२३-२९ चैत २०७० | 6-12 April 2014

ट्युब सजिलो

Share:
  

दुई वर्षदेखि अभिभावकसँग अमेरिकाको क्यालिफोर्निया बस्ने निक्की कार्की (१७) गायकी र स्थानीय स्टेज कार्यक्रमहरूबाट संसारभरका नेपालीमाझ पुगिरहेकी छन्। र, यसको माध्यम भएको छ– यु ट्युब। काराओकेमा गाएर यु ट्युबमा अपलोड गरेका गीतहरुबाट चर्चित हुँदै गएकी निक्कीले यसबीचमा प्रशान्त तामाङ र कर्मा शेर्पा जस्ता गायकसँग स्टेज प्रस्तुति पनि दिइसकेकी छन्। यु ट्युबबाटै निक्कीको प्रतिभा थाहा पाएका नेपाली संघ–संस्थाले उनलाई आफ्ना कार्यक्रमहरुमा बोलाउन थालेका छन्।

भक्तराज आचार्यको स्वरको जहाँ छन् बुद्धका आँखा..., अरुणा लामाको पोहोर साल खुशी फाट्दा..., सपनाश्रीको हेरेको तिमीलाई आँखाले हैन...., तारादेवीको उकाली ओरालीहरुमा..., आशा भोस्लेको झझल्को लिएर आउँछ..., जस्ता गीतहरुमा उनको गायकी जमेको छ। लता मंगेश्करदेखि कविता कृष्णमूर्ति र सोनाली ठाकुरसम्मका लोकप्रिय हिन्दी गीतहरु काराओकेमा गाएर यु ट्युबमा राखेकी निक्कीको गलाले नेपाली गीत–संगीतमा एउटा सम्भावनाको संंकेत गरेको छ। उनले गाएका डेढ दर्जन नेपाली र हिन्दी गीत यु ट्युबमा हेर्न सकिन्छ (हे. लिङ्कःyoutube.com/channel/UCzlV9dVDxDN4eJ6BpKKjsMQ) ।

काठमाडौं, कोटेश्वरकी निक्की अमेरिका जानुभन्दा अघि ब्रुकफिल्ड स्कूलका कार्यक्रम र रातो बंगला स्कूलको छन्द कवितावाचनमा सहभागी हुन छुटाउँदिनथिन्। तीन वर्षकै उमेरमा गीत गाउन थालेकी उनले अमेरिका जानुअघि एक वर्ष शास्त्रीय संगीतकी गुरु संगीता प्रधानसँग संगीतको प्रशिक्षण पनि लिएकी थिइन्। मल्टी मिडियाका कारण आफूलाई सजिलो भएको अनुभव सुनाउने निक्की क्यालिफोर्नियामा पनि संगीत पढिरहेकी छन्। उनले अमेरिकाबाटै हिमाल सँग भनिन्, “अर्को वर्ष नेपाल फर्केर नयाँ गीत रेकर्ड गर्छु।”

अनुशील

comments powered by Disqus

रमझम