शकुनि जाल

Share:
  
- रमेश कुमार
बेलगामको घोडाजस्तो कमोडिटिज् बजारमा क्षणभरमै लाखौं रुपैयाँ गुम्ने क्रमले पारिवारिक र सामाजिक कलह बढाउन थालेको छ।
p46
 
विनोद श्रेष्ठ।
तस्बीरहरूः रमेश कुमार

कहिल्यै जुवा नखेलेका बागबजारका ६३ वर्षीय व्यवसायी राजाराम जोशीले जीवनको उत्तरार्द्धमा कमोडिटिज् तथा डेरिभेटिभ बजारमा रु.१ करोड गुमाए। अहिले उनलाई लागेको छ― पाँच पाण्डवको राजकाज लुट्ने शकुनिको कपटभन्दा कम रहेनछ, कमोडिटिज् एक्सचेन्जहरूको चाल। काठमाडौं, बानेश्वरस्थित मर्निङ स्टार नामक ब्रोकर कम्पनीमार्फत मेक्स एक्सचेन्जमा लगानी गरेका उनी जित र हारको साँचो उनीहरूकै हातमा हुने भएकाले आफू बर्बाद भएको निष्कर्षमा पुगेका छन्।  

पहिलो वर्ष रु.२५ लाख गुमाएका जोशीले कारोबार छोड्नै लागेका थिए, तर ब्रोकरले डुबेको रकम अर्को एक महीनामा उठाइदिने लोभ देखाएर लगानी गर्न उक्सायो र यही उक्साहटले उनको सर्वस्व भयो। रातिसम्म ठीकै 'पोजिसन' मा रहेको लगानीको खाता बिहान उठ्दा रित्तो भएको थियो। रकम गुमेको बारे घरमा छोराबुहारीलाई नबताएका जोशी भन्छन्, “मजस्ता हजारौंसँग रातारात लाखौं रुपैयाँ ठगिएको छ, जसका कारण पारिवारिक विग्रह निम्तिंदै छ।” 
 
फर्निचर पसलमा काम गर्दै पढिरहेका पाल्पाका सुनिल शर्मा (नाम परिवर्तन) ले पनि साथीहरूको उक्साहटमा कमोडिटिज् बजारमा रु.१२ लाख गुमाए। एकैपटक धनी बन्ने सपनामा भएभरको कमाइ, आफन्तसँगको सरसापटी र चर्को व्याजको ऋणले पनि नपुगी आमाको गहनासमेत बन्धकी राखेर शून्य हात पारेका शर्माले लोकलाजका कारण वास्तविक नाम लुकाउन चाहे। मध्यमवर्गीय शर्मा अहिले तिनकुनेस्थित 'डोर्मिउल' ब्राण्डको कपडा पसलमा काम गर्छन्। रकम गुमाएको विषयमा घरमा सुईंको नदिएका उनी दिनरात मिहिनेत गरेर कमाउने ध्याउन्नमा छन्।  
p46a
 
विनोद उप्रेती। 

संयोग पनि कस्तो! शर्माले काम गर्ने पसलका मालिक अनिल बज्राचार्यले पनि कमोडिटिज् तथा डेरिभेटिभ बजारमै एक वर्षमा करीब रु.३५ लाख गुमाएका रहेछन्। शुरूमा कोमेन र पछि मेक्स एक्सचेन्जबाट सुनमा लगानी गरेका उनी यो बजार 'ठगी धन्दा' जस्तो लागेपछि चटक्कै छोडेर पुरानै पेशामा फर्किएका थिए। पाटनका कपडा व्यापारी बाबुको विरासत सम्हालेका बज्राचार्यको राजधानीमा ब्रान्डेड कपडाका ठूला तीन आउटलेट छन्। पुर्ख्यौली सम्पत्ति र राम्रो आम्दानी भएका बज्राचार्यले गुमाएको रकम धान्नै नसक्ने नभए पनि उनी भन्छन्, “साह्रै ठगिएँ भनेर चित्त दुख्छ।” 

