१६-३० असोज २०६९ | 2-16 October 2012

साइकलबाट समृद्धि

Share:
  
- सरला गौतम
हिजोआज वातावरणसँग जोडिएर चर्चामा आएको साइकल धेरै पहिलेदेखि नेपालीको स्वाबलम्वन र समृद्धिसँग गाँसिएको छ।
p50
 
काममा जाँदै गरेका पर्साको ग्रामीण क्षेत्रका
श्रमिकहरु। तस्बीरहरूः मीनरत्न बज्राचार्य

“दूध–दहीका भाँडा साइकलमा राखेर ३३ वर्ष कुदें। यही व्यवसायबाट १२ छोराछोरीको पालनपोषण, पढाइ र बिहेदान भयो। साइकल मेरो लागि देवदूत जस्तै हो”, चितवनको भरतपुर–६, लंकुकी 'साइकल आमा' नाउँले चिनिने नन्दकली अर्याल (६०) को यो भनाइबाट साइकल वातावरण र स्वास्थ्यको मात्र हैन, समृद्धिको साधन पनि हो भन्ने बुझिन्छ (हे.बक्स)।  

नेपालीहरूले गाडी भित्रिनुअघिदेखि नै साइकलबाट काम लिन थालेका हुन्। कुनै बेला सम्पन्नताको परिचायक साइकल आज त्यो हैसियतमा नभए पनि धेरैको जीविकोपार्जन र समृद्धिको माध्यम छँदैछ। छरितो र सस्तो यो वाहनले स–साना पूँजी भएका उत्साही उद्यमीलाई मुलुकको अर्थतन्त्रसँग जोडेको छ। साइकलमा दूध–दही, फलफूल, तरकारी, अण्डा, ग्याँसका सिलिन्डर आदि ओसारिरहेका जाँगरिला नेपालीहरू बजारको अनिवार्य हिस्सा भएका छन्।  
 
पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको भनाइमा आफ्नै बुतामा थोरै पूँजीमा स्वरोजगार गर्नेहरूको आर्थिक औजार नै हो, साइकल। डा. पाण्डेका अनुसार नागरिकको पहलमा आफ्नै स्रोतसाधनको भरमा हुने समृद्धि र आत्मनिर्भरताले राज्यव्यवस्थाको परनिर्भरता घटाउँछ, अर्थतन्त्रलाई दिगो र मजबूत बनाउँछ। “हामीले उदार अर्थतन्त्र त अँगालेका छौं, तर श्रमको कदर गर्ने बानी बसाउन सकिएको छैन”, डा. पाण्डे भन्छन्, “राज्यले स–साना व्यवसायीले समाजको समृद्धिमा पुर्‍याएको योगदानको मूल्याङ्कन र उनीहरूको हौसला बढाउने खालको नीतिगत व्यवस्था गर्नुपर्छ।” 
 
शहर होस् या गाउँ, स्वरोजगारहरू साइकलमै हुँइकिरहेका भेटिन्छन्। पश्चिम तराईका मुक्त कमैया समुदायमा साइकल नभएको परिवार शायदै भेटिएला। तराईका अधिकांश घरमा साइकल छन्। तराईमा साइकलले यातायात र ढुवानीको साधनदेखि एम्बुलेन्ससम्मको काम गरेका छन्। गोधूलिमा सिंगो परिवार साइकलमा अटाएर हाटबाट फर्किरहेको दृश्य कम लोभलाग्दो देखिंदैन। “मधेश–तराईको समाजलाई साइकलले गतिशील बनाएको छ”, वीरगंजका पत्रकार चन्द्रकिशोर झाभन्छन्, “साइकल हटाउने हो भने ठूलै झ्ट्का लाग्छ।” 
 
दैनिक सरदर ७०० मेटि्रक टन तरकारी र फलफूलको कारोबार हुने राजधानीको कालीमाटी बजारबाट निस्कने झ्ण्डै १००० साइकल टोल–टोलमा पुग्छन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका लेखापाल विदुर आचार्यका अनुसार, राजधानीमा खपत हुने तरकारी र फलफूलमध्ये ४० प्रतिशत साइकलले नै ओसार्छन्। नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालको भनाइमा झ्ण्डै ५० प्रतिशत ग्याँस सिलिण्डर डिपोदेखि घर–घरसम्म साइकलबाटै पुग्छन्।  
ठेलाका चमेना, तरकारी, हस्तकला, किराना सामान समेतले अर्थतन्त्रलाई सघाइरहेका छन्, भलै समाजको उन्नतिमा तिनीहरूको योगदानको मूल्याङ्कन भएको नहोस्। “साइकलले स्वरोजगारको क्षेत्रमा मात्र नभई कारखानामा काम गर्ने न्यून वेतनभोगी श्रमिकको पनि आत्मविश्वास बढाएको छ”, जिफण्टका अध्यक्ष विष्णु रिमाल भन्छन्, “र, यो सोझ्ै उद्योगहरूको उत्पादकत्वसँग जोडिन्छ।” 
 
