादि हटाउने, रगत सफा गर्ने, ग्याष्टिक हटाउने, पाचनशक्ति बढाउने लगायतका गुण रहने गोमूत्रमा तामा, स्वर्ण, नून जस्ता खनिजतत्व हुन्छ।

उत्पादन र व्यापार

डम्बरकृष्ण श्रेष्ठ
पतञ्जली योगपीठ, भारतबाट उत्पादित गोमूत्र (बीच) सँगै वक्रेश्वरको गोमूत्र।
वक्रेश्वर फार्म हाउसमा अहिले दैनिक २० लिटर गोमूत्र संकलन गरेर १० लिटर खानयोग्य गोमूत्र तयार गरिंदैछ। एउटा गाईले दिनमा १० लिटरसम्म मुत्ने भए पनि तीन लिटरसम्म संकलन गर्न सकिन्छ। बाल्टिनमा थापिएको गाईको मूत्रलाई ४५ मिनेटसम्म उमालेर मिथेन ग्याँस हटाइन्छ। त्यसपछि घरेलु रक्सी बनाए जस्तै भाँडामा उम्लेको मूत्रको वाफ संकलन गरिन्छ। फार्मले यसरी तयार पारेको गहुँत अहिले प्रतिलिटर रु.७०० मा बिक्री गरिरहेको छ। सरकारी प्रक्रियामा ढिलाइ हुँदा आन्तरिक र बाह्य बजारमा ठूलो परिमाणमा पठाउन नसकेको राजेश बताउँछन्। सरकारको कुन निकायले 'गोमूत्र' उत्पादनको अनुमति दिने? कहाँ दर्ता गर्ने जस्ता कुरा बुझदै साढे तीन वर्ष वितिसकेको उनले बताए।

उनका अनुसार, सरकारको आयुर्वेद औषधि विभागमा दर्ता प्रक्रियाबारे बुझन जाँदा 'गाई फार्म खोलेपछि दूध नै बेचे भइहाल्यो, किन मूत्र बेच्नु पर्‍यो?' भन्ने जवाफ पाएको र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) बाट गोमूत्रको परीक्षण रिपोर्ट लिनै डेढ वर्ष लाग्यो। राजेशले बोटलिङ गरेको गोमूत्रको स्याम्पल मलेशियासम्म पुर्‍याएका छन्। “हामी सरकारलाई कर तिरेर देशभित्र पनि गोमूत्र बेच्न चाहन्छौं”, राजेश भन्छन्, “यत्रो लगानी गरेर काम गरिरहेका छौं, तर यतिका सरकारी निकायमध्ये कुनै सहयोग गर्न अग्रसर हुँदैनन्।”

पतञ्जली योगपीठले प्रतिलिटर गोमूत्रको ८५ अमेरिकी डलरमा विश्वभर इन्टरनेट मार्केटिङ गरिरहेको छ। नेपाल सरकारले पनि अनुमतिका साथ सहज बनाइदिए उत्पादनसँगै देश–विदेशमा मार्केटिङ गर्न सजिलो हुने राजेश बताउँछन्। पूजाहरूमा चाहिने पञ्चगव्यकै लागि पनि गहुँत बिक्री हुने उनको विश्वास छ। पतञ्जलीको गोमूत्र शुद्धीकरण मात्र गरिएको हो भने वक्रेश्वरले डिष्टिल्ड नै गरेको राजेशले बताए।

डम्बरकृष्ण श्रेष्ठ


फेरिंदै राउटे

**सुदूर र मध्यपश्चिमका जंगलमा बस्ने राउटेमा पछिल्लो समय उल्लेखनीय परिवर्तन देखिएको छ। **

यामकुमारी कँडेल

राउटे समुदायका सल्लाहकार ऐनबहादुर शाही।
'मोबाइल चाहिए पनि के गर्ने, वनमा चार्ज गर्नै मिल्दैन' भन्ने राउटे समुदायका सल्लाहकार ऐनबहादुर शाही (५०) को भनाइले उनलाई मोबाइलको आवश्यकता बोध भएको देखाउँछ। गत महीनादेखि जिल्ला वन कार्यालयबाट वीरबहादुर शाही, डिलबहादुर शाही, सूर्यबहादुर शाहीसँगै 'वन हेरालु' बनेका उनले वनमा आगो लागेको वा फँडानी हुँदै गरेको देख्दा मोबाइल भए खबर गर्न सजिलो हुने पनि बताए। तर, चार्ज गर्न बजार पुग्नुपर्ने र आवाजले शिकार उम्किने भएकाले तत्काल मोबाइल लिने रुचि नभएको उनको भनाइ छ।

परिवर्तन आउँदैछ

मध्यपश्चिम र सुदूरपश्चिमका जंगलमा बस्ने राउटेहरूको जीवनशैलीमा उल्लेखनीय परिवर्तन देखिन थालेका छन्। जिल्ला वन कार्यालय सुर्खेतमा हेरालु हुन जानुले पनि उनीहरूमा आएको परिवर्तन देखाउँछ।