बालाजु माछापोखरीमा हिमाल स्टिलको डिपोसहित निर्माण सामग्रीको होलसेल पसल थापेका विनोद श्रेष्ठलाई पनि कमोडिटिज् बजारमा रु.५० लाख नगुमाई चेत खुलेन। शुरूमा सानो लगानी गर्दा रु.१०–२० हजार नाफा भएर जोसिएका उनले रु.५० लाख गुमाएपछि बुझ्े, “त्यो नाफा त मह चटाएर सर्वस्व लुट्ने काइदा पो रहेछ!” बालाजुकै श्रेष्ठले ब्याङ्कबाट व्यवसाय गर्न लिएको ऋण समेत यतै लगानी गरेका थिए। रकम डुबेपछि व्यवसाय र पुर्ख्यौली सम्पत्तिबाट ऋण तिर्ने तयारी गरिरहेका श्रेष्ठलाई यो घटनाले सधैं तनाव दिन्छ। उनी भन्छन्, “सपना बेचेर कमोडिटिज् एक्सचेन्जले ठगे। त्यो घाउको खत मजस्ताको जिन्दगीमा सधैं रहने भो।” 
p46b
 
अनिल बज्राचार्य

धेरैको बिल्लीबाठ 

विश्वबजारमा लगानीको नयाँ क्षेत्र मानिएको कमोडिटिज् तथा डेरिभेटिभ बजार नेपालमा मनलागी ढङ्गले चलेकाले बिल्लीबाठ हुनेको संख्या बढेको छ। यसमा लगानी गरेर ब्यापारी, कर्मचारी, ब्याङ्कर, शेयर कारोबारीदेखि सर्वसाधारणसम्म धेरै 'घर न घाट' भएका छन्। लोभमा परेर जोसिएकाहरू त्यतिबेला होशमा आउँछन्, जब 'सफ्टवेयर म्यानुपुलेसन' गरेर ठगिएको थाहा हुन्छ। अनिल बज्राचार्य भन्छन्, “चिनेजानेका साथीलाई त के दुस्मनलाई पनि यसमा लगानी गर भन्दिनँ।”  
 
कमोडिटिज् बजारमा रकम गुमाउनेको सङ्ख्या ठूलै भए पनि पारिवारिक समस्या र लोकलाजका डरले धेरै सार्वजनिक हुन चाहँदैनन्। अर्घाखाँची जुकेनाका २६ वर्षीय कृष्ण पौडेलले कमोडिटिज् बजारमा गुमाएको रु.६ लाखबारे अहिलेसम्म परिवारलाई बताउन सकेका छैनन्। बानेश्वरमा साथीहरूसँग मिलेर स्वास्थ्यसम्बन्धी व्यवसाय शुरू गरेका पौडेल कमोडिटिज्मा लगानी गर्न सहकारीबाट १८ प्रतिशतमा ऋण लिएकाले समस्यामा परेका छन्। ६ महीनाभित्र यो रकम गुमाएका पौडेल अहिले पश्चात्ताप र ऋणको चिन्तामा छन्। 
p46c
 
रेवन्तकुमार क्षेत्री । 

कमोडिटिज्मा गुमाउनेमा निम्न आर्थिक वर्गका पनि कम छैनन्। काभ्रे कोलातीका विनोद उप्रेतीले जरुरी काम परेको भन्दै साथीसँग ३६ प्रतिशत ब्याजमा रु.५ लाख ऋण लिएर लगानी गरे। ब्रोकरको विश्वासमा सुनमा लगानी गर्दा शुरूमा केही हजार नाफा भए पनि अन्ततः उनी पूर्ण रूपमा डुबे। साथीले रकम मागिरहेको तर व्याज समेत तिर्न नसकेकाले चरम तनावमा छन् उनी। काभ्रे फलाँटे–९ का रेवन्तकुमार क्षेत्रीको पनि खुशी हराएको छ। ठूलो नाफाको लोभमा परेका क्षेत्रीले कमोडिटिज् बजारमा तीन महीनामा रु.५० लाख गुमाए।  

 
रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातक गरेका क्षेत्रीले डेढ वर्षअघि साथीहरूको लहैलहैमा मेक्स एक्सचेन्जबाट कमोडिटिज्मा लगानी गर्दा दुई महीनामा रु.४ लाख कमाए। यसरी पल्किएका उनले सुन, चाँदी र कच्चा तेलमा थप लगानी गर्न साथी र आफन्तसँग मात्र नभई दिदीबहिनीको गहना बन्धकी राखेर समेत ऋण लिए। शुरूमा रु.५ लाख मात्र लगानी गरेका उनले वस्तुको मूल्य घटेको भनेर 'मार्जिन कल' भनिने रकम थप्दै गए। मार्जिन कलको नपुग रकम थप्न उनले प्रतिलाख दैनिक रु.१००० सम्म ब्याजमा ऋण लिए।  
 