शान, समृद्धि र स्वास्थ्य 
काठमाडौं कमलाक्षीका अष्टनारायण मानन्धरले १९८२ सालमा बेलायतको र्‍याले कम्पनीका सात वटा साइकलसहित नेपालमै पहिलो साइकल पसल खोलेका थिए, जुन अहिले पञ्चनारायण–अष्टनारायण साइकल स्टोरको रूपमा चिनिन्छ। एउटा साइकलको रु.६०–७० पर्ने त्यो जमानामा राणा खलक र धनीमानीहरू उनका ग्राहक हुन्थे, साइकल समृद्धिको प्रतीक थियो।  
 
काठमाडौंको रामकोट, गोदामथोकका हरिप्रसाद दाहाल २०२४ सालमा २२ वर्षे जोवनमा साइकलमा बत्तिंदै सरकारी अड्डा धाउँदाको शान, मान र फुर्ती अझै सम्झ्न्छन्। त्यो बेला रामकोटबाट गुडेको उनको साइकल एकैपटक सिंहदरबार गेटमा रोकिन्थ्यो। दाहाल भन्छन्, “ऊ बेला हामीले साइकल चढ्दाको शान आज मोटरसाइकल चढ्ने तन्नेरीको पनि छैन।”  
 
राष्ट्रिय पञ्चायतमा कार्यालय सहयोगी भएर जागिर खान शुरू गरेका दाहालले २०६५ सालसम्म काँठबाट साइकल चढेर काठमाडौं खाल्डोका विभिन्न सरकारी अड्डा धाए। विस्तारै गाउँमा बढ्न थालेका साइकलवालामध्ये धेरैजसो दाहाल जस्तै काठमाडौंका सरकारी अड्डा धाउने नै थिए। साइकलले काठमाडौं र काँठलाई जोडेको थियो। 
२०३२ सालमा पाटनमा केबी साइकल पसल खोलेका राजकुमार महत २०३५–३६ सालसम्म पनि साइकल सोख र समृद्धिको प्रतीक रहेको बताउँदै भन्छन्, “त्यसपछि तराईमा जस्तै सामान ढुवानीमा साइकलको प्रयोग बढी हुन थाल्यो।”  
 
अहिले नेपालमा हजारौं साइकल पसल छन्। वार्षिक ४० हजार साइकल बिक्री हुन्छन्। राजधानी उपत्यकामा मात्रै ५० हजार साइकल गुड्छन्। वातावरणविद् भूषण तुलाधरका अनुसार केही समयअघि गरिएको एक अध्ययनले २० वर्ष अगाडि काठमाडौंका ६.६ प्रतिशत मानिसले चढ्ने गरेको साइकल अहिले १.६ प्रतिशतले मात्र चढ्छन्। काठमाडौंमा पैदल यात्री ४० प्रतिशत, सार्वजनिक यातायात प्रयोग गर्ने २७.६ प्रतिशत र निजी मोटर चढ्ने चार प्रतिशत छन्। 
 
हिजोआज साइकलको महिमा वातावरण, स्वास्थ्य र खेल क्षेत्रसँग पनि जोडिएको छ। ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा हरियाली र खुला ठाउँ मासिंदै गएको छ। तर, स्वास्थ्य र वातावरणप्रति सजग व्यक्तिहरूले साइकलको प्रयोग बढाउन नोभेम्बर २००९ देखि 'साइकल इज गुड, साइक्लिङ इज कुल' भन्ने नारामा 'काठमाडौं साइकल सिटी–२०२०' अभियान चलाएका छन्। 
 
लक्ष्मी ब्याङ्क र होटल अन्नपूर्णले आफ्ना कर्मचारीलाई सातामा एक दिन साइकल चढेर कार्यालय आउन प्रोत्साहित गरेका छन्। क्लिन इनर्जी नेपाल नामक संस्थाका सबै कर्मचारी साइकल चढ्छन्। नेपाल माउन्टेन बाइक एसोसिएसन, नेपाल साइक्लिङ एसोसिएसन आदि संस्थाले अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतिस्पर्धा आयोजना गर्न थालेका छन्। यस्ता प्रयास पर्यटन प्रवर्द्धनका लागि पनि महत्वपूर्ण सावित हुनेछन्।  
 