शिकार गरेर, आफूले बनाएका काठका भाँडासँग अन्न साटेर र मागेर जीविका चलाउँदै आएका राउटेलाई काम गर्दा सजिलोसँग जीविकोपार्जन हुने बुझ्ाउन वन हेरालु बनाइएको जिल्ला वन कार्यालयका प्रमुख शम्भुप्रसाद चौरसिया बताउँछन्। सामाजिकीकरण गर्न सक्दा राउटेको अस्तित्व पनि जोगिने उनको विश्वास छ। एक जनालाई मासिक रु.१० हजार तलब दिने गरी वन हेरालु बनाउन खोज्दा सबैलाई बनाउनुपर्ने माग गरेपछि चार जनालाई मासिक रु.२५०० पाउने गरी २१ फागुनमा वन हेरालु बनाइएको थियो।

जंगलमा बस्ने भएकाले धेरै पानी पर्दा वा चर्काे घाम लाग्दा अरूभन्दा राउटेहरूले बढी समस्या भोग्छन्। ती समस्याबाट बच्ने उपाय सिकाउन जिल्ला वन कार्यालयले ४० जना राउटेलाई केही महीना अघि दुईदिने तालिम दिएको थियो। तालिममा वन मासिंदा वातावरण बिग्रिने र त्यसले आफैंलाई अप्ठ्यारो हुने बुझ्ेपछि उनीहरू अहिले काँचा रूख नकाट्ने, जंगलमा आगो लाग्दा निभाउने र गाउँलेलाई पनि रूख काट्न नदिने बताउन थालेका छन्।

बाध्यताले परिवर्तन

आफूले बनाएका काठका भाँडा बिक्री हुन र वनमा बाँदर पाउन छाडेकाले खान समस्या परेको मुखिया बीरबहादुर शाहीको भनाइ छ। सरकारले दिंदै आएको खाद्यान्न पनि धेरैले रक्सीसँग साट्ने गरेकाले भोको पेट दिन बिताउनु परेको उनी बताउँछन्। तर, अरूले लगाएको देखेर उनीहरू मागेर जुत्ता, चप्पल लगाउन थालेका छन् भने औषधि र नुहाउने साबुन पनि माग्न थालेका छन्।

तस्वीरहरुः यामकुमारी कँडेल
खोजेका वस्तु दिने हो भने राउटेहरूलाई सामाजिकीकरण गर्न सकिने जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख टंक चापागाईंको विश्वास छ। वार्षिक रु.२० हजार पाउने गरी स्वास्थ्य स्वयंसेवक बस्न कुनै राउटे तयार नभए पनि जनस्वास्थ्यबाट खटिएका स्वयंसेविकाबाट जाँच गराउन मानेको उनले बताए। औषधि खाँदा रोग निको हुने बुझन थालेकोले जँचाउन र औषधि खान उनीहरू तयार भएको उनको भनाइ छ। राउटेहरूको संरक्षण र स्वास्थ्य सुरक्षाका लागि 'जिल्ला जनस्वास्थ्य समन्वय समिति' ले यो वर्ष छुट्याएको रु.१ लाख ५० हजार स्वयंसेवक बनाएर भत्ता दिन, स्वास्थ्य जाँच र औषधिका लागि खर्च गरिने चापागाई बताउँछन्।

राउटेलाई आर्थिक सहयोग पुर्‍याउन जिल्ला वन कार्यालयको समन्वयमा वीरेन्द्रनगरमा 'राउटे सामग्री खरीद बिक्री केन्द्र' स्थापना गरिंदैछ। त्यो केन्द्र खुलेपछि राउटेहरूले बनाएका वस्तु सजिलोसँग बिक्री हुने र त्यसले उनीहरूमा आर्थिक महत्वाकांक्षा बढाउने वन कार्यालय सुर्खेतका प्रमुख चौरसिया बताउँछन्। वन हेरालु बनेका राउटेहरूलाई नगदको साटो चेक दिएर ब्याङ्क जानुपर्ने बनाएको पनि उनको भनाइ छ। 'चेक साट्न ब्याङ्क जाँदा धेरै कुरा थाहा पाउने भएकाले त्यो तरिका अपनाइएको हो' चौरसिया भन्छन्।

राउटेहरूलाई समाजमा घुलमिल गराउन चलचित्रकी नायिका रेखा थापाले चार जना राउटे बालबालिकालाई काठमाडौं पुर्‍याएर विद्यालय भर्ना गरिदिएकी छिन्। सुर्खेतको गढी गाविसमा गाडीको ठक्करबाट मृत्यु भएका राउटे युवा सुरेन्द्रबहादुरको परिवारले जिल्ला प्रशासन कार्यालय मार्फत रु.५ लाख क्षतिपूर्ति लिएको थियो।
तर, राउटेका पूर्व मुखिया मैनबहादुर शाही भने पुर्खादेखिको चालचलन छाड्न नसकिने भएकाले समाजमा घुलमिल हुन गाह्रो हुने बताउँछन्। छोराछोरीलाई पढ्न र जागीर खान पठाउन पनि अहिले नसकिने उनको भनाइ छ।

comments powered by Disqus

रमझम