यसरी एक महीनाभित्र रु.५० लाख गुमाएपछि विक्षिप्त भएका क्षेत्रीले विदेशिने चक्करमा पोल्याण्ड जान रु.५० हजार बैना दिएको म्यानपावर कम्पनी समेत भाग्यो। त्यसपछि जापान पठाउँछु भन्ने एक दलाल रु.२ लाख ८० हजार लिएर बेपत्ता भयो। दरबारमार्गको 'रोयल साइनो' रेस्टुरेन्टका क्याप्टेन रहेका क्षेत्री अहिले एउटा कन्सल्टेन्सीबाट 'डिपेन्डेन्ट' भिसामा अष्टे्रलिया जाने धुनमा छन्। “तर, कन्सल्टेन्सीले पनि रु.५० हजार बैना लिएर चार महीनादेखि झ्ुलाइरहेको छ”, उनी भन्छन्। 
बजारका भुक्तभोगी र जानकारहरू समेत यो धन्दाको शिकार भएका छन्। ब्याङ्क अफ एशियाको ट्रेजरी र फाइनान्स विभागका प्रमुख रहेका चार्टर्ड एकाउन्टेन्ट सन्तोष निरौलाले कमोडिटिज् बजारमा रु.२ लाख सिद्ध्याए। जति विश्लेषण गरेर लगानी गर्दा पनि कमाउने बेला आउनेबित्तिकै एक्सचेन्जहरूले सफ्टवेयर नचल्ने बनाइदिने गरेको पत्ता लगाएपछि यो कारोबार छोडेका उनी भन्छन्, “नियम विनाको यो अघोषित जुवाघरले कतिलाई सडकमा ल्याउने हो भन्न सकिंदैन।”  
p46d
 
कृष्ण पौडेल 

कसरी गुम्छ?  

साँखुका प्रकाश डङ्गोलले चार वर्षअघि रु.७५ हजार लगानी गर्दा तीन दिनमा रु.४० हजार फाइदा भयो। रु.७० हजार बैना राखेर एक लट सुन कारोबार गर्न मिल्ने भएकाले उनले एकैपटक चार लटसम्ममा लगानी गरे, तर उनको रकम घट्दै गयो। मेक्स एक्सचेन्जबाट लगानी गरेका उनले अन्ततः रु.२५ लाख गुमाए। गुमेको रकम उठाउन एन्डेक्स नामक अर्को एक्सचेन्जमार्फत लगानी गरे। त्यहाँ पनि सुन र चाँदीको कारोबारले उनको थप रु.२५ लाख डुबायो। त्यसपछि चाल पाए, “शुरूमा लगानीकर्तालाई पल्काउन केही हजार वा लाख रुपैयाँसम्म नाफा बनाइदिएर ठूलो लगानी गर्दा रित्याइदिने रहेछन्। लगानी गर्दै जाँदा कि मार्जिन रकम थप्नुपर्ने कि त सबै लगानी गुमाउनुपर्ने रहेछ।”  
 
एकपटक चाँदीमा दुई लट लगानी गरेका डङ्गोलले मूल्य तल हुँदा 'बाइ' पोजिसन लिए। केही समयमा बजार १२ डलरले माथि पुग्दा उनको फाइदा रु.९० हजार पुग्यो। तर, त्यो नाफा समात्न नभ्याउँदै उनको सफ्टवेयरले काम गरेन। केही समयपछि बजार ओर्लिएर रु.१० हजारमा झ्रेपछि मात्र सफ्टवेयर चल्न थाल्यो। यो घटनापछि एन्डेक्स एक्सचेन्जसँग रकम दाबीका साथै पुरानो कारोबारको समेत विस्तृत विवरण मगाएका डङ्गोल भन्छन्, “सफ्टवेयरमा गरिने चलखेलका कारण नै अधिकांश लगानीकर्ताले गुमाएको यथेष्ट प्रमाण छन्।” 
p47a
 