उपत्यकामा १० किलोमिटर वरपरबाट कार्यालय आउने–जानेले साइकल प्रयोग गर्ने हो भने मात्रै पनि राष्ट्रिय अर्थतन्त्रमा ठूलो फाइदा हुने जानकारहरू बताउँछन्। नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालका अनुसार साइकलको प्रयोग बढाएर पेट्रोलियम पदार्थमा हुने वार्षिक रु.९० अर्बको खर्चलाई १० प्रतिशत मात्रै घटाउन सके पनि रु.९ अर्ब जोगिन्छ।  
 
हिजोको दिनमा शानको प्रतीक रहेको साइकल आजको समाजमा समृद्धिको वाहक मात्र नभई, शहरिया समाजमा क्रमशः स्वास्थ्य सचेतनाको साधन समेत भइरहेको छ। र, मुलुकको वातावरण, स्वास्थ्य र अर्थतन्त्रलाई सँगसँगै डोर्‍याउन सहायक भएको छ। 

साइकल र महिला  

“चितवनमा साइकल चलाउन नजान्ने केटीको बिहे नै हुँदैन! '  
 
यो ठट्यौलो भनाइले पौरखीहरूको जिल्ला चितवनमा आर्थिक उपार्जनमा महिला र साइकलको सम्बन्ध बुझ्ाउँछ। चितवनका महिलाले दूधको कारोबारमा साइकल प्रयोग गरेर उदाहरणीय सफलता हासिल गरेका छन्। अन्य जिल्लाका महिलाले पनि साइकलको अधिकतम व्यावसायिक प्रयोग गरेको बताउने एमाले निकट मजदूर संगठन जिफण्टका अध्यक्ष विष्णु रिमालले १५–१६ वर्षअघिको झ्ापा भद्रपुरको तयारी पोशाक कारखाना मोमेन्टो अपेरल्स्लाई सम्झ्िए। “त्यतिबेला त्यहाँ तीन सिफ्टमा २५०० महिला काम गर्थे र ती सबैसँग साइकल हुन्थ्यो”, रिमाल भन्छन्, “रातो साडीमा साइकलमा कारखाना ओहोर–दोहोर गरिरहेका महिलाहरूको लस्करले सडक नै तरङ्गित हुन्थ्यो।” 
 
नजिक हाईस्कूल नभएका ठाउँका छात्राहरूलाई साइकलले बीचैमा पढाइ छोड्नबाट जोगाएको छ। सामाजिक कार्यकर्ता, स्वास्थ्य स्वयंसेविका र सुडेनीहरूलाई दूरदराजका घरमा पुग्न सजिलो बनाएको छ। तराईका महिलालाई साइकलको 'सी' ले अरू पाँच वटा 'सी' सँग जोडेको वीरगन्जका पत्रकार झाबताउँछन्। उनका अनुसार, साइकल चलाउने महिलाको बाहिरी दुनियाँसँग 'कनेक्सन' (सम्बन्ध) बढ्यो, त्यसबाट प्राप्त 'कन्पि्कडेन्स' (आत्मविश्वास)ले  'क्यापासिटी' (क्षमता) बढायो अनि 'करिअर' (पेशा) विकास गर्‍यो र 'करिअर' ले 'क्यास' (पैसा) ल्यायो। झाभन्छन्, “महिला सशक्तिकरणका ठूल्ठूला अभियानलाई साइकलले चुपचाप जितिरहेको छ।” 

साइकल आमाका कुरा 

p51
 
 

श्रीमानको बरखी फालेको भोलिपल्टदेखि साइकल सिकें। दुई गुँडका १२ केटाकेटी छन्, म कान्छी हुँ। शुरूमा १० माना दूध साइकलमा बोकेर बजार जाँदा १० रुपैयाँ नाफा भयो र दुई किलो चामल ल्याएर छोराछोरीलाई खुवाएँ। दूधको माग बढेसँगै एकै पटकमा १०० लिटर दूध र ४० माना दहीसम्म साइकलमै बोकें। दूध–दहीका १७ वटा भाँडाले साइकल नै छोपिन्थ्यो। विस्तारै दिनमा १०००–१५०० रुपैयाँ नाफा हुन थाल्यो। रु.५००० मा बेचेको आफ्नै घडेरी पछि रु.९० हजारमा किनें, खेत जोडें।  

छोराछोरीलाई एकै थानको लुगा हालेर हुर्काएँ, हामी दिदीबहिनीले पनि दुई थानको लुगा लगाएनौं। आफ्नै कमाइले बनाएको घरमा सुत्दा पहिलो रात निदाउन सकिनँ, भित्ता हेरेर रात कटाएँ। लाग्यो– बच्चाहरूलाई बास दिने जिम्मेवारी पूरा भयो। अहिले कान्छी छोरीले बीए पास गरी, अरू सबैको बिहेदान भयो। चारधाम गइसकें, बाँकी जीवन तीर्थ घुमेर बिताउँछु।
 
– नन्दकली अर्याल
comments powered by Disqus

रमझम