२३-२९ चैत २०७० | 6-12 April 2014

पेन्टिङ र तस्वीरको कोलाज

Share:
  
न्यूयोर्कमा बस्दै आएकी सहारा श्रेष्ठले नेपाल सम्झेर बनाएका डिजिटल कोलाज तयार पारेकी छन्।

विदेशमा बस्ने नेपालीलाई मातृभूमिको सम्झना नहुने कुरै भएन। फरक भनेको सम्झने तरिका हो। ६ वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी सहारा श्रेष्ठले भने कोलाज कला मार्फत नेपाल सम्झिएकी छन्। उनको डिजिटल कोलाजको प्रदर्शनी अहिले न्यूयोर्क र काठमाडौंमा भइरहेको छ।

सहारा श्रेष्ठ

'ट्रान्सपोर्टस्' सिरिज अन्तर्गतको यो प्रदर्शनी काठमाडौंको (दरबारमार्ग) सिटी म्युजियममा २५ चैतसम्म र न्यूयोर्कको वेष्ट ग्यालरीमा २३ चैतसम्म चल्नेछ। विगत तीन वर्षयता अमेरिकामा केही संयुक्त प्रदर्शनी गरेकी सहाराको नेपालमा यो पहिलो प्रदर्शनी हो।

काठमाडौंमा 'ग्राफिक आर्ट सोकेस' नाम दिइएको प्रदर्शनीमा नेपाली महिला र कामदारहरूको चलायमान दैनिकी उतारिएका आठ सिर्जना छन्। टाउको माथि बाटामा सिंगो शहर र धरोहर बोकेर हिंडिरहेकी कामदार महिला हुन् या डोकोमा आइसक्रिमको भारी बोकेकी शेर्पा बालिका– सबै चित्रले दर्शकको मन छुन्छ। भत्किन लागेको घन्टाघरलाई एउटी परिचयविहीन महिलाले आड दिएकी छन्। अर्को चित्रमा कामबाट फर्केका नेवार हिमालको ब्रिफकेशमा बसेका छन्। एक जना तन्नेरी हात्तीमा हिमालको भारी लादेर अन्तरिक्षतिर लम्केका छन्। “आफू जन्मे–हुर्केको नेपाललाई मैले यसरी ने सम्झौ”, सहारा भन्छिन्।

न्यूयोर्कको वेष्ट ग्यालरीमा आयोजित संयुक्त प्रदर्शनी।

राजधानीको सिटी म्युजियममा सहाराको एकल प्रदर्शनी ।

नेपालका धेरै कुना–कन्दरामा अझै पनि सडक पुगेको छैन। भएका विकास–निर्माणमा ठूलो भूमिका खेल्ने कामदारलाई काम सकिएपछि सबैले बिर्सन्छन्। आफ्नो कलामा तिनकै भावना व्यक्त गर्न खोजेको उनले बताइन्। घरमा आमा, दिदीबहिनी, श्रीमती र कार्यस्थलमा खेताला–मजदूर बन्ने बहुसंख्यक नेपाली महिला सहाराको सिर्जनामा हावी छन्। नेपालमा तन्नेरीहरूका लागि अंग्रेजी मासिक म्यागाजिन 'वेभ' मा पत्रकारिता गरेकी सहारा अहिले न्यूयोर्कमा व्यावसायिक ग्राफिक्स डिजाइनर छिन्। उनका लेख, रिपोर्टिङ र कथा मासिक 'वाई' र ललित अनलाइन पोर्टलमा प्रकाशित छन्।

अनुशील

comments powered by Disqus

रमझम