अम्बिकाप्रसाद पौडेल

रु.१ करोड गुमाएका राजाराम जोशी ब्रोकर कम्पनी र एक्सचेन्जको मिलिभगतबाट लगानीकर्ता ठगिने गरेको बताउँछन्। नाफा हुनलाग्दा सफ्टवेयर नचलेको बेला ब्रोकर र एक्सचेन्जलाई गुहार्दा उनीहरू सम्पर्कमै नआएका जोशीको भनाइ छ। एक लट कारोबार गर्दा ब्रोकर कम्पनीलाई रु.१३२६ नाफा हुने भएकाले लगानीकर्ता मर्कामा परे पनि उसले जतिसक्दो कारोबार गर्न उत्प्रेरित गर्ने गरेको उनको अनुभव छ। “कतिपय एक्सचेन्जकै मिलेमतोमा खुलेका ब्रोकरले लगानीकर्ताले गुमाएको रकमबाट निश्चित प्रतिशत हिस्सासमेत पाउँछन्”, उनी भन्छन्। रेवन्तकुमार क्षेत्री पनि ब्रोकरले लगानीकर्तालाई जोगाउने भन्दा गलत सल्लाह दिएर कमिसन सुरक्षित गर्ने गरेको बताउँछन्।

सबै लगानीकर्ताको साझा गुनासो सफ्टवेयरसँगै छ। कमोडिटिज्मै करीब रु.३० लाख गुमाएका काठमाडौंका अमृत राजभण्डारीसँग त यसको प्रष्ट प्रमाण नै छ। दुई वर्षअघि आफू नाफामा गएको बेला कोमेन नामक एक्सचेन्जले सफ्टवेयर नचल्ने बनाइदिएको प्रमाण पेश गर्दा रु.२ लाख फिर्ता दिएको उनी बताउँछन्। ऋण लिएको रकम साथीहरूसँग मिलेर लगानी गरेका राजभण्डारीसँग एक्सचेन्जहरूले अवैध रूपमा स्प्रेड दर बढाएको, जुन मूल्यमा खरीदका लागि अर्डर दियो त्योभन्दा ५–७ डलर माथि मात्रै अर्डर लिएको, कारोबारमा ह्याङ गरेको प्रशस्त प्रमाण छन्। रकमसहित पाँच वर्ष कमोडिटिज्मा लगाएका राजभण्डारी यो ठगीको धन्दा भन्ने जानेपछि अहिले सौन्दर्य प्रसाधनको व्यवसायमा लागेका छन्।  
 
यही ८ असोजमा पनि सफ्टवेयरमा 'म्यानुपुलेसन' भएको एउटा घटना सार्वजनिक भयो। पेप्सीकोलास्थित निज इन्भेष्टमेन्टले कोमेन एक्सचेन्जमार्फत सुनमा लगानी गर्दा सफ्टवेयर नचल्ने बनाएर रु.१२ लाख घाटामा पारियो। यो घटनाको सबै प्रमाण बोकेका कम्पनीका प्रबन्ध निर्देशक सरोजशरण शाह कोमेनले सफ्टवेयर ह्याङ भए रकम फिर्ता दिने सम्झ्ौता पालना नगरे अख्तियार र प्रहरीमा उजुरी गर्ने बताउँछन्।  
 
कमोडिटिज् एक्सचेन्ज अन्तर्गतको एउटा क्लियरिङ हाउसमा पाँच वर्ष महाप्रबन्धक बनेका युवराज शाह (नाम परिवर्तन) ले हिमाल सँगको रेकर्डेड कुराकानीमा रु.२ लाख भन्दा माथिको सबै लगानीमा एक्सचेन्जले सफ्टवेयर म्यानुपुलेसन गर्ने बताए। उनका अनुसार, बजारमा कसलाई कति कमाउन दिने भनेर एक्सचेन्जले नै निर्धारण गर्छ। कपडा व्यवसायी अनिल बज्राचार्य पनि आफूलाई एउटा एक्सचेन्जले 'जिताउने र हराउने कुरा आफ्नै हातमा रहेकाले' फेरि मिलेर कारोबार गर्न भनेको सम्झ्न्छन्। 
p47b
 
प्रकाश डंगोल

क्यासिनोभन्दा खतरनाक 

रु.५० लाख गुमाएका विनोद श्रेष्ठ यो खेललाई क्यासिनोभन्दा खतरनाक मान्छन्। आफन्तलाई कुर्न अस्पताल बसेको बेला २० मिनेटमै रु.२० लाख सकिएको सम्झ्नाले उनलाई झ्स्काइरहन्छ। श्रेष्ठ भन्छन्, “७५ हजार राखेर ५० लाखको सुनको कारोबार गर्न दिनु नै गलत हो।” 
 
६ वर्षअघि नेपालमा शुरू भएको यो बजारमा हालसम्म कति नेपालीले गुमाए भन्ने तथ्याङ्क नभए पनि ९५ प्रतिशतभन्दा बढी डुबेको हुनसक्ने भुक्तभोगी लगानीकर्ताहरू बताउँछन्। एक्सचेन्जका सञ्चालक र ब्रोकर पनि यो कारोबारमा अधिकांशले गुमाएको बताउँछन्, तर राम्रो ज्ञान नभएको कारण दिंदै। बागबजारको वाइज इन्भेष्टमेन्टका ब्रोकर लोकबहादुर शाही भन्छन्, “लगानीकर्ताको मनोविज्ञान, रकमको व्यवस्था र अनुसन्धानको कमीले धेरैले गुमाउँछन्।” 
p47c
 
अमृत राजभण्डारी 

नेपालमा कमोडिटिज् बजार सम्बन्धी कानून नै नबनेकाले गुमाउने लगानीकर्ताहरूले ठगिएको जानकारी हुँदाहुँदै पनि उजुरी गर्ने ठाउँ पाएका छैनन्। एण्डेक्स नामक एक्सचेन्जको कारोबारमा क्षणभरमै रु.७० लाख गुमाएका एक लगानीकर्ता गुमेको रकमका विषयमा गुनासो गर्दा एक्सचेन्जबाट हल्ला गरे नराम्रो हुने भन्दै ज्यानको धम्की आएको बताउँछन्। कमोडिटिज्मा रु.२० लाख गुमाएका हाथवे इन्भेष्टमेन्टका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेल २४ घण्टा चल्ने यो बजारमा राति सुतेका बेला खाताको सबै रकम टाट पल्टिने सम्भावना बढी हुने बताउँछन्।  

 
कारोबारको डरलाग्दो पक्ष प्रतिकेजी रु.५५ लाख पर्ने सुनको रु.७५ हजारमै कारोबार गर्न पाइनु हो। अहिले त 'इन्ट्रा डे' भनिने कारोबारमा रु.१५ हजारमै एक केजी सुनको कारोबार गर्न मिल्छ, जसबाट अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १ डलर घट्दा नेपाली बजारमा रु.२५०० गुम्छ। अझ्, चाँदीमा त एक लटमा १ डलर ओरालो लाग्दा नेपाली लगानीकर्ताले रु.७५ हजार गुमाउँछन्। क्लियरिङ हाउसका पूर्व महाप्रबन्धक युवराज शाहको भनाइमा, एक्सचेन्जहरूसँग कारोबारलाई जता पनि पल्टाउन सक्ने अदृश्य अधिकारकै कारण लगानीकर्ता हारिरहेका छन्। शाह भन्छन्, “खेलाडी, रेफ्री र नियामकको भूमिकामा एकै व्यक्ति भएपछि अर्को पक्षले जित्ने सम्भावना नै हुँदैन।” 
 
वस्तुको भौतिक उपलब्धता र खरीदबिक्रीको कागजपत्रविना एक्सचेन्जहरूको अविश्वसनीय सफ्टवेयरमा आउने अङ्कको अड्कलबाजीका आधारमा गरिने यो लगानी जुवाको खालमा रकम खन्याए जस्तै हो। जुवामा त पासा आफ्नो पक्षमा पर्ने सम्भावना हुन्छ, तर सफ्टवेयरमा चलखेल गरिने नेपाली कमोडिटिज् तथा डेरिभेटिभ्स् बजार त राजाराम जोशीले भनेजस्तै हार्ने निश्चित भएको शकुनि पासा नै ठहरिएको छ। 
comments powered by Disqus

रमझम